टिप्पणीशनिवार, बैशाख ८, २०७५

अस्तव्यस्त वैदेशिक रोजगारी, मालामाल दलाल

हिमालखबर

सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन नसक्दा देशकै अर्थतन्त्रको मेरुदण्ड बनेको यो क्षेत्र धेरैको लागि शोषणको माध्यम बनिरहेको छ।

- फुर्पा तामाङ

रोजगारीका लागि मलेशिया जाँदै बाराका वजुल मिया (३६), त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा ।

२०४६ सालपछिको खुला परिवेशमा रसुवा जिल्लाबाट पहिलो पटक वैदेशिक रोजगारीमा जापान जाने सम्भवतः राम्चेका लालबहादुर तामाङ नै हुनुपर्छ । उनीपछि सानोभार्खुका फुर्पु पासाङ तामाङ, धुन्चेका विजय लामा, गोल्जोङका दावा गोम्बो तामाङलगायत दक्षिण कोरिया पुगे ।

त्यसपछि धुन्चेकै दावा लोप्साङ तामाङ सिंगापुर गए । फुर्पु पासाङ त कोरियाबाट फर्केर श्रीमती छेटेन तामाङलाई पनि लिएर ताइवान पसे । 

माओवादीले हिंसात्मक विद्रोहको दबाब बढाएसँगै २०५५/५६ सालतिर मलेशिया, साउदी अरबलगायतका देश जाने क्रम बढ्यो । माओवादीहरूले आफ्नो सेनामा लैजान खोज्ने र राज्यले शंकालु दृष्टिले हेर्ने भएपछि अन्य जिल्लाका जस्तै रसुवाका युवाले पनि वैदेशिक रोजगारमा जानुलाई सुरक्षित ठाने ।

२०६० पछि त रसुवाली युवक–युवतीका लागि इजरायल, कुवेत, इराक, किर्गिस्तान, जोर्डन, लेबनान, साइप्रस आदि मुलुक पनि मुख्य गन्तव्य हुनपुगे । उनीहरूलाई श्रम स्वीकृति भएका, नभएका ती देशहरूमा पुर्‍याउने अनेक किसिमका चोर बाटोहरू प्रयोग गरिए ।

करीब ५० हजार जनसंख्या भएको रसुवाका हरेक १० मध्ये ८ घरबाट वैदेशिक रोजगारमा गएको अनुमान छ ।

बाध्यताको सपना
वस्तु विनिमयको प्रचलन पूर्ण रूपमा हराएकोले पनि पुख्र्यौली पेशाहरू छाडेर नगद आम्दानीका नयाँ पेशा–व्यवसायको चलन बढेको छ । यसको लागि सबभन्दा सजिलो विकल्प वैदेशिक रोजगार हुन पुगेको छ ।

दक्ष, अर्धदक्ष, अदक्ष, निरक्षर सबैलाई सजिलै वैदेशिक रोजगारमा लैजान दलालहरू गाउँ–गाउँमा हाजिर छन् । दलालहरू जसलाई, जुनसुकै उपाय लगाएर पनि विदेश पठाएर कमिशन कुम्ल्याउन दत्तचित्त भएर लागेका छन् ।

जानेहरू पनि सही परामर्श र बाटोबारे उति ध्यान दिंदैनन् । विदेशमा नगद कमाउन भनेपछि नक्कली नागरिकता र राहदानी समेत प्रयोग गरेर उड्ने आँट गर्नुले यही बताउँछन् ।

गाउँबाट युवा बटुल्ने साना दलालहरूले कमिशन बापत केही रकम बुझ्ने र काठमाडौंका ठूला दलाल (म्यानपावर कम्पनी) हरूले विदेश उडाउने चाँजोपाँजो मिलाउँछन् ।

विदेशमा समस्या परे कहिलेकाहीं साना दलाल समातिन्छन्, ठूला दलालहरू कारबाहीमा परेको विरलै सुनिन्छ । यो समस्यामा सरकारको पहलकदमी सन्तोषजनक छैन ।

