कला/साहित्यआइतवार, बैशाख ९, २०७५

समालोचनाका शास्त्रार्थी डा कुमारबहादुर जाेशीकाे सम्झना

हिमालखबर

राजीव सिंह

दुई पटक (२०५३ र २०५८) मिर्गौला प्रत्यारोपण गर्नुपरे पनि प्रा.डा. कुमारबहादुर जोशी लेखन, सम्पादन र प्रकाशनमा सक्रिय रहे । त्यसैको प्रतिफल थियो, कुमारबहादुर जोशीः संवाद र मन्तव्यमा (२०७०), चिन्तन र संस्मरण (२०७१) कृति । यसका साथै मिर्गौला रोगका विषयमा जानकारी दिने पुस्तक तथा ‘कुमार सरस्वती पुरस्कार गुठी’ स्थापना जोशीका जीवनका उत्तराद्र्धकै कर्म थिए ।

जोशीको पहिलो कृति संचयन निबन्ध संग्रह (२०२५) मा जन्ममिति १९९८ पुस उल्लेख भए पनि कुमारबहादुर जोशीः संवाद र मन्तव्य पुस्तकमा मंसीर २३ गते चाबहिलमा भएको उल्लेख छ ।

जोशी जनता महाविद्यालय (बिजौरी, दाङ), नेपाल यूथ कलेज, त्रिचन्द्र क्याम्पस, जन प्रशासन क्याम्पस तथा त्रिवि नेपाली केन्द्रीय विभागमा करीब ३७ वर्ष प्राध्यापन पेशामा संलग्न रहे । यसै अवधिमा बनारसस्थित बनारस हिन्दू विश्वविद्यालयमा पनि पाँच वर्ष अतिथि प्राध्यापक बने ।

२०२६ सालमा सिंहसार्थवाह (जातक कथामा आधारित खण्डकाव्य) प्रकाशित गरेका जोशी महाकवि लक्ष्मीप्रसाद देवकोटाका कृतिहरुका आधिकारिक जानकार थिए । महाकवि देवकोटा र उनका महाकाव्य (२०३१), देवकोटाका कविता यात्राको विश्लेषण र मूल्यांकन (२०४७), देवकोटाका कविताकृतिको कालक्रमिक विवेचना (२०४८), देवकोटाका कविताकृतिको प्रकृति (२०५३), देवकोटाका काव्यमान्यता (२०६१), महाकवि देवकोटाः अनेकका आँखामा (२०६६) जस्ता पुस्तक यसको प्रमाण हुन् । जोशीले देवकोटाकै कृति विषयमा विद्यावारिधि पनि गरे ।

तुलसीहरि कोइराला (२०७०) को लेखमा समालोचनाका विषयमा जोशीले आफूलाई यसरी प्रष्ट्याएका छन्, “सिर्जनामा भएका कमी–कमजोरीहरू पनि केलाएर उम्दा बनाउनुपर्छ समालोचनाले । सिर्जनामा पनि समालोचना त हुन्छ अर्थात् जगत्जीवनको समीक्षा सिर्जना हो भने त्यो सिर्जनालाई अझ माझ्ने हो समालोचनाले ।”

२०७० सालमा रामचन्द्र घिमिरेसँगको अन्तर्वार्तामा जोशीले आफूलाई मन परेको पुस्तकका रूपमा संचयन, चिन्तन र संस्मरण, महाकवि देवकोटाः अनेकका आँखामा, महाकवि देवकोटा र उनका महाकाव्य तथा देवकोटा कविताकृतिको कालक्रमिक विवेचना भनेका छन् ।

तथापि जोशीका करीब तीन दर्जन पुस्तक नेपाली साहित्य, समालोचना र इतिहासका लागि उत्तिकै गहकिला अध्ययन सामग्रीका रूपमा सदा रहनेछन् । मिर्गौला प्रत्यारोपण गर्दाको दुःखानुभूतिको चर्चा समेटिएको दोस्रो नवजीवन पुस्तक उस्तै समस्या भोगिरहेका र तिनका परिवारलाई उपयोगी बनेको छ ।

नेपाली, नेवारी र संस्कृत तीन भाषामा लेख्न सक्ने जोशीको पहिलो विवाह २०२२ मा नारी विद्यापीठ डिल्लीबजारमा संस्कृत प्रथमा अध्ययन गरिरहेकी सहपाठी कोशला प्रधानसँग भयो । २०५० सालमा क्यान्सरका कारण प्रधानको निधन भएपछि उनले सरस्वतीसँग दोस्रो विवाह गरे ।

पत्नीका रुपमा सरस्वती ‘सरस्वती’कै रुपमा देखिइन् । जोशीको स्वास्थ्यसँगै; लेखन, संकलन र प्रकाशनमा उनको सक्रियता लोभलाग्दो थियो । त्यसैले पनि जीवनको अन्त्यसम्म पनि जोशीले आफूलाई सिर्जनशील राखिरहन सके । र, समाजले विद्वान् डा. कुमारबहादुर जोशीसँग लामो समयसम्म सङ्गत गर्ने मौका पाइरह्यो ।

जोशीका कृतिहरू
संचयन (२०२५), सिंहसार्थवाह (२०२६), चार अमर कविका पाँच काव्यकृति (२०२९), महाकवि देवकोटा र उनका महाकाव्य (२०३१), विकीर्ण चिन्तन (२०३३), पाश्चात्य साहित्यका प्रमुखवाद (२०३८), कुराकानी (२०४१), एक व्यक्तित्वः अनेक दृष्टि (२०४१), कविता चर्चा (२०४१), देवकोटाका कविता यात्राको विश्लेषण र मूल्यांकन (२०४७), देवकोटाका कविताकृतिको कालक्रमिक विवेचना (२०४८), देवकोटाका कविताकृतिको प्रकृति (२०५३), केही कृति र कृतिकार (२०५४), कवि कोइराला र उनको ‘गङ्गा प्रवास’ (२०५५), मिर्गौला रोग र यसको उपचार (२०५५), सिर्जना र विवेचना (२०५८), दोस्रो नवजीवन (२०५९), देवकोटाका काव्यमान्यता (२०६१), महाकवि देवकोटाः अनेकका आँखामा (२०६६), केही साहित्यिक कृति (२०६७), कृति परिक्रमा (२०६७), कुराकानी (२०६७), चिन्तन र संस्मरण (२०६९), कुमारबहादुर जोशीः संवाद र मन्तव्यमा (२०७०) ।

प्रतिकृया दिनुहोस