ब्लगआइतवार, बैशाख २३, २०७५

ज्यानसँग लुकाएको कुरा

कनकमणि दीक्षित

ज्यान सल्टर (सन्१९३६ - सन्२०१८)

झण्डै २५ वर्ष अघिको कुरा– हिमाल बुक्स प्रकाशनले ‘पोट्रेट आर्टिस्ट’ ज्यान सल्टरले दुई दशक लगाएर तयार गरेका सिसाकलम स्केच तथा तैलचित्रलाई समेटेर एउटा गहकिलो पुस्तक निकाल्ने निधो गर्‍यो । यसका लागि लागिपर्‍यौं, वसन्त थापा, मनेश श्रेष्ठ, दीपक थापा, चन्द्र खतिवडा, सलिल सुवेदी (पछि गएर ‘कनिका’) ।

सन् १९७५ देखि काठमाडौं निवासी ज्यान हाम्रो प्रस्तावसँग राजी भइहालिन् । तर, नेपालका विभिन्न जातजातिको प्रतिनिधिमूलक मुहारचित्रहरुसँगै प्रत्येक समुदायको वर्णन, (त्यो पनि अंग्रेजी भाषामा) गर्न सक्ने, हामीमाझ दुई मूर्धन्य व्यक्तित्व मात्र थिए— मानवशास्त्री डोरबहादुर विष्ट र भूगोलविद् हर्क गुरूङ ।

डोरबहादुरजी शायद जुम्लास्थित आफ्नो कर्णाली इन्ष्टिच्यूटमा धेरै समय बिताउनुहुन्थ्यो त्यसताका । त्यसैले डा. गुरुङलाई सोध्यौं । डा. गुरुङ खुशी–राजी भएर केही महीनामै गहकिलो लेखन प्रस्तुत गरिहाले । उतिबेला जल्दोबल्दो पुस्तक डिजाइनर निर्मल शेरचन थिए, उनैले आवरण र सज्जा तयार पारे ।

पुस्तक निकाल्न भारतको प्रख्यात प्रकाशन गृह रुपा पनि सहकार्यका लागि तयार भयो, र उसको बेलायती प्रकाशन गृह हार्पर कलिन्स् सँग सम्बन्ध भएकोले हामी झन् खुशी भयौं ।

पुस्तक दिल्लीमा छाप्ने कुरा भयो । त्यसैले डिजाइन, पुस्तकमा समावेश हुने दर्जनौं ज्यानका ‘अरिजिनल’ स्केच र पेन्टिङ लिएर म दिल्ली उडें । हवाईजहाज थियो शाही नेपाल वायुसेवा निगमको भर्खर उडान भर्न थालेको नयाँ बोइङ्ग ७५७ ।

ज्यानका ती बहुमूल्य कलाकृति राखिएको लाम्चो बाकस ‘क्यारी अन् ब्यागेज्’ को रूपमा क्याबिनभित्र लगें । म पछाडि इकोनोमी क्लासमा बसें, तर फ्लाइट क्रूको सहयोगमा उक्त बाकसलाई अगाडि बिजनेश क्लासको कोटर्‍याकमा राखियो ।

प्लेन नयाँदिल्ली इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल उत्रियो । अध्यागमन कटेपछि आफ्नो सूटकेश टिपेर, कस्टम्स् पार गरीवरी शहर जान ट्याक्सीमा बसियो ।

नयाँदिल्ली शहर पुग्न आधा बाटो कटिसकेर धौलाकुवाँ नजिक आइपुग्दा पो झल्यास्स भएँ, ज्यानको सामान त प्लेनमै छुटेछ ! खङ्ग्रङ्ग भएँ, हवाईजहाजबाटै खसे झैं । एउटा कलाकारको वर्षौंको परिश्रमलाई यसरी बिर्सिएर हिंडेको ! अक्षम्य ! हरायो भने ? ! मुटु ढुक्–ढुक् गर्‍यो । ट्याक्सीलाई फर्कन लगाएँ ।

एअरपोर्ट पुगें, र मैले जाने जतिको मिजास र मनाउन सक्ने ताकत भित्रदेखि निकाल्ने कोशिश गरें । पहिले शानेवानिको काउन्टरमा कुरा राखें, एकजनाले भने, ‘प्लेन उडिसकेको छैन, हेर्नुस् सेक्युरिटी र इमिग्रेसन मनाउन सक्नुहुन्छ कि ?’

त्यसै गरें, भन्दै बढ्दै गएँ– नामुद आर्टिस्ट ज्यान सल्टरका अमूल्य कलाकृति प्लेनमै छुटे, जान दिनुस्, ‘रिट्रिभ’ गर्न । पहिला अध्यागमन पार गरें, अनि कस्टम्स्का अफिसरलाई मनाएँ, अनि प्लेन छिर्ने ठाउँमा तैनाथ प्रहरी । प्लेन उड्नै लागेको रहेछ, तर ढोका खुलै ।

परिचालक–परिचालिका वाल्ल परेर हेर्दै थिए, मैले सीधै भित्र गएर कोटर्‍याकको घर्रा खोलें, ज्यानको लाम्चो बाकस यथावत्, चूपचाप मलाई नै कुरेर बसिरहे जस्तो !

सामान बोकेर टर्मिनल बिल्डिङ्ग बाहिर निस्किएँ । फेरि अध्यागमन, कस्टम्स् हुँदै कुरिरहेको ट्याक्सी लिएर रवाना भएँ । आजका एअरपोर्टको सुरक्षा पद्धतिले यस्तो गर्न के दिन्थ्यो, जुन कुरा मैले त्यो बेला गर्न सकें ।

आखिरमा किताब छाप्न रुपा ले आलटाल गर्‍यो । र, नेपालमै राम्ररी ‘फोर–कलर’ मा छापियो– फेसेस् अफ नेपाल (हिमाल बुक्स, सन् १९९६) । किताबले बजार पनि राम्रो पायो, तर मैले ज्यानलाई यो घटना कहिल्यै बताइनँ ।

ज्यान सल्टरको यही १५ वैशाखमा निधन भयो । उनका बारेमा धेरै राम्रा, मीठा कुरा बाहिर आएका छन् । यो चाहिं मैले उनीसँग लुकाएको कुरो . . . !

सम्बन्धित समाचार: नेपाललाई असाध्यै माया गर्ने कलाकार ज्यान सल्टरको निधन

प्रतिकृया दिनुहोस