समाचारबुधवार, बैशाख २६, २०७५

आईओएमले तोकेकोभन्दा बढी शुल्कमा विभिन्न मेडिकल कलेजद्वारा विद्यार्थी भर्ना

हिमालखबर

चिकित्सा शास्त्र अध्ययन संस्थान(आईओएम)ले तोकेको शुल्कमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न मेडिकल कलेजहरुले विद्यार्थी भर्ना गर्न अस्वीकार गरेका छन् ।

भैरहवाको युनिभर्सल मेडिकल कलेज, काठमाडौं, जोरपाटीको नेपाल मेडिकल कलेज, पोखराको गण्डकी मेडिकल कलेज, चितवनको चितवन मेडिकल कलेज र काठमाडौंको नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानले विद्यार्थीसँग तोकिएभन्दा १० देखि १२ लाख बढी माग गरेका छन् ।

आईओएमको १२ चैत्र २०७४ को बैठकले विशेषज्ञ तहको अध्ययन शुल्क २३ लाख लिने निर्णय गरेको थियो । यसअघिका शैक्षिक सत्रहरुमा आईओएमले विशेषज्ञ तह अध्ययनका लागि रु. ३१ लाख शुल्क लिँदै आएको थियो ।

नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक विद्यार्थीलाई कबुलियतनामा गराउँदै बढी शुल्क असुल गरेको छ । कबुलियतनामामा प्रतिष्ठानले जति शुल्क बढाए पनि विद्यार्थीले मान्नुपर्ने शर्त उल्लेख छ ।

यी मेडिकल कलेजहरुले बढि शुल्क लिएको र तोकिएको शुल्कमा भर्ना गराउन माग गर्दै विद्यार्थीहरुले २६ वैशाखमा आईओएम डिन कार्यालयलाई पत्र लेखेपनि कार्यालयले दर्ता गर्न अस्वीकार गरेको विद्यार्थीहरुले बताएका छन् ।

आईओएमले डा. गोविन्द केसी र सरकारबीच यसअघि भएको सम्झौता अनुसार नयाँ शुल्क निर्धारण गरेको थियो ।
रामु सापकोटा

 

प्रतिकृया दिनुहोस