नेपाललाई असाध्यै माया गर्ने कलाकार ज्यान स्याल्टरको निधन
कलाकार, पशु कल्याण अभियन्ता र नेपाललाई असाध्यै माया गर्ने बेलायती नागरिक ज्यान सेल्टरको निधन भएको छ ।
फेसेज् अफ नेपाल नामक चित्र–पुस्तककी सर्जक (हर्क गुरुङसँगको सहलेखनमा, सन् १९९६) स्यालटरकोे ८८ वर्षको उमेरमा बेलायतको लाइम रिजसस्थित निवासमा शनिबार निधन भएको हो ।
सन् १९७० को दशकको मध्यबाट नेपालमा बसोबास गर्न थालेकी उनले नेपालका विभिन्न स्थानमा भ्रमण गर्दा भेटिएका ‘असाधारण मानिस’ का अनुहारको स्केच बनाएकी छन् । ज्यानका कलाकृति नेपालका परम्परागत भेषभुषा र आभूषणको समकालीन अभिलेख समेत मानिन्छन् । पछिल्लो समय तैल चित्रहरुमा कुची चलाएकी उनले बनाएका २५० भन्दा बढी चित्रले नेपालका विविध जातीय समूहहरुको अभेलिखिकरण समेत गरेका छन् ।
सन् १९३६ मा बेलायतको साउथ्याम्पटनमा जन्मेकी स्याल्टरले युवा उमेरमा अफ्रिका, अष्ट्रेलिया र पूर्वी एशियाको भ्रमण गरिन तर उनलाई नेपाल नै सबैभन्दा प्रिय रह्यो जसको प्रभाव उनको कलामा समेत देखिन्छ ।
आफू नजिकका मानिसहरु मात्र होइन जनावरप्रति पनि स्नेह राख्ने ज्यानले सन् २००४ मा सामुदायिक कुकुरहरुका लागि काठमाडौं एनिमल ट्रिटमेन्ट सेन्टरको स्थापना गरेकी थिइन् ।
उनले माइती नेपालले उद्दार गरेका युवतीहरुको भावपूर्ण पेन्टिङ ‘अल आवर डटर्स’ शृंखलामा संग्रहित गरेकी छन् । जसमध्ये ४५ थान चित्रहरु माइती नेपालमै छन् ।
उनको चित्रकला र मानवीयताका लागि राजा विरेन्द्रका पालामा उनलाई गोर्खा दक्षिण बाहु पदकबाट सम्मान गरिएको थियो । नेपालमा पशुहितका लागि काम गरे वापत उनले ह्युमन सोसाइटी इन्टरनेशनलबाट प्रसिद्ध ‘असाधारण प्रतिबद्धता पुरस्कार’ प्राप्त गरेकी थिइन् भने बेलायतकी महारानीबाट समेत सम्मानित
भएकी थिइन् ।
उनी भन्थिन, “यदि मेरो कृति ‘फेसेज अफ नेपाल’ ले नेपालको समृद्ध र विविधतापूर्ण संस्कृतिलाई मान्यता र वृहद् सम्मानका लागि कुनै योगदान दिएछ भने त्यसमा मलाई गर्व हुनेछ । नेपाल र नेपालीबाट मैले जे जति पाएँ त्यसको तुलनामा यो सानो उपहार मात्रै हो ।”
ज्यानको कृति ‘फेसेज् अफ नेपालको’ वेभ लञ्च उनका परिवारको चाहना अनुसार तोकिएको मितिभन्दा अगावै १ जेठ मा (३ देखि ५ बजे अपराह्न) नेपाल पर्यटनबोर्डमा हुनेछ ।