रिपोर्टशनिवार, बैशाख ८, २०७५

रुपन्देहीमा अपराधः भारत ‘कनेक्सन’ले झन् खतरनाक

मुकेश पोखरेल

प्रहरी ‘इन्काउन्टर’मा मारिएका मनोज पुनको अपराधमा एमाले र माओवादीका नेतादेखि भारतीय गुप्तचरसम्म सहयोगी बनेका थिए।

रुपन्देहीमा अपराध–राज चलाएका मनोज पुनका सहयोगी माओवादी केन्द्रीय सदस्य लेखनाथ न्यौपाने पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग । तस्वीरहरुः दीपक ज्ञवाली 

५ वैशाख २०७५ मा इलाका प्रहरी कार्यालय बुटवलले जारी गरेको प्रेस नोटमा प्रहरी कारबाहीमा मारिएका मनोज पुनसँग जोडिएको एउटा नाम थियो– विट्टु भन्ने योगेन्द्र (जोगेन्द्र) सिंह ।

पुन र विट्टुलाई अपराधमा सघाएको आरोपमा पक्राउ परेका लेखनाथ न्यौपाने, हरि श्रेष्ठ, उत्तम आचार्य, तुलसी न्यौपाने र रोशन खड्कासँगै प्रहरीले सार्वजनिक गरेको विट्टुको नामले दुई वर्षयता रूपन्देहीमा भएका आपराधिक घटनामा बाहिरी ‘कनेक्सन’ उजागर गरेको छ ।

अहिलेसम्म नाम नसुनिएका जोगेन्द्र सिंहले मनोज पुनलाई भारतमा आश्रय दिएर नेपालमा अपराध गर्न सघाएका थिए । जोगेन्द्र भारतीय सुरक्षासँग सम्बन्धित गुप्तचर ब्यूरोका लागि काम गर्ने व्यक्ति भएको नाम उल्लेख नगर्ने शर्तमा एक प्रहरी अधिकारी भन्छन् ।

२०५० सालमा जोगेन्द्र सिंहका नाममा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएका उनी विभिन्न आवरणमा नेपाल बसेर भारतीय सुरक्षा संयन्त्रका लागि सूचना संकलन गर्ने गरेको प्रहरी स्रोतको दाबी छ ।

शिख धर्मावलम्बी उनी भैरहवामा मुस्लिम भएर बसेका थिए । पछिल्लो पटक रिक्सा व्यवसायीको आवरणमा देखिएका उनले २०७२ सालमा भैरहवा छाडेका थिए ।

सुनौली (भारत) का पत्रकार आलोक जोशीका अनुसार, जोगेन्द्रको खास घर गोवा हो । डेढ वर्षयता उसलाई नदेखेको जोशीले बताए । “आफूलाई फरक ढंगले चिनाएर मानिसलाई प्रभावमा पार्ने उसको खास खूबी थियो” जोशी भन्छन्, “उसको ‘कनेक्सन’ पनि ठूलै रहेको बुझिन्थ्यो ।”

९ फागुनमा देवदहमा सहयोगी सोम आलेसहित ‘इन्काउन्टर’मा मारिएका मनोज पुनको ल्यापटप र मोबाइल सेटबाट जोगेन्द्र उर्फ विट्टुबारे थाहा पाएको रूपन्देही प्रहरीले ‘अनुसन्धान भैरहेकाले’ थप जानकारी दिन चाहेन ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्याम ज्ञवाली मनोज पुनको सहयोगीका रूपमा काम गरेका बाँकी ७ जना पक्राउ परेपछि अनुसन्धानको पाटो सकिने बताउँछन् ।

रूपन्देहीमा मनोज पुनको अपराध चम्किनुमा जोगेन्द्र सिंहको ठूलो भूमिका थियो । मनोजले नेपालका व्यापारी र प्रहरी अधिकृतहरूलाई समेत आफूलाई कसैले केही गर्न नसक्ने भन्दै धम्क्याउनुको पछाडि भारतमा विट्टुमार्फत उनलाई प्राप्त सहयोगकै आडभरोसा थियो ।

विट्टुले मनोजलाई कतिपय अवस्थामा भारतीय सुरक्षा एजेन्सीको ‘कभर’ समेत सम्भव बनाउँथे । मनोजलाई समात्न भारत गएको नेपाल प्रहरीको टोली दुई पटक रित्तोहात फर्किएको थियो ।

