पौडेल समूहको विरोधबीच कांग्रेसमा पदाधिकारी मनोनयन
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको विरोधका बीच सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयन गरेका छन् ।
आज बसेको निर्वाचित केन्द्रीय कार्यसमितिको बैठकले पौडेल समूहको विरोधकाबीच मनोनितको नाम पारित गरेको हो ।
देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा प्रकाशशरण महतलाई मनोनयन गरेका छन् ।
पदाधिकारी मनोनयन विधान सम्मत नभएको भन्दै पौडेल समूहका प्रकाशमान सिंह र महेश आचार्यले विरोध गरेका थिए ।
पौडेल समूहले पार्टीको विधानमा महाधिवेशनको दुई महिनाभित्र पदाधिकारी मनोनयन गर्ने व्यवस्था रहेको भन्दै २ वर्षपछि गर्न नहुने तर्क गरेका थिए ।
विधानमा सभापतिले मनोनयन प्रस्ताव राख्ने र निर्वाचित केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गर्ने व्यवस्था छ । निर्वाचित कार्यसमितिमा सभापति देउवाको सुविधाजनक बहुमत छ ।