थप समाचारमंगलवार, बैशाख २५, २०७५

वन्यजन्तुलाई पानी खुवाउन शुक्लाफाँटमा कृत्रिम ताल

हिमालखबर

वन्यजन्तुलाई पानी खुवाउन कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कृत्रिम ताल थप्न थालिएको छ ।

निकुञ्जले खडेरीका कारण वन्यजन्तुलाई पानी पिउन समस्या नहोस् भनेर कृत्रिम ताल थप्न लागेको हो ।

वन्यजन्तुको वासस्थान व्यवस्थापनअन्तर्गत चालू आर्थिक वर्षमा ६ वटा ताल निर्माण भइरहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत गोपाल घिमिरेले जानकारी दिए ।

निकुञ्जभित्र यसअघि करीब एक दर्जन ताल निर्माण भइसकेका छन् । “चालू आवमा ६ वटा ताल खनिँदैछन् ।” उनले भने, “कृत्रिम तालका कारण वन्यजन्तुलाई सहज भएको छ ।”

शुक्लाफाँटामा प्राकृतिक र कृत्रिम गरी २४ ताल छन् । निकुञ्जभित्रको रानी ताल र सालगौडी ताल व्यवस्थापन गरी वन्यजन्तुमैत्री बनाउने कार्य समेत शुरुआत भएको घिमिरेले बताए ।

निकुञ्जको अण्डैया, लालपानी, बर्कौलालगायत क्षेत्रमा ताल बनाइनुका साथै पानी तान्न ट्युवबेलको प्रबन्ध मिलाइएको छ ।

“गर्मी मौसममा पानीका मुहान सुक्नुका साथै डढेलोबाट वन्यजन्तु प्रभावित हुने गर्छन्,” घिमिरेले भने, “अहिले कृत्रिम तालमा पानी भरेर वन्यजन्तुका लागि सहज बनाएका छौँ ।”  रासस

प्रतिकृया दिनुहोस