अपराधको आश्चर्यजनक आकार
देशको राजधानी, आर्थिक क्रियाकलापको केन्द्र र जनसंख्या पनि बढी भएकोले अपराधका घटनामा काठमाडौं अगाडि मानिन्छ । काठमाडौंलाई पनि माथ गर्ने गरी रूपन्देहीमा हप्ता/महीना असुली भइरहेको तथ्य मनोज पुनको मरण र उनका राजनीतिक सहयोगीहरूको पक्राउपछि बाहिर आयो ।

उद्योगी–व्यापारीहरूले गुण्डाहरूलाई ठूलो रकम बुझइरहेको प्रहरीलाई पत्तै थिएन । रूपन्देहीका प्रहरी प्रमुख ज्ञवाली घर–जग्गा, गिट्टी–ढुंगालगायतका कारोबारीले राज्यलाई कर तिर्नुको सट्टा गुण्डालाई पैसा बुझाइरहेको बताउँछन् ।

मनोज पुन र उनको समूहले मात्र व्यापारी–व्यवसायीबाट रु.३० करोड भन्दा बढी रकम उठाएको प्रहरीको प्रारम्भिक अनुमान छ । हुन पनि, पछिल्लो दशकमा रूपन्देहीमा सबभन्दा बढी फस्टाएको व्यवसायमा पर्छ, खोलानाला र खानीको अवैध उत्खनन् ।

जिल्लामा अहिले ३२ वटा क्रसर उद्योग छन् । मनोज पुनले अवैध आर्थिक कारोबारमा संलग्नहरूलाई नै मुख्य निशाना बनाउने गरेका थिए । प्रहरीका अनुसार, उनले तयार गरेको ४०० जनाको सूचीमा ठेकेदार, जग्गा कारोबारी र क्रसर उद्योगी रहेको पाइएको छ ।

४ पुस २०७३ मा नेकपा (एमाले)को युवासंघ, रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यापछि मनोज पुनका अपराध कर्मले बढी चर्चा पायो । त्यसअघिदेखि नै खोलानालामा अवैध असुली, काठ तस्करीलगायतका धन्दामा संलग्न उनी टोले गुण्डामा सीमित थिए ।

तिवारीको हत्या गरेर चर्चामा आएपछि उनको अवैध असुली झ्न् फस्टायो । भारत बसेर नेपालमा अपराध हाँकेका उनलाई रूपन्देहीमा एमाले र माओवादी केन्द्रका नेता–कार्यकर्ताले सघाउँथे ।

तिनैमध्येका थिए– माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, जिल्ला नेता तुलसी न्यौपाने, एमाले युवासंघका केन्द्रीय सदस्य एवं रूपन्देही इन्चार्ज सुजु मल्ल र जिल्ला सदस्य उत्तम आचार्य ।

 युवासंघ केन्द्रीय सदस्य सुजु मल्ल प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलसँग (रातो टी–शर्टमा) । न्यौपाने (माथिको तस्वीर)र मल्ल अहिले प्रहरी हिरासतमा छन् ।

आवरणमा राजनीति
माओवादी केन्द्रका नेता लेखनाथ न्यौपाने शुरूदेखि नै पुनको अपराध कर्मसँग जोडिएका थिए । द्वन्द्वकालमा माओवादीले कब्जा गरेर मुसहर परिवारहरूलाई राखेको केरवानी टटेरास्थित गंगालक्ष्मी मल्लको जग्गा बेच्न लेखनाथ र तुलसी न्यौपानेले मनोजलाई परिचालन गरेका थिए ।

यो समूह काठ तस्करीमा पनि संलग्न थियो । २२ कात्तिक २०७२ मा देवदहका एमाले कार्यकर्ता नारायण बस्नेतलाई गोली हानेर मनोज भूमिगत भएपछि असुलीको व्यवस्थापन र जनशक्ति परिचालनको जिम्मा लेखनाथले लिएका थिए ।

त्यस्तै, युवा संघका केन्द्रीय सदस्य सुजु मल्ल, उत्तम आचार्य र सागर खड्काले रूपन्देहीमा ‘शिकार’ गर्नुपर्ने व्यवसायीहरूको विवरण मनोजलाई उपलब्ध गराउँथे ।

उनीहरूले तिनकै शब्दमा ‘शिकार’ कुन ठाउँमा, कस्तो कपडा लगाएर, के गरिरहेछ भन्ने विवरण दिएपछि मनोजले फोन गरेर पैसा नदिए ‘ठाउँको ठाउँ ढाल्ने’ धम्की दिन्थे ।

