रिपोर्टआइतवार, बैशाख २३, २०७५

सुन काण्डः दुई घटनाको नेक्सस्

रामु सापकोटा

९ माघ २०७४ मा त्रिभुवन विमानस्थलबाट भित्रिएर हराएको भनिएको ३३ किलो सुन प्रकरणमा संलग्न सनम शाक्यको हत्यासँगै छताछुल्ल भएको सुन तस्करीको लहरो एक वर्षअघि २१ पुस २०७३ मा भित्रिएको अर्को ३३ किलो सुन तस्करी प्रकरणसँग गाँसिएको तथ्यहरूले देखाउँछन्।

पक्राउ परेका आरोपीहरुलाई जिल्ला अदालत मोरङमा उपस्थितिका लागि लगिंदै । तस्वीरः कमल रिमाल

पछिल्लो सुन तस्करी र सनम हत्या प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले उच्च प्रहरी अधिकारीहरू सहित ६३ जना विरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा चलाएको छ, जसमध्ये पक्राउ परेका २९ जनाको बयान लिने क्रम जारी छ । घटनामा संलग्न भनिएका प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्री फरार छन् भने घटनाका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेती पनि पक्राउ परेका छैनन् ।

यो सुनकाण्डमा संलग्न भनिएकामध्ये नौ जना एक वर्षअघिको ३३ किलो सुन तस्करी प्रकरणमा पनि संलग्न भएको पाइएको छ । हिमाल लाई प्राप्त गत वर्षको सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तयार पारेकोे अनुसन्धान प्रतिवेदनले पनि उक्त घटनाका मुख्य अभियुक्त गोरे नै रहेको पुष्टि गरेको छ ।

सुन तस्करीका कुख्यात नाइके गोरे र उनका सहयोगीले पाँच वर्षभित्र ४२१ पटक गरी हालसम्म ३ हजार ७९९ किलोग्राम सुन तस्करी गरी भित्र्याइसकेको १९ वैशाखमा प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय मोरङलाई बुझाएको अभियोगपत्रमा उल्लेख छ ।

अघिल्लो प्रकरणमा पक्राउ परेकाहरू र उनीहरूले त्यसबेला सीआईबीलाई दिएको बयानमा उल्लेख गरेका गोरे सहित अर्जुन खरेल, श्याम खत्री, रामहरि कार्की, सुनिल श्रेष्ठ, गुप्तलाल भुसाल, हरिशरण खड्का, प्रमोद श्रेष्ठ, गीता श्रेष्ठ र कृष्णगोपाल अग्रवाल विरुद्ध प्रहरीले यसपटक मुद्दा चलाएको छ । यीमध्ये प्रहरीले त्यसबेला मुद्दा चलाएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्री पुनरावेदन अदालतबाट रु.२ लाख धरौटी राखी सामान्य तारेखमा छुटेका थिए ।

२१ पुस, २०७३ मा दुबईबाट तस्करी गरी नेपाल भित्र्याइएको ३३ किलो ५७७ ग्राम सुन सीआईबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको थियो । त्यसबेला अनुसन्धानका क्रममा पक्राउ परेका कुल ३३ जनामध्ये सात जना पुर्पक्षका लागि कारागार चलान, १४ जना धरौटीमा रिहा र तीन जना साधारण तारेखमा छुटेका थिए । प्रहरीले नौ जना फरार भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । उक्त सुनको मूल्य रु.१४ करोड ९३ लाख ६१ हजार ३०० रहेको प्रहरी प्रतिवेदनमा उल्लेख छ । सीआईबीले उक्त घटनाको अनुसन्धानका क्रममा विभिन्न व्यक्तिसँग बयान लिएको थियो । त्यसमध्ये आठ जनाले दिएको बयानको सम्पादित अंशः

गोपालबहादुर शाहीः मैले ल्याएको सूटकेशबाट १३० वटा सुनका बिस्कुट बरामद भएका हुन् । अन्य सुनका गहना र बिस्कुट लगायतका सामान भोलाबहादुर मगरले दुबईबाट ल्याई सन्तोष काफ्ले र दिलबन्धु थापालाई दिए । म अक्टोबर २०१६ को अन्तिममा दुबई गएको र त्यहाँ राम्रो काम नपाई नेपाल फर्किनै लाग्दा पहिलेदेखि चिनजान भएका सन्तोष काफ्लेले दुबईबाट नेपाल सामान लग्ने काम गर्नु पैसा राम्रो हुन्छ भनेपछि सामान ओसारपसार गर्न थालें ।

