ब्लगसोमवार, बैशाख १७, २०७५

लडाइँको साक्षीः बेनीको खम्बा

कनकमणि दीक्षित

बेनीमा भएको आक्रमण देखेको उक्त ‘बेनीको खम्बा’ २०६७ सालसम्म आफ्नै ठाउँमा खडा थियो, तर यसलाई संरक्षण नगर्ने हो भने नेपाल विद्युत् प्राधिकरणले यसलाई हटाएर अर्को नयाँ खम्बा गाड्ने र खम्बाको कवाडीको बास हुने निश्चित थियो ।

युद्ध र द्वन्द्वको सम्झना हुनुपर्दछ, ताकि लडाइँले जनमानसको शरीर र मस्तिष्कलाई के गर्दछ, कस्तो चोट पार्दछ, त्यो सम्झिइरहनेछ । यसरी युद्धकाललाई स्मृतिकृत (मेमोरिएलाइज) गर्नु महत्वपूर्ण छ, ताकि एउटा द्वन्द्वबाट गुज्रिएको समाज सीधै अर्कोमा नहाम्फालोस् ।

नेपालमा पनि माओवादी र राज्यबीचको एकदशकको द्वन्द्वलाई सम्झिइनुपर्दछ, ताकि विद्रोहीको हिंसा र राज्यको प्रतिहिंसा हाम्रो समाजमा फेरि नदोहोरियोस् । हामीलाई चाहिएको छैन युद्धकाल र यससँग सम्बन्धित हत्या, बलात्कार, बेपत्ता, सामूहिक सजाय, यातना, अपहरण, बालयोद्धा, चन्दा आतंक, सकेट बम, ग्रिनेड, लूट, ब्ल्याकमेल . . .

पुस्तक र अन्य प्रकाशित कृति संरक्षण र सुरक्षित गर्ने थलो हो, मदन पुरस्कार पुस्तकालय । मपुपुका मेरा सहयोगीहरूलाई लाग्यो कि नेपालको द्वन्द्वकाललाई विस्मृतिमा जान दिनुहुँदैन ।

अरु देशमा द्वन्द्वकालपश्चात् युद्ध संग्रहालय (वार म्युजियम) खडा गरिन्छ, तर नेपालमा शान्ति संग्रहालय (पीस म्युजियम) बनाउनुपर्छ भन्ने सोच आयो ।

यसै सन्दर्भमा बेनी बजारमै रहेको लडाइँको खुद साक्षी एउटा बिजुली खम्बालाई जोगाउनुपर्छ भन्ने विचार आयो । यसै त युद्धकालका धेरै अवशेष हराइसकेको अवस्था थियो ।

मदन पुरस्कार पुस्तकालयले संरक्षण गरेर राखेको बेनीको खम्बा । तस्वीरः बिक्रम राई

जब वर्षमान पुन नेतृत्वको माओवादी फौजले ७ चैत २०६० मा म्याग्दी सदरमुकाम बेनीमा हमला गर्‍यो, सेना र प्रहरीसँगको लडाइँ भीषण भयो । राति १०ः३० बजे शुरु भएको गोली बारुद बिहान ९ बजेसम्मै चल्यो । (४०) माओवादी (५१) सुरक्षाकर्मी तथा (१५) सर्वसाधारणको ज्यान गयो भन्ने तत्कालको सूचना थियो, जबकि त्योभन्दा धेरै ठूलो संख्या हताहत भएको भन्ने पनि छ ।

त्यो कहालीलाग्दो रातको साक्षी थियो सडकछेउ उभिएको त्यो एउटा बिजुलीको खम्बा, जो थरीथरीको माओवादी हतियार (प्वाइन्ट् टू–टू, एसएलआर, एसएमजी, एम–१६, थ्री नट थ्री) को आक्रमणको बेलाको एकतर्फी गोलीले छियाछिया हुन पुग्यो ।

