ब्लगसोमवार, बैशाख १०, २०७५

एक परोपकारी, तीन मूर्ति

कनकमणि दीक्षित

भारतबाट नेपाल उक्लेकी रानी जगदम्बाको ललितपुरमा यत्तिका मूर्ति कसरी ठड्याइन पुगे ?

पुल्चोकस्थित लबिम मलमा हालै स्थापित धर्मराज शाक्यद्वारा निर्मित मूर्ति । तस्वीरहरुः बिक्रम राई

ललितपुरको पुल्चोकमा एक किलोमिटरको घेराभित्र एक महिलाका तीन–तीन वटा मूर्ति फेला पर्दछन् । शायद नेपालमा यस्तो अन्यत्र कतै भएको छैन । यी अर्ध कदका तीनवटै मूर्ति रानी जगदम्बाकुमारी देवी राणाका हुन् ।

रानी जगदम्बा लखनऊ नजिकैको एउटा रजौटा खानदानकी विदुषी थिइन् । उनको विवाह महाराज चन्द्रशमशेरका कान्छा छोरा मदनशमशेरसँग भएपछि उनी भीमफेदी उकालो हुँदै ‘विरानो देश’ नेपाल खाल्डो भित्रिइन् ।

क्रिकेट राम्ररी खेल्ने, मिजासिला तर मदिरा सेवन अलि बढी गर्ने मदनशमशेरको अल्पायुमै मृत्यु भयो । युगल तस्वीर हेर्दा एकदमै रहरलाग्दो ‘आधुनिक’ पाराको देखिने भए पनि मदनशमशेर र रानी जगदम्बाको जोडी जमेको थिएन र सन्तान पनि भएनन् ।

रानी जगदम्बा।

आखिरमा १९७५ सालमा गोण्डा शहरमा जन्मेकी रानी जगदम्बाको २०४५ सालमा पाटन श्रीदरबार टोलमा निधन भयो ।

मदनशमशेरको निधनपश्चात् रानी जगदम्बालाई नेपाली सिकाउन खटिएका मेरा हजुरबुबा केदारमणि तथा हजुरमुवा विद्यादेवीलेउनका अभिभावक र सल्लाहकारको भूमिका निभाउन पुगे । त्यसैताकादेखि गैह्रीधाराबाट पुल्चोक सरेको केदारमणि परिवारको ‘फलिफाप’ पनि भएको हो ।

रानी जगदम्बाको दरबारिया कार्यमा सघाउन मेरा बुबा कमल दीक्षितलाई कलकत्तामा एमए तहको पढाइ छोडेर आउन अह्राइयो । त्यतिबेलादेखि नै रानी जगदम्बा, केदारमणि, विद्यादेवी तथा कमलबीच दरबारको सम्पत्तिबाट परोपकारी या समाजकेन्द्रित काम गर्ने एक खालको सहकार्य हुन गयो ।

मदन स्मारक माविमा श्रीमान् मदनशमशेरका साथ युवावस्थामा रानी जगदम्बा ।

यसै सन्दर्भमा मदन पुरस्कार गुठी र मदन पुरस्कार पुस्तकालयदेखि रानीपोखरीबीच रहेको बालगोपालेश्वर मन्दिर (नामको बारेमा ऐतिहासिक बहस कायमै छ) को गजुरमा सुनको जलप लगाउने, केदारनाथ, बनारस र रामेश्वरम्मा नेपाली धर्मशाला निर्माण गर्ने, काभ्रेको कर्केटारका दनुवार समुदायलाई जग्गा फुक्का गर्नेदेखि तेह्रथुमको संक्रान्तिमा पाइप बिछ्याएर पानीको धारा पर्‍याउनेसम्मका काम भए ।

ललितपुरको श्रीदरबार वरिपरिका धेरै घरजग्गा केदारमणि परिवारलगायत आठपहरिया, पुजारी, डिट्ठा, धोवी आदिलाई बाँड्ने काम भयो । यसै क्रममा कमल दीक्षितको आग्रहमा केही ठूला टुक्रा जग्गा संस्थागत हस्तान्तरण भए ।

यीमध्ये श्रीमहल दरबार प्राङ्गण कृषि विश्वविद्यालय बनाइने शर्तमा प्रम बीपी कोइरालालाई हस्तान्तरण गरियो, जहाँ पछि स्थानीय विकास मन्त्रालय बस्यो । अहिले आएर यो ‘डोलिडार’ भन्ने सरकारी विभागको मातहतमा छ ।

साझा यातायात परिसर अगाडि ।

संस्थागत हस्तान्तरणको क्रममा श्रीमहलकै छेउका जग्गामध्ये १० रोपनी ४ आना पाटन कलेजलाई (हाल लबिम मलले लिजमा लिएको), २६ रोपनी ३ आना मदन स्मारक विद्यालयलाई र २१ रोपनी १० आना ३ दाम साझा यातायातलाई बाँडियो ।

रानी जगदम्बाको उदारताकै कारण शहरबीच यसरी ठूलो क्षेत्रफलको जग्गा सार्वजनिक प्रयोगमा आएका हुन् । यसैकारण पुल्चोक क्षेत्रमा एउटै दानवीर, परोपकारी रानी जगदम्बाका तीन–तीन मूर्ति उभिन पुगे ।

साझा यातायात अगाडि र मदन स्मारक स्कूलको मूर्ति अमर चित्रकारद्वारा सिर्जित हो भने लबिम मलमा रहेको मूर्ति धर्मराज शाक्यद्वारा निर्मित ।  

प्रतिकृया दिनुहोस