खेलकुदशुक्रवार, बैशाख ७, २०७५

सागका केही खेल आयोजना गर्ने अवसर छ पोखरालाई

हिमालखबर

युवराज श्रेष्ठ, पोखरा

पूर्वाधार निर्माण चाँडै गर्ने हो भने सागका केही खेल आफ्नै भूमिमा आयोजना गर्ने अवसर पाएको पोखरासँग अन्तर्राष्ट्रिय रंगशाला बन्न सक्ने क्षमता छ।

गत माघमा आहा रारा गोल्डकप चलिरहेको बेला हेलिकप्टरबाट देखिएको दर्शकले भरिभराउ पोखरा रंगशाला । तस्वीरः सुदर्शन रञ्जित

“भारत र पाकिस्तानको झगडाले उनीहरू क्रिकेट खेल्न युएई जानुपरेको छ, अब पोखरा ल्याउने हो”, १३ फागुनमा आयोजित सार्वजनिक कार्यक्रममा प्रदेश–४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने । पोखरा र आसपास खेल पर्यटन विकास गर्न अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता आयोजना गर्न सकिने उनको भनाइ थियो । 

मुख्यमन्त्री गुरुङले भनेजस्तै पोखरामा भारत–पाकिस्तान क्रिकेट हुने कुरा अहिलेका लागि कुरैमा सीमित हुनसक्ला, तर पोखरामा अन्य अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता नै गर्न नसकिने भने होइन । एउटा अवसर, आगामी वर्ष नै पोखरामा अन्तर्राष्ट्रियस्तरका केही खेल हुँदैछन् ।

सन् २०१९ मार्च ९–१८ सम्म काठमाडौंमा हुने १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा समावेश २५ खेलमध्ये ६ वटा खेल पोखरामै संचालन हुँदैछन् । तर, यसका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पूर्वाधार निर्माणलाई तीव्रता दिएको जनाए पनि ढुक्क हुने अवस्था भने छैन ।

कारण, पोखरामा हुने भनिएको भलिबल, महिला फूटबल, आर्चरी, लन टेनिस, ट्रायथलन, ह्याण्डबललगायतका खेलमध्ये केहीको मात्र पूर्वाधार निर्माण थालिएको छ । निर्माणको गति अहिलेजस्तै सुस्त हुने हो भने, एक वर्षपछि हुने सागको आतिथ्यता गर्ने अवसर पोखराले गुमाउने निश्चित छ ।

कछुवा गति
रंगशालाको फूटबल मैदानमा २० हजार दर्शक क्षमताको नयाँ अपांग अनुकूल प्यारापिट बनाउन र खेलमैदान बनाउन रु.१ अर्ब २५ करोड विनियोजन गरिएको छ । नयाँ फूटबल मैदानमा कृत्रिम घाँस राखिनेछ । पुरानो प्यारापिट भत्काउन मात्र रु.४४ लाख खर्च भएको राखेपले जनाएको छ ।

राखेपले योजनासहित बजेट विनियोजन गरे पनि निर्माण शुरु भएकै छैन । गत कात्तिकमा निकालेको टेण्डरमा एउटै मात्र कम्पनीले आवेदन दिएकाले राखेप नयाँ टेण्डर आह्वान गर्ने तयारीमा छ । टेण्डर आह्वानदेखि सम्झौतासम्मको प्रक्रियाका लागि थप एक महीना लाग्ने देखिन्छ । त्यसपछि वर्षा शुरु हुन्छ ।

“वर्षा अघि नै काम शुरु गर्नुपर्ने बाध्यता छ” पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल भन्छन्, “नत्र सागसम्म पूर्वाधार बनिसक्न गाह्रो छ ।”

रंगशालामा बनाउने भनिएको स्वीमिङ पुलको चर्चा समेत छैन । लन टेनिसका पाँच वटा कोर्ट रहेको रंगशालामा सागका लागि चेन्जिङ रुमसहित थप दुई वटा कोर्ट बन्दैछ । कोर्ट बनाउन रु.३ करोड ५० लाखमा टेण्डर आह्वान भइसकेको छ ।

यस्तै, ३५०० दर्शक क्षमताको बहुउद्देश्यीय कभर्डहल निर्माण अन्तिम चरणमा पुगेको छ । स्क्वास खेलको भवन निर्माणाधीन छ भने आर्चरीका लागि मैदान सम्याइएको छ । ब्याडमिन्टनको कभर्डहल पनि बनिरहेको छ ।

राखेपले पोखरा रंगशालामा पैदल हिंड्ने गोरेटोदेखि दर्जन बढी खेलका पूर्वाधारको गुरुयोजना बनाएको छ । रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउन विस्तृत परियोजना रिपोर्ट (डीपीआर) बनाएर खेलकुद मन्त्रालय र राखेपमा समेत पेश गरेको छ । “मन्त्रालय र राखेपका पदाधिकारी पोखरा आएर चर्को भाषण गर्छन् । जब योजना प्रस्ताव पठाउँछौं, नसुने झैं गर्छन्”, पौडेल भन्छन् ।

