टिप्पणीशनिवार, बैशाख २२, २०७५

बुद्ध जयन्तीको बहस

वसन्त महर्जन

हामीले मनाइरहेको बुद्ध जयन्ती गणनाको आधार जन्मको आधारमा नभई बुद्ध सम्वत्को उल्लेख मात्र हो।

प्रत्येक वैशाख पूर्णिमा अर्थात् बुद्ध जयन्तीका दिन गौतम बुद्धलाई श्रद्धा व्यक्त गर्दै उनको नाममा विशेष कार्यक्रम मनाउने चलन विश्वभरको बौद्ध समाजमा छ । यतिऔं र उतिऔं भनेर बुद्ध जयन्तीको गणना पनि गरिन्छ ।

यो गणना बुद्धको जन्म नभई महापरिनिर्वाणका आधारमा गरिएको हो । बुद्ध जयन्ती भनेर महापरिनिर्वाणलाई आधार मानेको भन्दै यस गणनामा विमति राख्नेहरूले संशोधन गर्नुपर्ने आह्वान पनि गरिरहेका छन् । 

प्राचीन बौद्ध समाजमा दैनिक जीवनका कुनै पनि कुराको कालगणना बुद्धको महापरिनिर्वाणबाट गरिन्थ्यो । पछि यही गणना बुद्ध सम्वत्का रूपमा विकसित भयो ।

इतिहासका अध्येताहरू बुद्धको जन्मसाल इ.पू. ५६३ लाई मान्छन् तर श्रीलंकालीहरू भने इ.पू. ६२३ लाई आधार मानेर जन्मदिन मनाउँछन् ।

श्रीलंकाली मान्यताकै प्रभावमा संयुक्त राष्ट्रसंघले पनि यही साललाई आधिकारिक मानेको छ । परम्परा र ऐतिहासिक निर्क्योलमै ६० वर्षको फरक आइसकेको अवस्थामा पहिले जस्तै यतिऔं र उतिऔं बुद्धजयन्ती भनेर गणना गर्नु अर्थहीन अभ्यास मात्र हो ।

बौद्ध जगतमा बुद्धको जन्म (इ.पू. ५६३), बुद्धत्व प्राप्ति (इ.पू. ५२८) र महापरिनिर्वाण (इ.पू. ४८३) लाई ज्यादै महत्व दिइन्छ । तीनै दिन वैशाख पूर्णिमामै पर्नु आश्चर्यको संयोग हो । यसलाई त्रिसंयोग दिवसको रूपमा मनाउनुपर्छ भन्ने पनि छन् ।

बुद्ध लुम्बिनीमा जन्मेका र लुम्बिनी नेपालमा पर्ने भएकाले यो दिनलाई ‘लुम्बिनी दिवस’ को नाममा मनाउनुपर्ने तर्क गर्नेहरू पनि छन् । हिजोआज लुम्बिनी क्षेत्रमा ‘बुद्ध जयन्ती’ तथा ‘लुम्बिनी दिवस’ दुवै शब्दावली प्रयोग हुन थालेको पनि छ ।

संकुचित हामी
विडम्बना नै मान्नुपर्छ, आज पनि हामीमा बुद्ध र बुद्धको शिक्षा के हो भन्नेभन्दा पनि ‘बुद्ध नेपालमा जन्मिएका र आफू पनि नेपाली भएको नाताले गर्व गर्नुपर्छ’ जस्ता कुरामा मात्रै सरोकार राख्ने सोचको विकास भइरहेको छ । यस्तो सोच बुद्धप्रतिको आस्थाभन्दा राष्ट्रवादी आग्रहबाट प्रेरित देखिन्छ ।

वैशाख पूर्णिमामा नेपालमा ‘लुम्बिनी दिवस’ मनाएजस्तै भारतको बोधगयामा ‘बोधगया दिवस’ र कुशीनगरमा ‘कुशीनगर दिवस’ भनिंदैन । कदाचित यी दुई क्षेत्रले पनि नेपालकै सिको गरे त्यसबाट उत्पन्न हुनसक्ने असरबारे नेपाल पक्ष गम्भीर देखिन्न ।

विश्वले नै बुद्ध र बुद्धको शिक्षालाई अंगीकार गरिरहेका बेला जन्मभूमिले चाहिं संकुचित शब्दावली प्रयोग गर्नु प्रत्युत्पादक हुन सक्छ भनी सचेत हुनुपर्छ ।

बुद्धको विचरण भूमि नेपाल र भारत भए पनि यी दुवै देश बुद्ध र बौद्ध धर्म दर्शन उजिल्याउन खासै उत्साही देखिंदैनन् । बरु; श्रीलंका, चीन, जापान, कोरिया, थाइल्यान्ड आदि राष्ट्रहरूमा अग्रसरता देखिएको छ ।

रुखो भाषामा भन्ने हो भने नेपाल र भारतले बुद्धको नाम भजाएर ब्याज मात्र खाइरहेका, पर्यटनको ‘मार्केटिङ’ मात्र गरिरहेका छन् । बुद्ध र बौद्ध धर्म–दर्शनलाई ‘ब्राण्डनेम’ भन्दा माथि राख्नसके सत्कर्मका साथै व्यापारमा समेत थप टेवा पुग्ने निश्चित छ ।

बुद्ध जयन्ती र लुम्बिनी दिवस नामका शब्दावली प्रयोग र व्यवहार नेपालसँग मात्रै सम्बन्धित हो । तर बौद्ध समाजले बुद्ध जन्म जत्तिकै महत्व बुद्धत्व प्राप्ति, धर्मचक्रप्रवर्तन र महापरिनिर्वाणलाई दिएको हुन्छ ।

यस हिसाबमा नेपाली समाज समग्र बौद्ध समाजबाट पृथक् हुन खोजेको आभास हुन्छ । त्यसैले बुद्धलाई खुम्च्याउने होइन, फैलाउनेतिर लाग्नुपर्दछ । वैशाख पूर्णिमालाई वैशाख पूर्णिमा नै रहन दिनुपर्छ ।

प्रतिकृया दिनुहोस