समाचारशुक्रबार, १४ बैशाख , २०७५

मर्दीमा मनपरी

युवराज श्रेष्ठ

मर्दी हिमाल पदमार्गको अनुमति दिएर राजस्व असुलिरहेको एक्यापले न पर्यटकको सुरक्षामा ध्यान दिएको छ, न जैविक विविधता संरक्षणमै।

मर्दी हिमाल पदयात्राको अपर भ्यू प्वाइन्टमा नेपाली तथा विदेशी पर्यटक । तस्वीरहरु : युवराज श्रेष्ठ

‘पर्यटक हराएको सूचना’– कास्कीस्थित माछापुच्छ्रे गाउँपालिकाको अन्नपूर्ण क्षेत्रमा पर्ने मर्दी हिमाल पदमार्गका सबैजसो होटलमा यस्तो सूचना टाँसिएको छ ।

सूचनाका अनुसार, ८ फागुनदेखि मर्दी आधार शिविर (४५०० मी.) आसपासबाट हराइरहेका डच नागरिक ४९ वर्षीय कोर्री भन् भेग्गेल अझै भेटिएका छैनन् । उनीबारे जानकारी दिने जो–कोहीलाई रु.५० हजार पुरस्कार दिने घोषणा पनि गरिएको छ ।

सन् २०११ देखि संचालनमा आएको मर्दी हिमाल ट्रेकमा पर्यटक हराएको यो पहिलो घटना भने होइन ।

गत माघको अन्तिम साता पदयात्राकै क्रममा पितम देउरालीको भीरबाट खसेर बेपत्ता भएकी पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत काठमाडौंकी विपना उप्रेती (२१) को अहिलेसम्म पत्तो लागेको छैन ।

यस्तै ३ कात्तिकमा मर्दी आधार शिविरबाटै हराएका इजरायलका अमित यार्चम्यान (४५) पनि अहिलेसम्म बेपत्ता छन् ।

पोखरादेखि छोटो दूरीको यो पदमार्ग जति साहसिक र रोमाञ्चक छ, बाटो पहिल्याउन भने उत्तिकै मुश्किल । बाटो देखाउने कुनै साइनबोर्ड वा संकेत पनि देखिंदैन । बाटो पनि सजिलो छैन ।

सिदिङका पर्यटन व्यवसायी सुदीप गौतम भन्छन्, “गर्नुपर्ने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले हो तर, जति भने पनि एक्यापले सुनेन ।”

पदमार्गमा पर्ने बादलडाँडादेखि माथि आधार शिविरसम्म छङ्गाछुर भीरको यात्रा गर्नुपर्छ । बाटो देखाउने मात्र होइन, पहिरो हटाउने काममा पनि स्थानीय व्यवसायी नै खटिने गरेका छन् । एक्यापको यही बेवास्ताकै कारण, मर्दी हिमाल पदयात्रामा जाने पर्यटकहरू दुर्घटना परेका घटना बढिरहेका छन् ।

मर्दी हिमाल पदयात्रामा पर्ने ‘लो क्याम्प’ मा निर्माणाधीन नयाँ होटल ।

खाने–बस्नेकै चिन्ता
२३ चैतमा मर्दी हिमाल पदयात्रामा निस्केका चार डच पर्यटक फरेष्ट क्याम्पमै बिरामी परे । खाना र आवासको राम्रो प्रबन्ध नहुँदा उनीहरूलाई झाडापखाला लागेको थियो । धन्न, गाइडले बोकेको औषधिले जसोतसो गन्तव्यमा पुगे ।

पोखरास्थित इथिकल ट्रेकिङ नेपालका गाइड दिलीप आचार्य मर्दी पदमार्गमा पर्यटकको अनुपातमा होटलहरू नै नभएको बताउँछन् । उनका अनुसार, पदमार्गको हाइक्याम्पमा जम्माजम्मी १०० जना पर्यटकसम्म अट्ने होटल छन् । तर, सिजनमा ४०० बढी पर्यटक आउने गरेका छन् ।

“यतिका धेरै पर्यटकलाई कहाँ राख्ने, के खुवाउने ? बडो समस्या परिरहेको छ”, हाइक्याम्पस्थित होटल ट्रेकर्स प्याराडाइजका संचालक रवि गौतम भन्छन् ।

