टिप्पणीबिहिवार, बैशाख २७, २०७५

मिथिला, मुक्तिक्षेत्र र मोदी

शेखर खरेल

नाकाबन्दी नबिर्सिएका नेपालीजनले मोदीको तीर्थाटनबाट उत्साहित हुनुपर्ने सबैभन्दा महत्वपूर्ण कारण हो– पर्यटन प्रवद्र्धन ।

सुफी सन्तहरू मानिस र ईश्वरलाई प्रेमीका रूपमा अथ्र्याउँछन् । भक्ति मार्गमा लाग्नेहरू ईश्वरप्रतिको भक्ति नै मुक्ति मार्ग ठान्छन् । योगहरूमध्ये भक्तियोग नै सर्वोत्कृष्ट मान्छन्, उनीहरू । मानिस लगायत चराचर जगत नै ईश्वरीय सृष्टि हो भन्ने अटल विश्वासमा ईश्वरवादी (आस्तिक) हरू रहन्छन् । तर, नास्तिकहरू जैविक र खगोलीय अस्तित्वको प्रश्नमा वैज्ञानिक संगति खोज्दछन् ।

आस्तिक र नास्तिक बीचका मध्यमार्गी अर्थात् अज्ञेयवादी (एग्नोस्टिक) सृष्टिलाई रहस्यको रूपमा बुझ्दछन् । ईश्वरले मानिस बनाएका हुन् या मानिसले ईश्वर, यो प्रश्न मानव जाति रहुन्जेल उठिरहनेछ । मानिस र ईश्वरबीचको सम्बन्ध पनि सृष्टि रहुन्जेल रहिरहनेछ । किनकि, धर्मको विस्तार भनौं वा फैलावट मानिससँगै जोडिएको छ ।

संसारका कैयन् धर्म कुनै कालखण्डका शक्तिशाली र प्रभावशाली मानिसहरूले ग्रहण गरिदिंदा नै फैलिएको इतिहास छ । हिन्दू कुलमा जन्मिएका चक्रवर्ती सम्राट अशोकले बौद्ध धर्म वरण नगरिदिएका हुन्थे त बुद्ध यति व्यापक हुने थिएनन्, शायद । धर्म जस्तै कतिपय सम्प्रदाय (कल्ट) पनि चर्चित (खासगरी सेलिब्रिटी) हरूले वरण गरिदिएपश्चात् नै फैलिएका अनेकौं दृष्टान्त छन् ।

‘नजिकको तीर्थ हेला’ त्यसै भनिएको होइन । आफू वरपरका अमूल्य निधिको हामी त्यसबखत मात्र पहिचान गर्दछौं, जब दूरदराजदेखि मानिस ओतप्रोत हुँदै त्यहाँसम्म आइपुग्छन् । संसारमा बौद्धधर्म दुबो सरी फैलिसक्दा पनि शाक्यमुनि बुद्धको जन्मस्थल लुम्बिनी शताब्दियौंसम्म छायाँमै परिरह्यो । हाल लुम्बिनीमा केही संरचना निर्माण भए पनि जुन हदसम्म बौद्धमार्गी लुम्बिनी तीर्थाटनका लागि ओइरिनुपर्ने हो, त्यो हुनसकेको छैन । हामी लुम्बिनी प्रवद्र्धनमा चुकेका छौं ।

तर, लुम्बिनी भन्दा पनि दयनीय छ, मिथिलाको सान सीता मैयाको जन्मभूमि जनकपुर । त्रेता युगमा विदेह (मिथिला) का परमप्रतापी जनकद्वारा शासित यस पुण्यभूमिको महत्व त्यति नै छ, जति वाल्मीकिकृत रामायणका रामको जन्मथलो अयोध्या (भारत) । राम विना सीता र सीता विना राम अपूरो भए जस्तै जनकपुर विना अयोध्या र अयोध्या विना जनकपुर अपुरो हुन्छ ।

