रिपोर्टबिहिवार, बैशाख २०, २०७५

किन पढ्ने ए लेभल ?

मस्त केसी

विश्वभर एउटै पाठ्यक्रम, उस्तै परीक्षा प्रणाली, व्यावहारिक सिकाइ र विश्वका अन्य विश्वविद्यालयमा अध्ययनको अवसरका कारण ए लेभलप्रतिको आकर्षण बढ्दो छ।

पाटन कलेज अफ प्रोफेसनल स्टडिज, ललितपुर ।

१२ कक्षासरह मान्यता भएको एड्भान्स लेभल (ए लेभल) संसारभर व्यावहारिक र सम्भावनामुखी शिक्षाका रूपमा चिनिन्छ । ए लेभल अध्ययनपछि क्याम्ब्रिज, हार्वर्ड, एमआईटी, लण्डन स्कूल अफ इकोनोमिक्सजस्ता विश्व चर्चित विश्वविद्यालयमा स्नातक अध्ययनको अवसर पाउने सम्भावना भएकाले पनि यसप्रति विद्यार्थीको आकर्षण बढेको छ । 

ट्रिनिटी इन्टरनेशनल कलेज, ए लेभल विभागकी कार्यकारी निर्देशक अनिता रिजाल अन्तर्राष्ट्रिय कोर्स भएकोले ए लेभल पूरा गरेका विद्यार्थीले संसारको जुनसुकै विश्वविद्यालयमा पनि स्नातक पढ्न सहज हुने बताउँछिन् । उनी भन्छिन्, “पढ्दा–पढ्दै पनि क्रेडिट ट्रान्सफर गराएर विदेशका इन्ष्टिच्यूटहरूमा जानेहरूको संख्या उल्लेख्य छ ।” सैद्धान्तिकसँगै व्यावहारिक ज्ञानलाई प्राथमिकता दिइएको र विदेशमा पढ्न सहज हुने हुँदा यसप्रतिको आकर्षण झन बढेको हो ।

पाटन कलेज अफ प्रोफेसनल स्टडिजका अध्यक्ष पंकज जलानका अनुसार ए लेभलमा विद्यार्थीलाई विषयवस्तुको गहिराइ बुझाउँदै विश्लेषणात्मक ढंगले अध्ययन गराइन्छ । “विद्यार्थीले कति जान्यो भन्दा पनि कति बुझ्यो भन्ने कुरालाई महत्व दिइन्छ, ए लेभलले विद्यार्थीको ज्ञानको दायरा फराकिलो पार्छ”, जलान भन्छन् ।

संसारभर ए लेभल लोकप्रिय बन्नुको कारण यसको वैज्ञानिक पाठ्यक्रम, व्यावहारिक शिक्षा, विश्वस्तरको मान्यता र उत्कृष्ट नतिजा नै हुन् । ए–लेभल पढाउँदै आएका विद्यालयका संचालकहरू परम्परागत घोकन्ते शिक्षालाई विस्थापित गर्दै व्यावहारिक शिक्षा दिनु यो पाठ्यक्रमको उद्देश्य भएको बताउँछन् ।

काष्ठमण्डप ए लेभल एकेडेमीका संयोजक यादव थपलियाका अनुसार समय सुहाउँदो र प्रविधिमैत्री पाठ्यक्रम यसको विशेषता हो । उनी भन्छन्, “पाठ्यक्रम छोटो–छोटो समयमा परिवर्तन हुने भएकोले यो पढाईले विद्यार्थीलाई बदलिंदो समाजसँग नजिक बनाउँछ ।”

विद्यार्थीकेन्द्रित शैक्षिक गतिविधि भएका कारण ए लेभल पढेका विद्यार्थीमा कुनै पनि समस्यासँग जुध्न सक्ने क्षमता विकास हुने थपलियाको दाबी छ । ए लेभलमा विद्यार्थीलाई प्रयोगात्मक अभ्यास, छलफल, सामूहिक क्रियाकलाप, अनुसन्धान, प्रस्तुतिकरण, समसामयिक अध्ययनलगायतका शैक्षिक क्रियाकलापमा निरन्तर सहभागी गराइन्छ । यस्ता क्रियाकलापले विद्यार्थीलाई सशक्त र आत्मविश्वासी बनाउने साइपाल एकेडेमीका ए लेभल संयोजक सुमन नगरकोटी बताउँछन् ।