पदमार्गमा पर्याप्त होटल नहुनुमा पनि एक्याप नै जिम्मेवार छ । पाँच महीनाअघि लो क्याम्प (२९७० मी.) मा ‘लो क्याम्प गेष्ट हाउस’ सञ्चालन गरिरहेका अमृत तामाङले अहिले एक्याप मातहतकै न्यायिक शाखाको मुद्दा खेपिरहेका छन् ।

“सबै नियम पालना गरेर होटल चलाउँछु भनेर एक्यापमा निवेदन दिएँ, रु.४० लाख खर्चेर गेष्ट हाउस बनाएँ” तामाङ भन्छन्, “तर, अहिले विनास्वीकृति होटल खोलेको भन्दै मुद्दा चलाएको छ ।”

लो क्याम्प गेष्ट हाउस मात्र होइन, मर्दी हिमाल पदमार्गका १० वटा होटल र एउटा चिया पसल संचालकले यस्तै प्रकृतिका मुद्दा खेपिरहेका छन् । बयानका लागि एक्यापले बारम्बार बोलाउने गरे पनि एक वर्ष बितिसक्दा पनि फैसला दिएको छैन ।

“एक्यापले अल्झाइरहेको छ”, तामाङ भन्छन् । हाइक्याम्पको पुरानो होटल ट्रेकर्स प्याराडाइजका गौतम पनि एक्यापले होटलमा कोठा थप्न समेत नदिएको बताउँछन् । भन्छन्, “पर्यटक बढेको बढ्यै छन्, कोठा थप्न पाऊँ भन्दा एक्यापले स्वीकृति दिंदैन, पर्यटकलाई ठूलो चिन्ता बासकै हुने गरेको छ ।”

एक्याप, पोखराका प्रमुख विनोद बस्नेत भने सार्वजनिक जग्गामा होटल खोल्न दिने अधिकार आफूहरूलाई नभएको बताउँछन् । “यो त मन्त्रिपरिषद्ले मात्र गर्न सक्छ, हामीले त पुराना होटलहरूलाई सार्वजनिक जग्गा उपयोग बापतको दस्तुर मात्र उठाउने गरेका छौं ।”

एक्यापले गठन गर्ने पर्यटन उपसमितिले मातहतका सबै होटललाई एउटै मेनु र मूल्य निर्धारण गरिदिएको छ । जसबाट, प्रतिस्पर्धामा रोक लगाएको व्यवसायीको गुनासो छ । “पर्यटकलाई बासी खुवाउने र ताजा खुवाउने दुवैले एउटै मूल्य लिइरहेका छन्”, लो क्याम्प गेष्ट हाउसका तामाङ भन्छन् ।

डढेलोले सखाप

मर्दी पदमार्गअन्तर्गतको हाइक्याम्पमाथि लागेको डढेलो ।

मर्दी हिमाल पदमार्गमा पर्ने बादलडाँडा (३५०० मी.) माथि खर्क छ । उच्च पहाडी क्षेत्रमा घरपालुवा र जंगली जनावरको चरिचरन, यो खर्कलाई अहिले डढेलोले खाएको छ । बादलडाँडादेखि मर्दी बेसक्याम्पसम्मै डढेलो लागेको कुरा एक्यापका अधिकारीहरूलाई पत्तै छैन ।

वातावरणविद् राजु आचार्य डढेलोका कारण भाग्ने र डढेलोपछि हरियो घाँस देखेर आउने जनावरलाई शिकार गर्न सजिलो हुने भएकाले मानिसले नै डढेलो लगाउने गरेको बताउँछन् ।

“हिमाली खर्कको डढेलोले जडीबुटीदेखि जीवजन्तु सबैलाई नष्ट गर्छ, आचार्य भन्छन्, “यसले पारिस्थितिकीय प्रणालीलाई नै असर पार्छ ।” 

संरक्षित क्षेत्रको यति ठूलो क्षेत्रमा लागेको डढेलोबारे एक्यापलाई भने पत्तो छैन । “डढेलोबारे हामीलाई कसैले जानकारी दिएको छैन”, एक्यापका प्रमुख विनोद बस्नेत बताउँछन् ।

प्रतिकृया दिनुहोस