गत ५ भदौमा जिल्ला प्रहरी कार्यालयबाट बाहिरिंदै गर्दा मनोजले भारतीय नम्बरबाट फोन गरेर आमनेसामने कुरा गरेजस्तै धम्क्याएको मणिग्रामका व्यापारी मनिष अधिकारी बताउँछन् । मनोजले रु.३० लाख चन्दा माग्दै तारन्तार फोन गर्न थालेपछि लुकेको उनी बताउँछन् ।

हरेक घटनाको विवरणसहित मनोजले गर्ने टेलिफोनबाट प्रहरी समेत हैरान थियो । मनोजलाई यस्तो सूचना दिने काम सुजु मल्लको समूहले गथ्र्यो । तीमध्येका ७ जनालाई पक्राउ गर्न बाँकी रहेको रूपन्देही प्रहरी प्रमुख ज्ञवाली बताउँछन् ।

अपराधले राजनीतिक संरक्षण पाउँदा जे हुन्छ, रूपन्देहीमा त्यही भयो । ठेक्का हत्याउन भएका आपराधिक घटनालाई राजनीतिक आवरण दिंदा रूपन्देहीमा अपराध मौलायो ।

१३ चैत २०६५ सालमा ठेक्कापट्टाको भागबण्डा नमिल्दा बुटवलमा प्रचण्ड थैवको हत्या भएको थियो । त्यसलाई राजनीतिक रंग दिंदै एमालेले ६ दिनसम्म रूपन्देही ठप्प पार्‍यो ।

त्यसबाट माओवादीको भ्रातृ संगठन वाईसिएलको दवदवा त तोडियो, तर माओवादीको आवरणमा अवैध धन्दा गर्नेहरू एमालेको भ्रातृ संगठन यूथफोर्समा समाहित भए । अन्ततः त्यही कारण एमालेले रूपन्देही युवासंघका जिल्ला अध्यक्ष दुर्गा तिवारी र वसन्त पौडेललाई गुमाउनु पर्‍यो ।

प्रहरीका अनुसार, मनोज पुनको सहयोगी रहेका उत्तम आचार्य, सुजु मल्ललगायतलाई तिवारी र पौडेल हत्याको पूर्व जानकारी थियो ।

मनोज पुनको सहयोगी रहेको अभियोगमा पक्राउ परेका हरि श्रेष्ठ मदिरा उद्योगका मालिक हुन् । उनले मनोजलाई ‘कार्बाही गर्नुपर्ने’ उद्योगीहरूको सबै विवरण उपलब्ध गराउँथे ।

प्रहरी अनुसन्धान अनुसार उनले आफ्नै भतिज अर्जुन श्रेष्ठ र डिलाराम आचार्यको हत्या गर्न मनोज समूहलाई दुई लाख रुपैयाँ दिएका थिए ।

अप्ठेरोमा रूपन्देही एमाले
मनोज पुनका आपराधिक घटनामा एकपछि अर्को गर्दै आफ्ना कार्यकर्ताको संलग्नता देखिएपछि रूपन्देही एमाले अप्ठेरोमा परेको छ ।

गत १३—१९ फागुनको हिमाल मा प्रकाशित मनोज पुनसँग सम्बन्धित रिपोर्टलाई लिएर एमालेले सूचना चुहाएको भन्दै जिल्ला सदस्य सिद्धिचरण भट्टराईलाई कार्बाही गर्‍यो ।

तर, त्यसयता एमालेका एकपछि अर्का कार्यकर्ता पक्राउ परे । भट्टराई पहिल्यैबाट गुण्डागर्दी संरक्षणको विरुद्ध उभिंदै आएका थिए ।

पछिल्लो समयमा रूपन्देही एमालेभित्र एकले अर्कोलाई सिध्याउन पुनलाई प्रयोग गर्ने प्रतिस्पर्धा नै चलेको प्रहरी अनुसन्धानले देखाएको छ ।

मनोजले युवासंघका केन्द्रीय उपाध्यक्ष राजु गुरुङलाई पैसा नदिए छोरी अपहरण गर्ने धम्की दिन्थे । राजुका परिवारबारे छोरीको सबै सूचना मनोजलाई दिने काम उत्तम आचार्य र सुजु मल्लले गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । आचार्य, मल्ल र गुरुङ पार्टीभित्रका फरक गुटका हुन् । 
साथमा दीपक ज्ञवाली, बुटवलमा

 

 

प्रतिकृया दिनुहोस