ए लेभल पढेर सबै विदेश जान्छन् भन्ने पनि होइन, स्वदेशकै विभिन्न विश्वविद्यालयमा पढ्नेहरूको संख्या पनि उल्लेख्य छ । विद्यार्थीले आफ्नो विषयगत अध्ययनका आधारमा चिकित्साशास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, मानविकीलगायत अन्य प्राविधिक विषयमा पनि अध्ययन गर्न सक्छन् । 

लचिलो प्रणाली
बेलायतको क्याम्ब्रिज विश्वविद्यालयद्वारा सञ्चालित ए लेभल पाठ्यक्रम र परीक्षा प्रणालीका हिसाबले माथिल्लो तहमा कुनै पनि विषय छनोट गर्न सकिने गरी लचिलो छ । विश्वका धेरै मुलुकमा ७० वटा विषयमध्येबाट छनोट गर्न पाइने भए पनि नेपालमा भने १८ वटामध्येबाट छानेर चारवटा विषय पढ्नुपर्ने हुन्छ ।

विषयगत शिक्षकको अभावका साथै भूगोल र समाज सान्दर्भिक नहुँदा अन्य मुलुकहरूमा चल्तीमा रहेका धेरै विषय नेपालमा पढाउन नसकिएको ए लेभल सञ्चालकहरू बताउँछन् । यद्यपि अन्य कोर्सको तुलनामा विकल्प धेरै छन् ।

द ब्रिटिश कलेज, काठमाडौं ।

क्याम्पियन एकेडेमीका प्राचार्य रोशन भण्डारी भन्छन्, “धेरै विकल्पमध्येबाट आफ्नो रुचिको विषय छान्दा विद्यार्थीमा विषय बुझ्ने, स्वतन्त्र र ठोस निर्णय गर्ने सीपको विकास हुन्छ ।” पाठ्यक्रममा भएको विविधताले गर्दा विद्यार्थीलाई फराकिलो ज्ञान र क्षमताको अवसर मिल्ने उनको भनाइ छ ।

ए लेभलमा मानविकी, व्यवस्थापन र विज्ञान संकायमध्येबाट चारवटा विषय छनोट गरेर पढ्न पाइन्छ । नेपाली कलेजहरूले जनरल पेपरअन्तर्गत अंग्रेजीलाई अनिवार्य विषय बनाएका छन् । यसको अर्को महत्वपूर्ण विशेषता विद्यार्थीले अलग–अलग संकायका विषय पनि पढ्न पाउँछन् ।

उदाहरणका लागि एउटा विद्यार्थीले अनिवार्य अंग्रेजीका साथै विज्ञान संकायको भौतिकशास्त्र, मानविकीको समाजशास्त्र र व्यवस्थापनको लेखा पढ्न पाउँछ ।

यसले विद्यार्थीलाई फरक क्षेत्रमा समेत प्रतिस्पर्धी बनाउने र माथिल्लो तहमा रुचि अनुसारको विषय छनोटको स्वतन्त्रता दिने काष्ठमण्डपका थपलियाको भनाइ छ । “परीक्षामा चित्त नबुझ्ने ग्रेड आए पुनः परीक्षा समेत दिन पाइन्छ”, थपलिया भन्छन् । भर्नाकै समयमा परीक्षाको तालिका निर्धारित हुने भएकाले पनि विद्यार्थीलाई ‘करिअर प्लान’मा थप सहजता हुन्छ ।

संसारभर ए लेभलको पाठ्यक्रम निर्धारण, शिक्षण, परीक्षा र ग्रेडिङ प्रणाली सबै क्याम्ब्रिज विश्वविद्यालयले तय गर्छ । नेपालमा क्याम्ब्रिजका तर्फबाट ब्रिटिश काउन्सिलले परीक्षा सञ्चालन गरे पनि रातो बंगला र बूढानीलकण्ठ स्कूल क्याम्ब्रिजको परीक्षा बोर्डमा दर्ता भएका कारण उनीहरूले परीक्षा सञ्चालन आफैं गर्छन् । अन्य विद्यालयको परीक्षा केन्द्र निर्धारणदेखि निरीक्षक तोक्ने काम समेत ब्रिटिश काउन्सिलले गर्दै आएको छ ।

