कला/साहित्यसोमवार, आश्विन २४, २०७३

लाहुरेको दशैं

दिनकर नेपाल

- दिनकर नेपाल
भारतीय गोर्खाहरूको यसपालाको दशैंलाई युद्धको बादलले अँध्यारो बनाइदिएको छ।
 
हामी सानो छँदा घरमा ५/६ महीना अघिदेखि नै 'यसपालिको दशैंमा बुबा आउनुहुन्छ कि हुन्न?' भन्ने छलफल चल्न थाल्थ्यो। बुबा भारतीय लाहुरे। अहिले जस्तो सञ्चार सजिलो थिएन। दुई/तीन महीनामा एउटा चिठी आउँथ्यो। 

बुबा आउँदा ल्याउने खेलौना र मीठा खानेकुराले लाहुर चिनाउँथे। कश्मीरमा हुँदा त्यहाँको स्याउ, ओखर र बदाम ल्याउनुहुन्थ्यो। उहाँले 'स्याउ त त्यहाँ गाईले पनि खाँदैन, यति धेरै हुन्छ' भन्दा हामी अचम्ममा पर्थ्यौं। कस्तो ठाउँ होला त्यो भन्ने लाग्थ्यो।

पछि देहरादुनको भारतीय सैन्य एकेडेमीमा तालीम सकिएपछि मेरो पहिलो पोस्टिङ कश्मीरकै गोर्खा पल्टनमा भयो। मैले कश्मीरमा लाहुरेहरूका अप्ठेरा बल्ल बुझें। म त अधिकृत भएर सेनामा छिरेको थिएँ, बुबाको के अवस्था थियो होला भनेर कल्पना मात्र गर्न सक्थें। मेरो लाहुरको दुःख बुझाइले पूर्णता पाउँदै गर्दा बुबाको अनौठो माया लागेर आयो। संयोग पनि कस्तो परेको थियो भने, जुन ठाउँमा बुबाको पल्टन थियो, त्यही ठाउँमा मेरो पहिलो पोस्टिङ भयो– उरीमा।

त्यो त्यही ठाउँ हो, जहाँ यही २ असोजमा आक्रमण भयो। आक्रमण भएको १२ इन्फ्यान्ट्री ब्रिगेडको प्रशासनिक मुख्यालय नजिकै मेरो पल्टन थियो। त्यही ग्राउन्ड, जहाँ लगाइएका टेण्टहरूमा १७ जना सिपाही मारिए। त्यहाँ हामीले परेड गरेका, क्रिकेट पनि खेलेका थियौं। धन्न त्यति बेला सिज फायर थियो, स्थिति यति तातेको थिएन!

त्यहाँबाट १०/१२ किलोमीटर परको भारत–पाकिस्तान 'लाइन अफ कन्ट्रोल' नजिकै मैले कमान्ड गरेको कम्पनी पोस्ट थियो। लाइन अफ कन्ट्रोल भन्दा चार/पाँच सय मीटर वर भारतले सेन्सरसहितको काँडे तारबार लगाएको छ। फरवार्ड पोस्टहरू भने त्यो बारभन्दा अगाडि छन्, लाइन अफ कन्ट्रोलमै टाँसिएका।

मेरो कम्पनीको एउटा पोस्ट र पाकिस्तानको पोस्टबीचको दूरी मुश्किलले २५ मीटर थियो। त्यो पोस्टको कमान्डर क्याप्टेन हुसेन भन्ने लाहोरको अग्लो र गोरो मान्छे थियो। कहिलेकाहीं बिहानै म निरीक्षणमा पुगेको बेला ऊ पनि देखिन्थ्यो। हामी 'गुड मर्निङ' भन्थ्यौं, एक–अर्कालाई। नजिकै गएर कुरा पनि गर्थ्यौं। उनीहरूको इन्टेलिजेन्सबाट थाहा पाएर होला, एक पटक उसले मलाई 'आप तो नेपाल के है क्याप्टेन साब, क्यों आए हैं जनाब यहाँ?' भनेर सोध्यो।

“जनाब, सही कहा आपने। हुँ तो मैं नेपालका, पर अभी इण्डियन आर्मीका क्याप्टेन हुँ। आप जो पुछ रहे हैं, उसका जवाब मै लब्जों में तो नहीं दे सकता। पर वक्त आया तो दूसरे जरियों से जरूर दे दूँगा!” मेरो उत्तर थियो। नयाँ रिकुटेको रगत त्यसै उम्लेको हुन्छ, अझ् उसले त्यस्तो ठाउँमा छोएपछि म के छाड्थें?

जे होस्, अहिले फेरि भारत र पाकिस्तानबीच उत्पन्न तनावले नेपालको सामु समस्या ल्याइदिएको छ। नेपाल सार्कको अध्यक्ष राष्ट्र भएको बेला इस्लामावादमा हुने शिखर सम्मेलन स्थगित नै हुन पुगेको छ। भारत–पाकिस्तान तनावमा हामी तटस्थ बस्नुपर्छ भन्ने विदेश नीति सैद्धान्तिक हिसाबले ठीकै होला, तर व्यावहारिक भएन। भारतीय सेनामा भएका हजारौं नेपाली पाकिस्तान–भारत युद्धमा तटस्थ हुन सक्छन्? आफ्नै हजारौं नागरिकलाई प्रत्यक्ष असर पर्ने मुद्दामा हामी बकुल्ला बनेर बस्न सकौंला? त्यसो गर्न सुहाउला?

यस्तो गम्भीर विषयमा सर्वपक्षीय मतैक्यताबाट राष्ट्रले निर्णय गर्ला। यहाँ म एउटा दशैंसँग जोडिएको लाहुरे सम्झ्ना सुनाउँछु।

एउटा कमान्डो टोली लिएर मैले लगभग तीन महीना अरुणाचल प्रदेशको जङ्गलमा बस्नुपरेको थियो, तालीम र अरू कामका लागि। म गोर्खा रेजिमेन्टमा भएको हुनाले टोलीमा सबै नेपाली थिए। हामी बसेको ठाउँमा फोन चल्थेन, इन्टरनेट त हुने कुरै भएन। त्यही बीचमा दशैं परेको रहेछ, तर मैले ख्याल नै गरेनछु।

एकबिहान टोलीका उप–कमान्डरले 'न्याभिगेशन अभ्यास' को रुट तयार पारेर मलाई देखाउन ल्याए। सधैं ३०–४० किलोमीटरको बाटो हुन्थ्यो एकरातको लागि। बाटोमा गाउँबस्ती पारिंदैनथ्यो। यसपालि भने बाटो पनि लामो र एक/दुईवटा गाउँ पनि परेको म्यापले देखायो। मलाई अचम्म लाग्यो, तर केही नबोली ओके भनिदिएँ।

भोलिपल्ट दिउँसो पो कुरो खुल्यो, त्यो अभ्यासको बहानामा चार जनाको टोली त दशैंको लागि बाख्रो खोज्न पठाएका रहेछन्। सबै फर्केर नुहाइधुवाइ गरिसक्दा पनि एउटा टोली गायब छ भनेर म चिन्तित भइरहेको बेला बाख्राको म्याँ–म्याँले ध्यान खिच्यो। टोलीले मज्जाको कालो पाठो फेला पारेछ।

मलाई झुक्याएछन् केटाहरूले भनेर अलि–अलि रीस त उठ्यो, तर दशैं मज्जाले मनाइयो। अहिले भने लाहुरेहरूको दशैंलाई लडाइँको तनावले बिथोल्ने नै भयो होला!

प्रतिकृया दिनुहोस