कला/साहित्यशनिवार, बैशाख १५, २०७५

पुरुषको छायाँछवि (पुस्तक चर्चा)

सविना देवकोटा

यौन र यौनिकताले नै मानव जीवनका अधिकांश निर्णय र नतिजा प्रभावित बनाइरहेका उदाहरण बग्रेल्ती भेटिन्छन् । पत्रकार एवम् अधिकारकर्मी सरिता अर्यालले पुरुष कथासङ्ग्रहमार्फत यौन मनोविज्ञानका यस्तै प्रवृत्ति उजागर गर्ने प्रयास गरेकी छन् ।

पुस्तक: ‘पुरुष’ (कथासङ्ग्रह) 
लेखक: सरिता अर्याल
प्रकाशक: बीएन् पुस्तक संसार प्रा.लि.
पृष्ठ: १०९+१९
मूल्य: रु.२२५

१६ वटा कथा समेटिएको कथासङ्ग्रहका अधिकांश कथा महिला आँखाबाट वर्णन गरिएका छन् । महिला–पुरुषको जटिल सम्बन्ध र यौन मनोविज्ञानलाई चित्रण गरिएको छ । अधिकांश कथामा पुरुष प्रताडित महिलाको भोगाइ व्यक्त गरिएको छ ।

शारीरिक एवम् मनोसामाजिक रुपमा महिलामाथि यौन प्रभुत्व जमाउने प्रतिनिधि पुरुष नै यस कथासङ्ग्रहको ‘पुरुष’ हो । ज्वरोले शिथिल श्रीमतीले यौन सम्पर्क गर्न नमानेकै कारण आग्लोले टाउकोमा प्रहार गरी हत्या गर्ने श्रीमान्को अनुहारको सामान्य भावले पनि पुरुषसत्ताको अहं देखाएको छ ।

निर्णायकका रूपमा रहेको ६० वर्षको पुरुष नवप्रवेशी मोडललाई मोडलिङ प्रतियोगितामा विजयी बनाइदिन्छ । र, कुत्सित मनोभाव पूरा गर्छ । बोल्न नसक्ने र हातखुट्टा पनि नचल्ने अपांग महिलालाई गाउँकै पुरुषले गर्भवती बनाउँछ तर जिम्मेवारी लिन मान्दैन । अन्ततः ती महिला र बच्चाको मृत्यु हुन्छ ।

कथासङ्ग्रहमा अनमेल विवाह, बालविवाह, बहुविवाह र असफल विवाहको फेहरिस्त लाग्छ । किनकि सफल विवाह, यौन र प्रेमबारे कथा र पात्र मौनप्रायः छन् ।

पुरुषद्वारा महिला युगौंदेखि शोषित हुँदै आएका छन् । यसको मूल कारण; आर्थिक, सामाजिक रुपमा पुरुषमाथिको निर्भरता पनि हो । कुलको इज्जत छोरीले नै धान्नुपर्ने, जहिल्यै पुरुषलाई रिझाउनुपर्ने जस्ता महिला जीवनका यथार्थ चित्रण गर्नु कथाको सबल पक्ष हो ।

तर ‘आखिर महिलाको भाग्य सधैं पुरुषसित जोडिएर नै बन्ने र बिग्रने त रहेछ’ र ‘हाम्रो समाज यही त हो’ जस्ता कथाकारको वकालती वाक्यांशले भने पात्र र तिनका संवाद भन्दा लेखकीय आग्रह नै हावी भएको देखिन्छ ।

कथासङ्ग्रह पढ्दै गर्दा कथाको बनोट र शिल्पमा भने कथाकार चुकेको भान हुन्छ । ‘टेबुल’, ‘प्रेमविवाह’ र ‘अप्रिल फुल’ शीर्षकका कथा स्वयंमा अस्पष्ट छन् ।

भाषिक अशुद्धताले पाठकलाई विकर्षण गर्न सक्छ । कथासङ्ग्रहले यौन, प्रेम र विवाहबारे समाजमा लुप्त र व्याप्त धारणा तथा घटनाहरुको चित्र उतारिदिएर समकालीन समाजका चरित्रहरूलाई साहित्यमा बहस गर्ने सन्दर्भ भने थपिदिएको छ ।

प्रतिकृया दिनुहोस