ए लेभलको परीक्षा प्रत्येक वर्ष दुईपटक मे/जून र अक्टुबर/नोभेम्बरमा विश्वभर एकसाथ हुन्छ । परीक्षा भएको ६ देखि ७ हप्ताभित्र विश्वभर एकसाथ नतिजा प्रकाशित हुन्छ ।

विद्यार्थीले आफ्नो क्षमता र तयारी अनुसार ६/६ महीना, एक वर्ष वा एकैपटक दुई वर्षमा समय रोजेर परीक्षा दिनसक्ने व्यवस्था छ । ग्रेडिङ प्रणालीमा नतिजा आउने ए लेभलमा ‘डी’ भन्दा माथिको ग्रेड ल्याउने विद्यार्थीले विदेशका विश्वविद्यालयमा पढ्नका लागि छुट्टै आईईएलटीएस टोफेल जस्ता अंग्रेजी भाषा परीक्षा पनि दिनुपर्दैन ।

लिखित, मौखिक, प्रयोगात्मक र प्रोजेक्ट वर्कका आधारमा विद्यार्थीको मूल्यांकन गरिने हुँदा एकदिने जाँच विधिभन्दा उत्कृष्ट मूल्याङ्कन हुन्छ । ब्रिटिश काउन्सिलले प्रत्येक विषयमा प्रत्येक सेसनमा विश्वमै सर्वोत्कृष्ट वा नेपालमा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई विश्वका राम्रा विश्वविद्यालयहरूमा छात्रवृत्तिमा अध्ययन गर्ने अवसरसमेत दिइरहेको छ ।

त्यसैले पनि ए लेभलले विश्व प्रतिस्पर्धी जनशक्ति उत्पादन गरिरहेको पुष्टि भएको ट्रिनिटी कलेजकी रिजाल बताउँछिन् । पाटन कलेज अफ प्रोफेसनल स्टडिजका जलान ए लेभलले समाजलाई पनि विश्वव्यापीकरणमा सहयोग पुर्‍याएको दाबी गर्छन् ।

महँगो तर व्यावहारिक
१० कक्षा वा सो सरहको परीक्षा उत्तीर्ण गरेकाले ए लेभल पढ्न पाउँछन् । नेपालमा २०४३ सालदेखि बूढानीलकण्ठ स्कूलबाट शुरू भएको ए लेभल अहिले ४० भन्दा बढी स्कूलमा पढाइन्छ । काठमाडौंका अलावा पोखरा, नारायणघाट, बुटवल र विराटनगरका विद्यालयहरूमा ए लेभलको पढाइ भइरहेको छ । विश्वव्यापी प्रतिस्पर्धा हुने, विषय छनोटको अवसर र व्यावहारिक पाठ्यक्रम भएकै कारण ए–लेभल विद्यार्थीको रोजाइमा पर्दै गएको हो ।

साइपाल एकेडेमीका सुमन नगरकोटी अभिभावकहरूमा समेत ए लेभल पढेपछि छोराछोरीको भविष्य सुरक्षित हुने विश्वास बढेको बताउँछन् । उनी भन्छन्, “नेपालमै अन्तर्राष्ट्रियस्तरको शिक्षा हासिल गर्ने उपयुक्त कोर्स ए लेभल हो ।”

ए लेभल सञ्चालन गर्न सैद्धान्तिक र प्रयोगात्मक कक्षाका योग्य शिक्षक र प्रत्येक विषयका लागि पूर्णकालीन शिक्षकको व्यवस्था गरिएको हुनुपर्छ । पुस्तकालयमा कम्तीमा प्रति विद्यार्थी तीन वटाका दरले पाठ्यपुस्तक तथा सन्दर्भ सामग्रीको व्यवस्था हुनैपर्छ । प्रत्येक विद्यार्थीका लागि इन्टरनेट सुविधासहितका छुट्टाछुट्टै कम्प्युटर, मल्टिमिडिया प्रोजेक्टरलगायतका सुविधा अनिवार्य छ ।