त्यसो त पोखरालाई खेलकुदको ‘हब’ बनाउने भनेरै २०३४ सालमा सरकारले पोखरा रंगशाला बनाउन ४१७ रोपनी जग्गा अधिग्रहण गरेको थियो । जसमध्ये अझै १८० रोपनी जग्गाको मुआब्जा दिनै बाँकी छ । २०५७ मा केही मुआब्जा वितरण गरिए पनि त्यसयता मुआब्जाका लागि बजेट विनियोजन नै भएको छैन ।

रंगशालामा हाल फूटबल मैदान रहेको कित्ता नं. १०६८ को जग्गादेखि क्रिकेट मैदानको पनि मुआब्जा वितरण हुन बाँकी छ । ढिलो गरी मुआब्जा वितरण गर्दा मुआब्जाको दर पनि बढिरहेको छ । २०५७ मा नै जग्गाधनीले रोपनीको रु.३ लाख दिन माग गरेका थिए ।

चन्दा उठाएर पूर्वाधार
रंगशालामा लन टेनिस कोर्ट बनाउन सरकारले बजेट नदिएपछि खेलाडी आफैं सक्रिय भए । चन्दा संकलन गरेर पाँच वटा कोर्ट, कार्यालय र प्यारापिट बनाए । सबै बनाउन झण्डै डेढ करोड खर्च भएको लन टेनिस संघ, कास्कीका अध्यक्ष विनोद कायस्थ बताउँछन् । “सरकारको भर परेको भए अहिलेसम्म केही हुने थिएन”, कायस्थ भन्छन् ।

राखेपले सागका लागि भनी बनाउने भनेको थप दुई वटा कोर्ट, चेन्जिङ रुमलगायतका संरचना तयार भएमा पोखरामा अन्तर्राष्ट्रिय लन टेनिस प्रतियोगिता संचालन गर्न सकिने पौडेल बताउँछन् ।

त्यसो त रंगशालाका केही कभर्डहल र अन्य पूर्वाधार पनि चन्दाकै भरमा बनाइएको हो । रंगशालाको जग्गा अतिक्रमण हुने देखेपछि २०५९ मा प्रा. वीरेन्द्र सिंह गुरुङको अध्यक्षतामा बनेको समितिले रु.१ करोड चन्दा उठाएर कम्पाउण्ड बनाइदिएको थियो ।

सहाराको सुनाम
स्थापना वर्ष २०५५ देखि नै हरेक तिहारमा खेलेको देउसी–भैलोको आम्दानी र प्रायोजनको बलमा सहारा क्लबले १६ वर्षदेखि पोखरामा मोफसलकै ठूलो पुरस्कार राशीको ‘आहा रारा गोल्डकप’ आयोजना गरिरहेको छ । जसको १६औं संस्करण गत माघमा सम्पन्न भयो । यसबाहेक देशविदेशका शुभचिन्तकको सहयोग र चन्दाबाट क्लबले झण्डै रु.१ करोडको अक्षयकोष पनि स्थापना गरेको छ । 

सहारा एकेडेमीमा आश्रित बालकहरू ।

अहिले क्लबद्वारा सञ्चालित सहारा फुटबल टीम र सहारा एकेडेमीमा दुई जना प्रशिक्षक छन् । एकेडेमीमा महीनाको रु.२ लाख जति खर्च हुन्छ । “तर अक्षयकोषको ब्याज अहिलेसम्म चलाउनुपरेको छैन” एकेडेमीका संयोजक एवं सहारा क्लबका संस्थापक कप्तान विक्रम थकाली भन्छन् ।

सहाराले २०५८ देखि एकेडेमी शुरु गरेको थियो । तर, त्यतिबेला एकेडेमीमा आवासको व्यवस्था थिएन । त्यसैको उत्पादन हुन्, नेपाली टोलीका निवर्तमान सदस्य अनिल गुरुङ ।

क्लबले पोखराको दोबिल्लामा २०६३ सालमा झण्डै ३० लाख खर्चेर २६ रोपनी जमीन किनेको छ । त्यहाँ फूटबल मैदान र एकेडेमीको आफ्नै भवन पनि बनाएको छ । एकेडेमीमा अहिले अभिभावक गुमाएका २८ जना बालक फूटबलसँगै लेखपढ गरिरहेका छन् ।

यहाँसम्म आइपुग्दा सहारा क्लबले सरकारी सहयोग पटक्कै पाएन । “सहयोगका लागि मन्त्रालय र राखेप धाउँदा आश्वासन बाहेक केही पाइएन”, क्लबका अध्यक्ष वीरभद्र आचार्य भन्छन् ।

प्रतिकृया दिनुहोस