दस्तावेजशनिवार, बैशाख १५, २०७५

रावा डुम्रेमा प्रताप मल्लका चार बिर्ता

ज्ञानमणि नेपाल

यक्ष मल्लले बर्द्धनहरूलाई वशमा पार्दै राज्य विस्तार गरेकाले पछि प्रताप मल्लले दूधकोशी छेउको रावा डुम्रेमा बक्सन सकेका थिए।

हामीले हिमाल खबरमा पहिले जङ्गबहादुरदेखि चन्द्रशमशेरसम्मका राणा प्राइममिनिष्टर स्वयं र परराष्ट्र सम्बन्धी मामिला हेर्ने मुन्सीखानामा अफिसरहरूले अंग्रेज रेजिडेन्ट र भाइसरायहरूसँग भए÷गरेका संवाद र पत्राचारहरू हेर्‍यौं ।

त्यसपछि मकवानपुर राज्यका हरिहर सेनदेखि चौदण्डीका अन्तिम राजा कर्ण सेनसम्मका बिर्ताका धेरै स्याहामोहर, केही जिमिदारी खान्कीका स्याहामोहरबारे पढ्यौं ।

अहिले त्यही चौरासी कुशमा उतारिएका काठमाडौंका राजा प्रताप मल्ल (सं. १६९८–१७३१) ले दूधकोशी पश्चिमका रावा डुम्रे अम्मल भित्रका जग्गा घिमिरेलाई दुई र भंडारीलाई दुई बिर्ता दिएका उतार यहाँ प्रस्तुत गर्दैछु ।

यी मोहरका सकल हेर्न नपाउँदा यी बिर्ताका दानपत्र ताडपत्रमा थिए वा नेपाली कागजमा भन्ने थाहा भएन । मल्ल राजाका जग्गा सुक्रीबिक्रीका तमसुक प्रायः ताडपत्रमा माटाका छाप लागेका हुन्छन् ।

प्रताप मल्लले रानीको पुत्रशोक निवारणको लागि खनेको रानीपोखरीको डिलमा राखेको शिलालेखमा नेपाली भाषा नै प्रयोग गरे, सबैले बुझुन् भनेर ।

प्रताप मल्ल भन्दा पहिलेका धर्मात्मा राजाहरू दिनहुँ पशुपति दर्शन गर्न जान्थे । दिनैपिच्छे जान टाढा भो भनेर हनुमानढोका दरबार नजिकै पश्चिमतिर पशुपतिको मन्दिर स्थापना गरियो ।

त्यहीं रहेको शिलालेखमा पनि नेपाली भाषाकै प्रयोग गरिएको छ । पूर्व सीमान्त प्रदेशमा बिर्ता दिंदा प्रताप मल्लले निश्चय नै सबैले बुझ्ने भाषाकै प्रयोग गरेका थिए ।

अब काठमाडौं (नेपाल मण्डल) राज्य दूधकोशीसम्म कसरी पुग्यो, अलिकति विचार गरौं । नेपाल दुनभित्रका तीन वटा मल्ल राज्यमध्ये क्षेत्र चाहिं काठमाडौंकै धेरै थियो ।

प्रताप मल्लको यी कुशबिर्ता हेर्दा पश्चिममा त्रिशूली र पूर्वमा दूधकोशीसम्म यो राज्य फैलिएको देखिन्छ । भोट जाने बेपारी मार्ग केरुङ र कुती काठमाडौंकै अधीनमा थियो ।

भोटको सम्पूर्ण बत्तीसकोठीको बेपार काठमाडौंकै कब्जामा थियो । पाटन र भक्तपुर राज्य काठमाडौंलाई गुहारेर भोटसँग बेपार गर्थे ।

विक्रमको बाह्रौं शताब्दीमा दक्षिण कर्नाट प्रदेशबाट उत्तराखण्ड विजय गर्दै आउँदा महासामन्त नान्यदेवले काठमाडौं कब्जा गर्न नसकेपछि तल बारा जिल्लाको सिम्रौनगढ जङ्गलमा अनौठो किल्ला बनाएर राजधानी कायम गरे ।

उनको त्यो राज्यले पहाडमा महाभारत शृंखलाको धेरै भाग ओगटेको थियो । त्यसबेला नेपाल दुन पश्चिम सिंजाका खस मल्लको र तराईको यी डोय राजाको दुहुनु गाई जस्तो भएको थियो । उनीहरू काठमाडौंमा बराबर आक्रमण गरेर केही धन बटुलेर लैजाने गर्थे ।

