कांग्रेस र माओवादीसँगको छलफल सकारात्मकः उपेन्द्र यादव
नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेशी मोर्चाका नेताहरुबीच तीन बुँदे सहमति कार्यान्वयन बारे आज सकारात्मक छलफल भएको मोर्चाले जनाएको छ ।
सिंहदरबारमा भएको छलफलमा सरकार गठनअघि माओवादी, नेपाली कांग्रेस र मधेशी मोर्चा बीच भएको तीन बुँदे सहमति कार्यान्वयन बारे छलफल भएको थियो ।
“मधेश आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता, बन्दी रिहाई, मृतकलाई शहीद घोषणा, मृतकका परिवारलाई क्षतिपूर्ति र त्यसबेला भएका हिंसा–हत्या र आगजनी बारे छानबीन गर्ने विषयमा राम्रो छलफल भएको छ,” संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भने ।
उनले सत्तारुढ दलहरुसँग छलफलको राम्रो शुरुवात भएको र चाँडै कार्यान्वयन हुने आफूलाई विश्वास रहेको बताए ।
“तर, हाम्रो मुख्य मुद्दा राजनीतिक मागको सम्बोधन नै हो, यस विषयमा पनि चाँडै अगाडि बढ्ने सहमति भएको छ,” यादवले भने ।