धेरै सुविधा र पूर्वाधारका कारण ए लेभल केही महँगो भए पनि विदेशमा भन्दा धेरै कम शुल्क लाग्ने द ब्रिटिश कलेजका बजार प्रबन्धक सुमन श्रेष्ठ बताउँछन् । “नेपालमा पढ्दा महँगो जस्तो लागे पनि यही कोर्स पढ्न विदेशमा चार गुणा बढी खर्च लाग्छ ।” दुईवर्षे यो कोर्सका लागि नेपालका विद्यालयले रु.६ लाखदेखि रु.७ लाखसम्म लिंदै आएको काष्ठमण्डपका थपलिया बताउँछन् ।

महँगो हुँदाहुँदै पनि ए लेभलप्रति विद्यार्थीको रुचि बढ्दै गएको देखिन्छ । जेहेन्दार र मिहिनेती विद्यार्थी शुल्ककै कारण पढाइबाट बञ्चित हुनु नपरेको ट्रिनिटी कलेजकी रिजालको दाबी छ ।

ए लेभल पढाइ हुने प्रत्येक विद्यालयले निम्न आय भएका जेहेन्दार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था गरेको उनी बताउँछिन् । उनका अनुसार ए लेभलको पाठ्यसामग्री महँगो र प्रयोगात्मक शिक्षामा बढी जोड दिइने भएकाले शुल्क पनि तुलनात्मक रूपमा महँगो भएको हो ।

क्याम्पियनका रोशन भण्डारीका अनुसार एसईईपछि विदेश पढ्न जान चाहनेहरूको भीडलाई नेपालमै रोक्न ए–लेभल प्रभावकारी भएको छ । “विश्वभर एउटै पाठ्यक्रम र परीक्षा प्रणाली ए लेभलको विशेषता हो ।”

पोखरामा ए लेभल
पोखरामा २०५९ सालदेखि ए लेभलको पढाइ शुरु भएको हो । शुरुमा ए लेभलका अधिकांश विद्यार्थी बेलायती सेनामा काम गर्ने अभिभावकका छोराछोरी थिए । पोखराको नोबेल कलेजका प्रमुख कार्यकारी अधिकृत विश्वेश्वर आचार्य भन्छन्, “बेलायती सेनाका परिवार बेलायतमै बस्न पाउने व्यवस्था नहुँदासम्म ए लेभल पढ्न आउने विद्यार्थी व्यवस्थापन गर्नै गाह्रो थियो ।”

पोखरामा अहिले नोबेल एकेडेमी, कसमस इन्टरनेशनल कलेज र गण्डकी बोर्डिङ स्कूलले ए लेभल पढाइरहेका छन् । ए लेभल मात्रै पढाइ हुने कसमस इन्टरनेशनल कलेजमा हाल ९० जना विद्यार्थी अध्ययनरत छन् ।

नोबेल एकेडेमीका आचार्य ब्रिटिश गोर्खामा कार्यरत व्यक्तिका सन्तानलाई ध्यानमा राखेर खोलिएको ए लेभल अहिले सबैको रोजाइ बन्दै गएको बताउँछन् । “केही समयअघि ए लेभल सम्पन्नको शिक्षा भनेर चिनिन्थ्यो” उनी भन्छन्, “अहिले सबैको आवश्यकता बन्न थालेको छ ।”

गण्डकी बोर्डिङ स्कूलबाट ए लेभल उत्तीर्ण गरेका बिल्सन बस्यालले यसै वर्ष हार्वर्ड विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिमा अध्ययनको मौका पाएको प्राचार्य रविप्रसाद बराल बताउँछन् ।

यी तीनवटै विद्यालयले अध्ययनसँगै ट्रेकिङ, क्याम्पिङ, सामाजिक अनुसन्धानलगायतका कार्यमा विद्यार्थीलाई संलग्न गराउँदै आएका छन् । ए लेभलको महत्व बुझाउन पोखराका तीनवटै विद्यालय मिलेर संयुक्त कार्यक्रमहरू सञ्चालन गर्न लागेको नोबेलका आचार्य बताउँछन् । उनी भन्छन्, “कुन विद्यालयभन्दा पनि किन ए लेभल पढ्ने भनेर हामी मिलेर काम गर्दैछौं ।” 

साथमा युवराज श्रेष्ठ, पाेखरा 

प्रतिकृया दिनुहोस