२०१६ को नोभेम्बरदेखि ५ महीनामा मैले सात पटक दुबई गएर सुन ल्याएको छु । सामान ओसारे बापत खानेबस्ने, हवाई टिकट र रु.१५ हजारदेखि रु.२५ हजारसम्म पाउँथें । सुन बोके वापत मैले एकपटकमा रु.६० हजार देखि रु.७० हजारसम्म पाएको छु । अवैध तरिकाले सुन भित्र्याउने काममा सन्तोष काफ्ले र धु्रव मेरा दुबईका बोस हुन् । पक्राउ परेका दिलबन्धु थापा नेपालका बोस हुन् ।

दिलबन्धु थापाः गोपालबहादुर शाहीले दुबईबाट सन्तोष काफ्लेले पठाएको अवैध सुनसहितको सूटकेश नेपाल ल्याई मलाई दिन्थे र मैले रामहरि कार्कीलाई दिन्थें । राजकुमार ढकाल र श्रीनारायण यादव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारका कर्मचारी भएकाले सुन राखिएका सूटकेश उनीहरूले विमानस्थलमा हुने एक्सरे चेकिङबाट पार गराई सहयोग गर्थे ।

दुबईबाट मोटर पार्टस्का सामान सप्लाई गर्ने क्रममा थानकोटका किशन अग्रवालसँग मेरो चिनजान भयो । उनले मलाई दुबईबाट सुन लैजाने काम गर मासिक रु.२५ हजारदेखि रु.३० हजार दिन्छु भने । त्यसपछि उनले भने अनुसार दुबईमा तयार गरिएका ५ देखि ७ तोलाका सुनका गहना मैले काठमाडौं ल्याएर स्याङ्जा घर भएका केशव चापागाईलाई दिने काम गरें । अग्रवालले दिएका सुनका गहना मैले तीनदेखि चार पटकसम्म ल्याएँ । त्यसपछि अग्रवालमार्फत हरि खड्कासँग चिनजान भयो ।

२०७३ पुसमा सीआईबीले बरामद गरेको ३३ किलो सुन । तस्वीरः कान्तिपुर

अग्रवाल र खड्काले ठूलो परिमाणमा सुनको कारोबार गर्ने भनी मलाई नेपाल बसेर दुबईबाट पठाएका सुन रिसिभ गरी काभ्रेका रामहरि कार्कीलाई दिने र त्यसो गरेबापत सबै खर्च कटाएर एक पटकको रु.३५ हजारदेखि रु.४० हजार दिन्छु भने । मैले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा काम गर्ने राजकुमार ढकालसँग चिनजान गरी विदेशबाट ल्याइएको मोटर पार्टस्सँगै सुन राखिएको लगेजलाई पनि चेकिङमा पास गराई बाहिर निकाल्न सहयोग गर्न भनें ।

एकपटक लगेज पास गराए वापत सामान अनुसार रु.२ लाखदेखि रु.२ लाख पचास हजारसम्म दिन्छु भनेपछि राजकुमार ढकाल मेरो कुरामा सहमत भए । उनले सुनका लगेजहरू चेकिङमा पास गराइदिन्थे । चेकिङमा लगेज पास गराउने काममा भन्सारका कर्मचारी श्रीनारायण यादव, बिन्दु महर्जन, श्याम श्रेष्ठ, गंगा भुर्तेल र केदारले समेत सहयोग गर्थेे ।

उनीहरूले लगेज पास गराइदिएपछि सुनसहितको लगेज मैले रामहरि कार्कीलाई दिन्थें । कार्कीले मलाई र भन्सारका कर्मचारीलाई दिने रकम एकमुष्ट दिन्थे । मैले बुझेकाे रकम राजकुमार ढकाल र श्याम श्रेष्ठलाई विमानस्थल बाहिर बोलाई अहिलेसम्म रु.१०/१२ लाख जति दिएको छु । 
दुबईमा बसी सुनको अवैध कारोबार गर्ने कार्यमा मैले चिनेका किशन अग्रवाल, हरि खड्का, केशव चापागाई, अर्जुन खरेल, गोरे सीताराम खरेल भनिने चूडामणि उप्रेती, सञ्जय भनिने दुर्गाप्रसाद खरेल, राजन पन्थी, गोपी भुसाल, छविलाल कुँवर र पवन कुँवरहरू हुन् ।