सं. १३८१ मा गयासुद्दिन तुगलकको आक्रमणबाट सिम्रौनगढ ध्वस्त भयो । राजा हरिसिंहदेव सपरिवार सिन्धुलीको तीन पाटन किल्लामा आएर बसे । वर्ष दिन जति बाँचेर राजा त्यहीं बिते ।

रानी देवलदेवी छोराका साथ माइती भक्तपुर आएर बसिन् । यहींकै राजकुमारीसँग छोराको सम्बन्ध बाँधिदिइन् । पछि तराईतिरैबाट डोला ल्याएर जयस्थिति मल्लसँग आफ्नी नातिनीको जोडी बाँधिदिइन् ।

पलाञ्चोक, बनेपा, पनौतीमा बर्द्धनवंशी महामात्यहरूको रजगज थियो । तिनीहरू भोट बेपारले पनि सम्पन्न थिए । त्यसैले जयसिंह रामबर्द्धनले भक्तपुरको उत्तरबाट आएर काठमाडौं पनि आफ्नो अधीन पारेर भाइ मदनरामलाई शासक नियुक्त गरे ।

पछि यक्ष मल्लले विजय गर्दै बर्द्धनहरूलाई आफ्नो वशमा ल्याए । उनले चर्चेजति भूभाग पछि राज्य छुट्याउँदा दूधकोशीसम्मको पहाडी भाग काठमाडौंकै रह्यो र प्रताप मल्लले रावा डुम्रेमा बिर्ता दिन सके ।

यो बिर्ताको लगत उतार्दा बिर्ता उपर्युक्त ब्राह्मणकै हुन् भनी साक्षी बस्ने सँधियार पञ्च (पाँच) राईहरू छन् । बिर्ताको उतार–

१ रावाखोला गजाधर घिमिर्‍यालाई प्रताप मल्लले कुश दियाको कोल्ह्या खेतका किला, पुराना खाघँका मुखको कुहलिल ... पुव दुभ्याखोलादेखि पश्चिम रावाखोला उत्तर दुभ्या घर्‍याडिका किला चिलाउन्याका रुखको लुहकिल ह (सा) ध देखि पूर्व दुभ्याखोलादेखि पश्चिम दुभ्याटारका पुछारदेखि उत्तर रिजालका साधदेखि दखिन येति किलाभित्रको ...

२ आगे डुमर्‍याका अम्बलमध्ये प्रताप मल्लले दसरथ घिमिर्‍यालाई कुशविर्तावितलप दियाको हंचुर खेतको सिमाना जुक्या खोलादेखि पूर्व राइसिंग्या खोला कुलबाँधदेखि पश्चिम रावा खोलादेखि दखिन खेतमाथिको साजको रुख डिहिमाथिको पहरो नाक्या डाँडा जुडिका पुछारको लुहूकिलदेखि उत्तर एतिभित्रको खेत १० ।७ रिठाबोटया घडयाडिको सिमना. खावा काटयाको खोल्सो पहरादेखि पश्चिम जामुनाको रुख कान्ल्हो लुहुकिलदेखि दखिन डाँडा बाटाको लुहुकिल चिलाउन्याका रुखदेखि उत्तर निगाँल्या खरक १ पशुपति घिमिर्‍या .

३ आगे डुम्रयाका अम्बलमध्ये प्रताप मल्लले संकर भडारिलाई कुशविर्ता दियाको माक्या खेतको सिमाना चौतारामनिको मुलबाटाका लुहुकिलदेखि पूर्व बचर्‍याखोलादेखि पश्चिम रावाखोलादेखि उत्तर कमेर्‍यापानि खेतमाथिका २ टारका बिचको काँल्हो ठूलो सालको रुख लुहुकिलदेखि दखिन एति ४ किलाभित्रको खेत ४०० .

४ आगे प्रताप मल्लले संकर भडारिलाई कपिलासपुर घर्‍यारी दियाको साध जाया संधियारको तपसिल उगेप राई –१ विराटेकि राई –१ प्रितिबल राई –१ जनासिं राई –१ अंबर्‍या राई –१ एति पाँचथर्‍या किरातिको जिमि हो . हो भन्या पनि होइन भन्या पनि इन्का सिर दिञ्यू. ईनैको सहि मान्याको छ–

प्रतिकृया दिनुहोस