वीरगञ्ज: प्रहरीको कारबाहीमा भारतीय युवकको मृत्यु
पर्सा प्रहरीको कारबाहीमा गएराति एक जना भारतीय युवकको मृत्यु भएको छ । उनी वीरगञ्जका व्यापारी सुरेश केडियाको गत जेठ महिनामा भएको अपहरणमा संलग्न रहेको बुझिएको छ ।
वीरगन्ज उपमहानगरपालिका–१८ को सिरोमणी टोलमा रहेको कच्ची बाटोमा २३ असोज राति ८ बजे प्रहरीसँग भएको भिडन्तको क्रममा प्रहरीले चलाएको गोली लागी एक युवकको मृत्यु भएको हो ।
पर्वलाई लक्षित गरी पर्सा प्रहरीले जिल्लामा लागू गरेको विशेष सुरक्षा योजनाअन्तर्गत वीरगन्ज उपमहानगरपालिकाको सुनसान क्षेत्रको नियमित गस्ती गर्ने क्रममा भारतीय नम्बरको मोटरसाइकलमा सवार भई आउँदै गरेका दुई जनालाई रोकी चेकजाँच गर्न खोज्दा प्रहरीलाई लक्षित गरी गोली चलाएकाले प्रहरीको जवाफी कारबाहीमा गोली लागी युवकको मृत्यु भएको पर्साका प्रहरी उपरीक्षक डा राजुबाबु श्रेष्ठले जानकारी दिए ।
यद्यपी उनले मृतकको परिचय नखुलेको र मृतकसँगै रहेका भारतीय मोटरसाइकल चालकको खोजी कार्य भइरहेको बताए । आधिकारिक रुपमा नबताइए पनि मृतक भारत विहारको रक्सौल निवासी दिसाद आलम रहेको प्रहरी स्रोतले दाबी गरेको छ । वीरगन्जका चर्चित व्यापारी सुरेश केडियाको केही महिना अगाडि भएको अपहरणमा पनि संलग्न रहेको र प्रहरीको खोजी सूचीमा समेत रहेका आलमको भिडन्तको क्रममा मृत्यु भएको हो ।
फरार भएका अन्यको खोजीका लागि वीरगन्जको विभिन्न स्थानमा प्रहरीले नाकाबन्दी समेत गरेको छ । पर्वको बेला वीरगन्जमा आपराधिक घटना घटाउन आएको प्रहरीले शङ्का गरेको छ ।
प्रहरीले घटनास्थलबाट एक थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने चार थान गोली पनि बरामद गरेको छ ।
जियालाल साह, वीरगञ्ज