समाचारबुधवार, बैशाख २६, २०७५

मोदीलाई गुहार लगाउँदै शरणार्थी

गोपाल गडतौला

फाइल तस्वीर: झापाको बेलडाँगीस्थित शरणार्थी शिविर

नेपालमा रहेका भुटानी शरणार्थीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफ्नो थातथलोमा फर्किने व्यवस्थाका लागि पहल गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री मोदीको २८ वैशाखबाट हुने नेपाल भ्रमणको पूर्वसन्ध्यामा नेपालमा रहेका करिब ९ हजार शरणार्थीका तर्फबाट नेता टेकनाथ रिजालले उक्त आग्रह गरेका हुन् ।

“प्रभावशाली मुलुक भारतको छेऊछाऊमा भुटानी शरणार्थी समस्या जस्तो मानवीय समस्या लामो समयदेखि अल्झँदा त्यसैका कारण विश्व समुदायले भारतको प्रभावलाई कम आँक्ने अवस्था नआओस् भन्ने कुराले हामी चिन्तित् छौं,” रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

हिमाली राजतन्त्रात्मक मुलुक भुटानले नागरिकता सम्बन्धी कानुनमा ब्यापक हेरफेर गरी सन् १९८८ मा ल्होत्साम्पा (नेपाली भाषी भुटानी नागरिक) हरुलाई लखेटेको थियो ।

विश्वभर शरणार्थीको पहिलो बास साँधसीमाना जोडिएको मुलुकमा हुने गरे पनि भुटानबाट लखेटिएर सीमा जोडिएको भारत पुगेका ल्होत्साम्पाहरुलाई भारतीय सुरक्षाकर्मीले त्यहाँबाट लखेटेर नेपालतर्फ पठाए ।

पूर्वी नेपालको काँकडभिट्टा सिमानाका हुँदै नेपाल पसेका उनीहरुलाई नेपाल सरकारले औपचारिक रुपमा शरण दियो र सहायताको लागि संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोगलाई गुहार्‍यो ।

त्यसपछि शरणार्थी समस्याबारे नेपाल र भुटानबीच १५ पटक वाता भए पनि आफ्ना नागरिकलाई फिर्ता लैजान भुटान तयार भएन र भारतले पनि मध्यस्थता गर्ने कुनै चासो देखाएन ।

भुटानी शरणार्थी आफैंपनि स्वदेश फिर्तीका लागि गरेको प्रयास पनि भारतका कारण सफल भएन । सन् १९९६ मा भएको अपील आन्दोलन त्यस्तो एउटा बृहत अभियान थियो, जसका १५० सदस्यलाई १७ डिसेम्बर १९९६ को अपराह्न मेची पुलको दशगजा क्षेत्रबाट भारतिय प्रहरीले पक्राउ गरेको थियो ।

खेपका खेप शरणार्थी मेचीपुलको दशगजाबाट पक्राउ परिरहे । पक्राउ परेकामध्ये मोरङको शनिश्चरे शिविरका बाबुराम स्याङ्तानको पश्चिम बंगालको बहरमपुर जेलमा ज्यान गएको थियो । २०६४ साल जेठमा भएको स्वदेश फिर्ती आन्दोलनको शरणार्थी नारा थियो, ‘नेपाल सरकार विदा देउ, भारत सरकार बाटो देउ, भुटान सरकार माटो देउ’ । तर भारतले उनीहरुलाई बाटो दिएन् ।

तीन दिनसम्म मेची पुलमा छेक्यो र दमन गर्‍यो । त्यसबखत पनि शनिश्चरे शिविरकै युवक सहबहादुर शिवाको मेचीपुलको दशगजामा भारतिय सुरक्षा बलले चलाएको गोली लागि मृत्यु भएको थियो ।

त्यसपछि सन् २००७ देखि भुटानी शरणार्थीलाई अमेरिका र युरोपेली देशहरुमा पुनर्वास गराउन थालियो । अहिलेसम्म ९० प्रतिशत शरणार्थी पुनर्वासमा गइसकेका छन् । अमेरिका, क्यानाडा, नेदरल्याण्ड, अष्टेलिया, डेनमार्क, नर्वे, बेलायत र न्युजिल्याण्डमा एकलाख ११ हजार भुटानी शरणार्थीले नयाँ घरबार शुरु गरिरहेका छन् ।

तर, अझै पनि झापा र मोरङका दुईवटा शिविरमा ७ हजार हाराहारीमा भुटानी शरणार्थी छन् । उनीहरुको स्वदेश फिर्तीको लागि अझै पनि भारत दाहिने हुन सकेको छैन ।

शिविरमा रहेको अधिकांश व्यक्तिहरु युरोप र अमेरिका जानु भन्दा बाँकी जीवन आफ्नै थातथलोमा विताउन चाहन्छन् । उनीहरु अझै पनि भारतका तर्फबाट एउटा सकारात्मक सन्देशको आशा गरिरहेका छन् ।

 

प्रतिकृया दिनुहोस