गाउँघरमा आम्दानीका स्रोत छैनन्, पढेकाले पनि जागिर पाउँदैनन् । अर्कोतिर बदलिएको जीवनशैली र उपभोगको तरिकाले नगद आम्दानीलाई निर्विकल्प बनाएको छ । यसरी वैदेशिक रोजगारी सन्तानलाई बोर्डिङ स्कूलमा पढाउने, मीठो खाने, राम्रो लाउने सपनासँग जोडिन पुगेको छ ।

यो स्वाभाविक सपनाको यात्रामा निस्कनेमध्ये धेरैले विदेशमा नसोचेको कष्ट पाउँछन्, कतिले मृत्युवरण गर्छन् । यही चैतमा चिलिमेकी सरिता तामाङको मृत्युको दुःखद् खबर सुन्नु पर्‍यो । सानोभार्खुका कामी तामाङ, नागुङका सोनाम तामाङहरू पनि बाकस बन्द भएर घर आए ।

अरब देशहरूमा घरेलु कामदार बन्न पुगेका महिलाहरूलाई घरमालिक र उसका नातेदारहरूले यौन शोषण गरेको, गर्भवती बनाएको, शारीरिक–मानसिक यातना दिएको खबर पनि सामान्य बन्न थालेका छन् ।

प्रभाव र परिवर्तन
वैदेशिक रोजगारीमा गएकाहरूको कमाइले परिवारहरूको खर्च टार्न त सजिलो भएको छ नै देशको अर्थतन्त्रमा समेत टेवा पुगेको छ । सन्तानलाई शिक्षा, रोग लाग्दा उपचार र चाडबाडको बेला साहूको मुख ताक्नु नपर्ने भएको छ । राम्रो लाउन र मीठो खान सहज भएको छ ।

विदेशबाट फर्केपछि नयाँ घर बनाउने र घर बनाउन नसक्नेहरूले पनि घर–आँगनहरू सफासुग्घर राखेको दृश्य बाक्लै देखिन थालेको छ । यसबाट व्यक्ति र परिवारको आत्मसम्मान बढेको छ ।

वैदेशिक रोजगारले गर्दा सम्बन्ध चिसिएर सम्बन्धविच्छेद गर्ने दम्पतीहरूको संख्या पनि बढेको छ । लामो समय विदेशमा कमाएको भएभरको कमाइ लिएर श्रीमती अर्कैसँग भागेका घटना दोहोरिन थालेका छन् ।

विदेशमा श्रीमतीले दुःखले कमाएको पैसा घरमा अर्की महिलासँग उडाउने श्रीमान्‌हरू पनि छन् । त्यस्तै, गाउँघरमा कुखुरा पाल्ने चलन छोडेर ब्रोइलरको मासु किनेर खाने, कोदो, मकै, जौको रक्सीको साटो बियर, ह्विस्की, रम आदिमा रम्ने चलन चलेको छ ।

खेतीपाती, पशुपालन छोडेर सबै थोक बजारमा किनेर खाने चलन नवसंस्कृतिकै रूपमा विकास भएको छ ।

विधिशास्त्रको न्याय सम्बन्धी सिद्धान्तले भन्छ– ‘आफ्ना नागरिकलाई शान्ति र सुरक्षा दिन नसक्ने राज्यले नागरिकबाट कर उठाउन पनि मिल्दैन ।’

हाम्रो सरकारले अहिले नै वैदेशिक रोजगारको उत्तम विकल्प दिन सक्तैन, तर देशको अर्थतन्त्रलाई समेत भरथेग गरेको यो क्षेत्रलाई सुरक्षित, मर्यादित र दलालको चंगुलबाट मुक्त गराउन सक्छ ।

(तामाङ अधिवक्ता हुन् ।)

प्रतिकृया दिनुहोस