लगभग एक अर्ब हिन्दूको बसोबास रहेको विशाल छिमेकी भारतका हिन्दूवादी प्रधानमन्त्रीको तीर्थाटन नेपालका धार्मिक गन्तव्यको प्रवद्र्धनका लागि भने पक्कै उपयोगी हुनेछ ।

सीता मैयाका कारण जनकपुरले जसरी धार्मिक विशिष्टता प्राप्त गरेको छ, स्वयं सीता मैयाका पिता राजा जनकका कारण पनि यो भूमिको महत्व उत्ति नै छ । शास्त्रहरूमा पारङ्गत तथा शासनमा अब्बल राजा जनक प्राचीन युनानी चिन्तक प्लेटोको परिभाषाका ‘फिलोसफर किङ’ थिए । जनकको विद्वत्ता, शिष्टता र सुशासनबाट अभिभूत थाइल्याण्डका दिवंगत नरेश भूमिबोल अदुल्यादेजद्वारा रचित र नेपालीमा अनूदित चित्रमय पुस्तक महाजनक राजाको कथा पनि प्रकाशित छ । आफ्नो जीवनकालमा भूमिबोलले मिथिलाको भ्रमण त गरेनन्, तर उनले आजन्म जनकलाई ‘रोलमोडल’ बनाइरहे ।

आज फेरि जनकपुर चर्चाको चुलीमा छ । कारक बनेका छन्, छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी । मोदी वर्षौंदेखि थाती रहेको जनकपुरस्थित जानकी मन्दिरको तीर्थाटनका लागि आगामी २८ वैशाखमा जनकपुर आउँदैछन् । उनी अर्को तीर्थाटनका लागि मुस्ताङको मुक्तिनाथ क्षेत्र पनि लाग्नेछन् ।

भारतीय सरकार प्रमुखका विगतका भ्रमण विपरीत यसपल्ट भ्रमणको मध्यमा तीर्थ र पाश्र्वमा राजनीतिक भेटघाट देखिन्छ । आफ्नो दुईदिवसीय व्यस्त भ्रमणमा मोदीले ज्यादा समय पूजापाठ र थोरै मात्र समय उच्च नेतृत्वसँगको शिष्टाचार भेटमा व्यतीत गर्नेछन् । भारतीय सहयोगको सन्देशका खातिर उनले अरुण तेस्रो आयोजनाको स्विच थिचेर शिलान्यास गर्नेछन् ।

पथिक पथ
नेपालीजनले भारतको कठोर नाकाबन्दी पीडा भुल्न नसकिरहेको बेला हुन गइरहेको मोदीको यो भ्रमण पक्कै पनि २०७१ साउनको समतुल्य हुन सक्दैन । तर पनि लगभग एक अर्ब हिन्दूको बसोबास रहेको विशाल छिमेकी भारतका हिन्दूवादी प्रधानमन्त्रीको तीर्थाटन नेपालका धार्मिक गन्तव्यको प्रवद्र्धनका लागि भने पक्कै उपयोगी हुनेछ ।

पर्यटन प्रवद्र्धनमा सेलिब्रिटीको भरपूर उपभोग गर्ने स्वयं मोदी नै हुन् । गुजरातको मुख्यमन्त्री रहँदा उनले बलिउडका बादशाह उत्तर प्रदेश (यूपी) का अमिताभ बच्चनलाई गुजरात टुरिजम्को सद्भावना दूत बनाएका थिए । हुन त, सेलिब्रिटीहरू ब्राण्ड एम्बासडर बन्नु नौलो कुरा होइन । तर, बच्चनलाई सद्भावना दूत बनाउनमा मोदी करिष्माले नै काम गरेको थियो, त्यो पनि विना पारिश्रमिक ।

