त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडान अझै अवरुद्ध
६ वैशाखमा मलेशियाका लागि उड्न लागेको मालिन्दो एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएपछि अवरुद्ध भएको अन्तर्राष्ट्रिय उडान अझै शुरु हुन सकेको छैन ।
राति ९ः४५ बजे मलेशियातर्फ उड्न लाग्दा विमान धावनमार्गबाट करीब ४० मीटर टाढा घाँसे मैदानमा पुगेको थियो ।
विमानस्थलको तीन हजार मिटर रन वे मध्ये आन्तरिक उडान संचालन गर्न अहिले २५ सय मिटर धावनमार्ग खुला छ । आन्तरिक उडानलाई एकतर्फी (उत्तरतर्फको बौद्धक्षेत्र) संचालनमा ल्याइएको छ ।
घटनाबारे पत्रकार सम्मेलन गर्दै विमानस्थलका नायब महाप्रवन्धक राजुकमार क्षेत्रीले पाइलटले ब्रेक लगाउँदा जहाज चिप्लिएको जानकारी दिए ।
ट्याक्सी वे बाट रन वेमा गएर टेकअफ लागि स्पिड लिएको बेला ककपिटको स्क्रिनमा समस्या देखिएपछि मैले टेक अफ गर्न चाहिनँ, ब्रेक लगाउँदा जहाज अनियन्त्रित भएर चिप्लियो,’ पाइलटलाई उदृत गर्दै क्षेत्रीले भने । घटनाको विस्तृत विवरण थप अनुसन्धानबाट खुल्ने उनले बताए ।
विमानमा चालक दलका ४ सदस्य सहित १३९ यात्रु थिए । विमान धावनमार्गबाट बाहिर जाँदा एजलाईट (किनाराको बत्तिमा) क्षति पुगेको छ । अवतरणका लागि आएका अन्तर्राष्ट्रिय विमानलाई भारत र बंगलादेशमा डाइर्भट गरिएको छ ।
भर्खरै विमान भास्सिएको स्थानबाट हटाइएको पर्यटनमन्त्री रवीन्द्र अधिकारीले जानकारी दिएका छन् । अब केही क्षणमै विमानस्थल सुचारु हुनेछ ।