सन्तोष काफ्लेले दुबईबाट लगेज लिई आउने भरिया गोपालबहादुर शाही, भोलाबहादुर मगर र संकेत खतिवडालाई सुन जिम्मा लगाउने र उनीहरूको फोटो खिची मेरो फेसबूक म्यासेन्जरमा पठाइदिने गरेकाले मैले सामान लिई आउने मानिसलाई नेपालको विमानस्थल बाहिर भेटी सामान लिन्थें र रामहरि कार्कीलाई दिन्थें ।

सन्तोष काफ्लेः म दुबईमा हुँदा दिलबन्धु थापासँग भेट भयो । उनले मलाई यहाँबाट नेपालमा मोटर पार्टस्का सामानहरू लैजाँदा फाइदा हुन्छ भनेपछि त्यसै गर्नतिर लागें । यसरी मोटरपार्टस्को कारोबार गरिरहेको अवस्थामा उनले हरि खड्का, किसन अग्रवाल, दुर्गाप्रसाद खरेल, राजन पन्थी र अर्जुन खरेलसँग चिनजान गराए । त्यसपछि थापा, खड्का र अग्रवाल समेतले मोटर पार्टस्मा सुन पनि लैजाँदा फाइदा हुने भन्दै दुबईमै बसेर एअरपोर्टमा पु¥याउने काम गर्न भने पछि मैले अन्दाजी ५÷७ पटक सो काम गरेको छु । लगेज र लगेज लिएर जानेको फोटो खिची मैले दिलबन्धु थापाको फेसबूक म्यासेन्जरमा पठाउने गर्थें । सो फोटो दिलबन्धुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा काम गर्ने कर्मचारीहरूलाई पठाउँथे र ती कर्मचारीले फोटोको आधारमा लगेजहरू चेकिङमा पास गराउने काम गर्थे ।

राजकुमार ढकालः मैले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा २०७१ पुस महीनादेखि करारमा काम गर्दै आएको छु । मलाई कहिले ड्यूटी अफिसर त कहिले तथ्यांक अधिकृत श्रीनारायण यादवले ड्यूटी खटाउँथे । दिलबन्धु थापाले विदेशबाट मोटरपार्टस् समेतका सामान आउँदैछ भनी जानकारी गराएको बेलामा श्रीनारायण यादव र श्याम श्रेष्ठ समेत चेकिङमा र भन्सारमा बस्थे ।

दिलबन्धु थापाले मलाई फेसबूक म्यासेन्जरमा पठाएका सामान र मानिसको फोटो मैले श्रीनारायण यादव र श्याम श्रेष्ठलाई देखाउँथे । ती सामानहरू आएपछि हामी सबै मिलेर पास गराउँथ्यौं । सामान निकालेपछि दिलबन्धु थापाले एअरपोर्ट बाहिर बोलाएर पैसा दिन्थे ।

रामहरि कार्कीः मैले चार पटक गरी दुबईबाट पठाएका ४५० पिस सुनका बिस्कुटहरू दिलबन्धुमार्फत लिई हरि खड्काले फोनमा टिपाए अनुसार विभिन्न सुन पसलेहरूलाई दिएको छु । विदेशमा बसी सुनको अवैध कारोबार गर्ने किशन अग्रवाल, हरि खड्का भन्ने हरिशरण खड्का, केशव चापागाई, अर्जुन खरेल, गोरे खरेल भन्ने चूडामणि उप्रेती, सञ्जय भन्ने दुर्गाप्रसाद खरेल, राजन पन्थी र गोपी भुसाल हुन् ।

मैले दिलबन्धु थापामार्फत बुझेका सुनहरू आरके ज्वेलर्समा काम गर्ने शनि श्रेष्ठ, शालिमार ज्वेलर्समा काम गर्ने रवि, न्यूरोडमा पसल गर्ने अमूल विभूति, वैभव लक्ष्मी गोल्ड एण्ड सिल्भर प्यालेसका सञ्चालक प्रमोद श्रेष्ठ र सामाखुशीका रोशन भुसाललाई दिने गरेको थिएँ । विदेशबाट ल्याएको सुनहरू बुझेपछि दरबारमार्गमा रहेको रोधी क्लबमा लगेर राख्थें र सुन पसलेहरू लिन आएपछि दिन्थें ।