बेनीमा भएको आक्रमण देखेको उक्त ‘बेनीको खम्बा’ २०६७ सालसम्म आफ्नै ठाउँमा खडा थियो, तर यसलाई संरक्षण नगर्ने हो भने नेपाल विद्युत् प्राधिकरणले यसलाई हटाएर अर्को नयाँ खम्बा गाड्ने र खम्बाको कवाडीको बास हुने निश्चित थियो ।

उता अझै पनि हिंसाको भयावह अवस्थाबाट खलबलिएको स्थानीय समाजबाट खम्बा संरक्षण गर्ने कोही अगाडि सरेको अवस्था थिएन ।

मदन पुरस्कार पुस्तकालय बेनीको खम्बा जोगाउन तम्सियो । विद्युत् प्राधिकरणसित लेखापढी गरी शोधभर्ना खम्बा समेत बुझाइवरी बेनीको खम्बालाई मपुपु ल्याइपुर्‍यायो, र आजसम्म यो ‘अस्थायी प्रदर्शन’ को रुपमा ललितपुर, पाटनढोकामा उभिएको छ ।

दुई–तीन वर्षयता विशेषगरी म्याग्दीबाट माग आएको छ मपुपुसँग, कि ‘हाम्रो खम्बा फिर्ता गर ।’ अझ कतैबाट त उक्त खम्बा ‘चोरी’ गरेको समेत आरोप आएको छ ।

बचाउने काम सकिएको छ, तर बेनीको यस खम्बालाई कसैले लोप गर्न अब सम्भव छैन भन्ने सुनिश्चितता चाहिएको छ, किनकि द्वन्द्वकाललाई बिर्सन, बिर्साउन उद्यत जमात सानो छैन ।

यो विश्वाससहित बेनीको खम्बा बेनी नै फर्किएको उत्तम भन्नुमा त केही समस्या भएन । ‘बेनीको खम्बा’ त एउटा स्थानीय सन्दर्भको वस्तु मात्र नभई राष्ट्रिय तवरको ‘शान्ति संग्रहालय’ मा प्रदर्शन हुनुपर्दछ ।

त्यो शान्ति संग्रहालय बेनीमै स्थापना होस्, जहाँ विद्यार्थी, पूर्व लडाकू–सिपाही, उनका परिवारजन, आम नागरिक, पर्यटक सबै गएर नेपालले बिताएको एकदशकको द्वन्द्वकालको स्मरण गरुन् या सुसूचित होउन् ।

बेनीमा अन्तर्राष्ट्रियस्तरको राष्ट्रिय पीस म्युजियम बनोस्, जसले द्वन्द्वकालको सही प्रस्तुति गरोस्, ताकि भोगेका, देखेका सबै कुरा विस्मृतिमा नजाउन् । बेनीको यस खम्बाबाहेक मुलुकभरिबाटै द्वन्द्वकालका सामग्री संकलन गरीवरी आकर्षक र शिक्षाप्रद हिसाबले प्रदर्शन हुनुपर्छ । द्वन्द्वको थालनी, जनताको भोगाइ तथा शान्ति प्रक्रियाको अन्त्यसम्मको कालखण्ड राम्ररी पेश होस् ।

सन्जोगले द्वन्द्वकालका हजारौं तस्वीर लडाइँमा जनता किताबको लागि प्रकाशक संस्था ‘नेपालय’ ले जम्मा पारेको थियो (पुस्तकका सम्पादकः मेरा दाइ कुन्द दीक्षित) । तस्वीरहरूबाट द्वन्द्वकाल र त्यसपछिको अवस्थामा विद्रोही लडाकू, सिपाही, पुलिस र आम नागरिकको कथा व्यथाको झझल्को छ ।

यी तस्वीरहरूबाट नै अन्तर्राष्ट्रिय तवरको शान्ति संग्रहालयको थालनी गर्न सकिनेछ, जसको केन्द्रविन्दुमा रहनेछ– बेनीको खम्बा । बेनी नगरपालिकाका नगरप्रमुख हरिकुमार श्रेष्ठ तथा उहाँका सहयोगीहरूलाई भन्न मन लाग्यो, ‘निर्माण गरौं, बेनीमा नेपाली शान्ति संग्रहालय ।’

प्रतिकृया दिनुहोस