माइतीघर मण्डलमा प्रदर्शन निषेधको निर्णय फिर्ता गरः डा गोविन्द केसी
सत्याग्रही डा गोविन्द केसीले माइतीघर मण्डलमा प्रदर्शन निषेध गर्ने सरकारको निर्णय तुरुन्तै फिर्ता लिन आग्रह गरेका छन् ।
डा केसी र नागरिक अभियन्ता डा जीवन क्षेत्रीले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा माइतीघर मण्डलबाट सडकको पेटी हुँदै वा छेउको लेन हुँदै बानेश्वरसम्म गरिने शान्तिपूर्ण प्रदर्शनले ट्राफिक व्यवस्थामा कुनै समस्या नआउने भन्दै सडक सफा राख्ने र ट्राफिक व्यवस्थापन सहज बनाउने ‘काइते तर्क’ दिएर नागरिकको विरोध प्रदर्शन गर्न पाउने अधिकार कुण्ठित गर्न नपाइने उल्लेख छ ।
देशभर विरोध प्रदर्शन गर्न निश्चित ठाउँ तोक्ने गृहमन्त्रालयको निर्देशन अनुसार केही दिनअघि काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौंका सात स्थानबाहेक अन्यत्र विरोध प्रदर्शन गर्न नपाइने निर्णय गरेको थियो ।
जिल्ला सुरक्षा समिति काठमाडौंको बैठकले १६ वैशाखपछि खुलामञ्च, तीनकुनेको चौर, भगवानपाउको भूइँखेल चौर, पेप्सीकोला खेलमैदान, सानौ गौचरण, लैनचौर समाज कल्याण परिषद अगाडिको खुला स्थान र सिफल चौरमा मात्र विरोध प्रदर्शन गर्न पाइने निर्णय गरेको हो ।
प्रेस विज्ञप्ति:
आदरणीय पत्रकार मित्रहरु
सरकारले हालै माइतीघर मण्डलामा प्रदर्शन निषेध गर्ने गरी लिएको निर्णयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
स्मरण रहोस्, हाम्रो संविधानले आम नागरिकलाई सार्वभौमसत्ता सम्पन्न बनाएको छ, कुनै अमुक नेता, पदाधिकारी वा कारिन्दालाई मात्रै हैन । निरंकुश र अभिव्यक्ति स्वतन्त्रताका विरोधी व्यवस्थाहरुलाई बारम्बार पराजित गरेर ठूलो मुल्य चुकाउँदै लोकतन्त्रसम्म आउन आम नागरिकले कति रगत र पसिना बगाउनुपरेको थियो भन्ने इतिहास सत्तामा पुग्नेहरुले बिर्से पनि हामीले बिर्सन सक्दैनौं ।
मानिसहरुले निरंकुश सत्ताका अगाडि ज्यान दिएर व्यवस्था परिवर्तन गरेको नयाँ तानाशाहहरु जन्मेर अभिव्यक्ति स्वतन्त्रता कुल्चिन पाऊन् भनेर थिएन । नयाँ तानाशाह नजन्मिउन् भन्नका लागि जुन सुकै शक्ति सत्तामा भए पनि सशक्त र रचनात्मक प्रतिपक्ष रहनुपर्छ । त्यो कर्तव्यबाट संसदको प्रतिपक्षमा रहने दलहरु विमुख भएको अवस्थामा समेत नागरिक समाज र मिडियाले त्यस्तो प्रतिपक्षको भुमिका अडिग भएर निभाउनुपर्छ । सत्तामा पुगेपछि असीमित शक्ति र शुन्य विरोधको अपेक्षा नौलो कुरा हैन तर त्यो बाटोले समाजलाई कुन दिशामा पुर्याउँछ भन्ने उदाहरण अहिले संसारभर उदाइरहेका तानाशाही व्यवस्थामा निसास्सिइरहेका समाज छन् ।
त्यसैले यस्तो कुटिल र प्रतिगामी निर्णयको औचित्य सडक सफा राख्ने वा ट्राफिक व्यवस्थापन सहज बनाउनेजस्ता काइते तर्क दिएर देखाइनु लाजमर्दो कुरा हो । माइतिघर मण्डला लगायतका ठाउँमा हुने प्रदर्शनहरुले त्यस खाले समस्या उब्जाएका हुन् भने तिनलाई समाधान गर्न हरतरहले सघाउन हामी तत्पर छौं । माइतिघर मण्डलाबाट सडक छेउको पेटी हुँदै वा छेउको लेन हुँदै बानेश्वरसम्म गरिने शान्तिपुर्ण प्रदर्शनले त्यस ठाउँको ट्राफिक व्यवस्थामा कुनै समस्या नल्याउने जगजाहेरै छ । कसैले प्रदर्शनमा आएर फोहर गर्छ भने उसलाई दण्डित गर्नु त्यो समस्याको समाधान हो, त्यो ठाउँमै निषेधाज्ञा जारी गर्नु नयाँ समस्या थप्नु हो ।
त्यसैले यदि राज्यको शीर्ष तहबाट निर्णय नभई तल्लो निकायले खेलाँचीपूर्वक त्यस्तो संवेदनशील निर्णय लिएको भए तत्काल त्यसलाई सच्याउने निर्देशन दिन नेपाल सरकारलाई आग्रह गर्दर्छौं । हैन र नयाँ सरकारले सोचविचार गरेरै आम नागरिकको आवाज बलजफ्ती थुन्न त्यस्तो निर्णय गराएको हो भने पनि विगतका सबै सानाठूला राजनीतिक परिवर्तनहरु (जसका बलमा आजको व्यवस्था र सत्ता सम्भव भएको हो)मा आम नागरिकले खेलेको भुमिका स्मरण गर्न आग्रह गर्दर्छौं । यदि सीमित नेता र तिनका वरिपरिका मानिसहरुका कारण मात्रै समाज र देश धानिएको तथा समाजलाई अघि बढाउनमा आम नागरिकको कुनै भुमिका नभएको, उनीहरुको आवाज सुनुवाइ हुनु नपर्ने र प्रदर्शन गरेको खण्डमा दमन गर्ने गुरुयोजनासहित निषेधित क्षेत्रको निर्णय लिइएको हो भने सार्वभौम नागरिकका रुपमा त्यस्ता निषेधाज्ञा तोड्नुलाई हामी आफ्नो कर्तव्य सम्झन्छौं ।
त्यसैले तत्काल माइतिघर मण्डलामा प्रदर्शन निषेध गर्ने निर्णय खारेज गर्न सम्बन्धित निकायहरुलाई पुनः आग्रह गर्दर्छौं । त्यसो नगरिएमा अभिव्यक्ति स्वतन्त्रतमाथि सरकारको हस्तक्षेपविरुद्ध तथा संविधान प्रदत्त अधिकार रक्षाका लागि निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने पनि जानकारी गराउँछौं । साथै सरकारको त्यस्तो निर्णयविरुद्ध हातेमालो गर्न नागरिक समाज लगायत समाजको लोकतान्त्रिक चरित्र बचाउन चाहने सबै नागरिकहरुलाई हातेमालो गर्न आग्रह गर्दर्छौं ।
डा गोविन्द केसी
त्रिवि शिक्षण अस्पताल महाराजगन्ज
डा जीवन क्षेत्री
सोलिडारिटी फर डा केसी अलायन्स
२०७५ वैशाख ७