समाचारशुक्रवार, बैशाख २८, २०७५

भारतीय प्रधानमन्त्री मोदी जनकपुरमा

हिमालखबर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आइपुगेका छन् ।

नेपालको दुईदिने भ्रमणमा आएका प्रधानमन्त्री मोदी एअर इण्डियाको विमानबाट  केही बेरअघि जनकपुर विमानस्थलमा अवतरण गरेका हुन् । उनको यो तेस्रो नेपाल भ्रमण हो । 

जनकपुर विमानस्थलमा मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरे । 

भ्रमण कार्यतालिकाअनुसार मोदी जनकपुर विमानस्थलबाट जानकी मन्दिर जाने र विशेष पूजाअर्चना गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीको स्वागत गर्नेछन् ।  जानकी मन्दिरमा दुवै देशका प्रधानमन्त्रीले संयुक्तरूपमा रामायण सर्किटको उद्घाटन तथा हरियो झण्डा देखाएर जनकपुरधाम–अयोध्या बससेवाको शुभारम्भ गर्नेछन् । 

त्यसपछि प्रधानमन्त्री मोदी प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाद्वारा बाह्रबिघा मैदानमा आयोजना हुने नागरिक अभिनन्दन समारोहमा सहभागी हुनेछन् । जनकपुरमा नागरिक अभिनन्दनपछि प्रधानमन्त्री मोदी दिउँसो हेलिकोप्टरबाट काठमाडौँतर्फ प्रस्थान गर्नेछन् । 

आजै प्रधानमन्त्री ओलीको उपस्थितिमा भारतीय समकक्षी मोदीलाई सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले गार्ड अफ अनर प्रदान गर्ने कार्यक्रम छ । त्यसपछि उपराष्ट्रपति नन्दबहादुर पुनसँग प्रधानमन्त्री मोदीले कान्तिपथस्थित उपराष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गर्नेछन् । त्यसपछि शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । 

भ्रमणका क्रममा दुई प्रधानमन्त्रीबीच आजै औपचारिक भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै, संयुक्त पत्रकार सम्मेलन तथा अरुण तेस्रो जनविद्युत् परियोजनाको उद्घाटनसमेत गरिनेछ । 

भोलि २९ वैशाख बिहानै प्रधानमन्त्री मोदी मुक्तिनाथ दर्शनका लागि मुस्ताङतर्फ प्रस्थान गर्नेछन् । मुक्तिनाथमा पूजापछि उनी बिहान करीब १०:३० बजे मुक्तिनाथबाट काठमाडौँ फिर्ता हुनेछन् ।

प्रधानमन्त्री मोदीलाई शनिवार दिउँसो २:४५ बजे काठमाडौँ महानगरपालिकाले नागरिक अभिनन्दन गर्नेछ । दुईदिने नेपालको राजकीय भ्रमण पूरा गरी उनी वैशाख २९ गते नै स्वदेश फिर्ता हुनेछन् ।
-ईश्वरचन्द्र झा

प्रतिकृया दिनुहोस