अनौठो संयोग चाहिं, भारतका सर्वाधिक चर्चित एवं प्रभावशाली व्यक्तित्व मोदी र बच्चन दुवैको नेपालसँग जबर्जस्त धार्मिक सम्बन्ध स्थापित भइसकेको छ । विपुल आस्था मानौं वा महत्वाकांक्षा, मोदी र बच्चन दुवैले पशुपतिनाथमा विशेष पूजा गरिसकेका छन् । बच्चनले ‘खुदा गवाह’ चलचित्र छायांकनका दौरान केही समय हिमालपारिको जिल्ला मुस्ताङमा विताएका थिए । केही वर्ष अघि पंक्तिकार मुक्तिनाथ मन्दिर परिसर पुग्दा उनै बच्चनको सहयोगमा निर्मित बेन्चमा थकान मेटेको थियो ।

चीनको तिब्बतस्थित मानसरोवरको तीर्थाटनका लागि भारतीय नागरिकले जस्तो भौगोलिक विकटता तथा प्रवेशाज्ञाको झनझट व्यहोर्दै आएका छन्, त्यसको तुलनामा मुक्तिक्षेत्रको भ्रमणलाई सहज मान्न सकिन्छ ।

मोदीको मुक्तिनाथसँग किशोरावस्थादेखि नै साइनो रहँदै आएको तर्क गर्नेहरू पनि छन् । सन् १९६८ देखि ७० बीच साधु बन्ने अभिप्रायले देश–देशान्तरको यायावरी यात्रा गरेका मोदी पश्चिम बङ्गाल, असम र उत्तराखण्ड हुँदै नेपालसम्म आइपुगेको र उनले कालीगण्डकीको तट र मुक्तिनाथ (मुक्ति क्षेत्र) मा तप–ध्यान गरेको बताइन्छ ।

यसको आधिकारिक पुष्टि भने हुनसकेको छैन । तर पनि मोदी धेरै पहिले नेपाल आएको कुरा चाहिं तत्कालीन संविधान सभालाई सम्बोधन (साउन २०७१) का क्रममा उनले नेपाली भाषाबाट शुरू गरेको पंक्ति ‘एउटा पथिकको रूपमा म धेरै पहिले नेपाल आएको थिएँ’ भनेबाट पुष्टि हुन्छ ।

जे होस् सन् २०१४ मा प्रधानमन्त्री भएयताको नेपालको तेस्रो भ्रमण (सार्क शिखर सम्मेलन सहित) मा मोदी औपचारिक रूपमा मुक्तिनाथको तीर्थाटनमा पुग्दैछन् । समस्त हिन्दू र विशेषगरी वैष्णवहरूका अति पूज्य मुक्तिनाथसम्म मोदी पुग्नुको अर्थ वैष्णवबहुल मोदीको गृह राज्य गुजरातमा मुक्तिक्षेत्रको प्रवद्र्धन त हो नै, त्यस बाहेक पनि सारा भारतमा पनि मुक्ति क्षेत्र जीवनमा एकपल्ट पुग्नै पर्ने धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्यमा दरिन सक्नेछ ।

आकाश मार्ग (हवाईजहाज र हेलिकप्टर चार्टर) र स्थल मार्गको पहुँच अनि पोखरादेखि मुस्ताङका टुकुचे, मार्फा, जोमसोम, कागबेनी र मुक्तिनाथसम्मका स्तरीय विश्राम गृहका कारण पनि मुक्तिक्षेत्रको यात्रा अब सहज मान्न सकिन्छ । चीनको तिब्बतस्थित मानसरोवरको तीर्थाटनका लागि भारतीय नागरिकले जस्तो भौगोलिक विकटता तथा प्रवेशाज्ञाको झनझट व्यहोर्दै आएका छन्, त्यसको तुलनामा मुक्तिक्षेत्रको भ्रमणलाई सहज मान्न सकिन्छ ।

मुक्तिनाथ क्षेत्रसम्म कसरी पुग्ने र त्यहाँ धार्मिक बाहेक पनि के–कस्ता पर्यटकीय क्रियाकलाप संभव छन् भन्ने बारे जानकारी भारतीय पर्यटन बजारसम्म मोदी मार्फत पुग्न सक्दा मात्र पनि मानव महासागर उर्लिन बेर लाग्ने छैन ।

पढ्नुहोस् ।

मोदी भ्रमणः तीर्थाटन कूटनीति

प्रतिकृया दिनुहोस