श्याम श्रेष्ठः म निजामती सेवामा २०५३ सालमा प्राविधिक सहायक पदमा नियुक्त भएको हुँ । दिलबन्धु थापाले विदेशबाट मोटरपार्टस्का सामानहरू ल्याउने गरेका र सो सामानहरूलाई मैले भन्सार चेकिङमा पास गराई बाहिर निकाल्थें । पछि सुनका बिस्कुट र सुनका गहनाहरू अवैध तरिकाले ल्याउन थालेपछि लगेज पास गराएबापत मलाई राजकुमार ढकालले एक पटक रु.४० हजार दिएका थिए ।

अर्को दुई पटक सुनका लगेज पास गराए वापत दिलबन्धु थापाले जम्मा रु.५ लाख ६० हजार मलाई दिए । त्यसमध्ये मैले आफ्नो भागको रु.८० हजार राखेर बाकी रु.४ लाख ८० हजार राजकुमार ढकाललाई दिएको थिएँ । सो रकम उनले आफ्नो भाग राखी यादवलाई दिने भनी मलाई जानकारी गराएका थिए । मलाई थाहा भए अनुसार राजकुमार ढकालले लगेज पास गराए वापतको रकम मेरो कार्यालयका तेज श्रेष्ठ र प्रद्युम्न श्रेष्ठलाई समेत दिने गरेका थिए ।

श्रीनारायण यादवः २०४१ सालमा प्राविधिक सहायक पदमा नियुक्त भएको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहेकै बेला बढुवा भई तथ्यांक अधिकृत पदमा कार्यरत छु । दिलबन्धु थापाले विदेशबाट मोटरपार्टस्का सामान र सोही सामानहरूमा भित्र लुकाई ल्याएको सुन र गहना भन्सार चेकिङमा पास गराई बाहिर निकाल्न सहयोग गरे वापत उनले नगद रुपैयाँ दिन्थे ।

सुनका लगेजहरू पास गराए बापत राजकुमार ढकाल र श्याम श्रेष्ठले दिलबन्धु थापासँग नगद पैसा लिन्थे । उनीहरूले आ–आफ्नो भाग राखी मेरो भाग र एसएसपी श्याम खत्रीलाई दिनु भनी कहिले रु.१ लाख ३० हजार र कहिले रु.१ लाख २० हजार दिन्थे । मलाई दिएको पैसामध्ये मैले रु.१ लाख एसएसपी श्याम खत्रीलाई दिने गरेको थिएँ । एसएसपी खत्रीले उक्त रकममध्येबाट डीआईजी समेतलाई दिने गरेको बताएका थिए ।

(त्यसबेला विमानस्थलमा कार्यरत डीआईजी गोविन्द निरौलामाथि पनि प्रहरीले मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गराएको छ) गेटको प्रहरीलाई मिलाउने जिम्मा एसएसपी खत्रीको थियो । विमानस्थलको भन्सार कार्यालय प्रमुख प्रशासक नारायण सापकोटाल मलाई ड्यूटीमा खटाउँथे ।

सीताराम कट्टेलः म कलाकार भएकाले नेफ्टा फिल्म अवार्डमा भाग लिन २०७३ पुस महीनामा दुबई गएको थिएँ । मलाई लिन दुबईको एअरपोर्टमा राज गौतम आए । गौतमले भोलिपल्ट एउटा पसलको उद्घाटन गर्न लगाए । म पसल उद्घाटन गर्न जाँदा हरिशरण खड्काले मैले नेपालमा निर्माण गर्न लागेको मुसहर बस्तीका लागि रु.५ लाख १० हजार र सोही कार्यक्रममा अर्जुनप्रसाद खरेलले पनि आर्थिक सहयोग गरेका थिए । हाल बुझ्दा मुसहर बस्तीका लागि आर्थिक सहयोग गर्ने उनीहरू अवैध सुन ओसारपसारमा संलग्न रहेको भन्ने थाहा पाएँ ।

प्रतिकृया दिनुहोस