रिपोर्टबिहिवार, बैशाख ६, २०७५

कृषिमा ‘वर्षा पम्प’ले ल्याएको क्रान्ति

सविना देवकोटा

नेपाली युवाको नौलो आविष्कार वर्षा पम्प प्रविधिले नदी हेर्दै खेतबारी बाँझो राख्नुपर्ने किसानको नियतिलाई विगत बनाइदिएको छ।

सिन्धुलीमा सिंचाइका लागि सुनकोशी नदीबाट पानी तान्न जडान गरिएको वर्षा पम्प ।

फागुन अन्तिम साता, साँझ पर्नै लागेको थियो । रामेछाप, मन्थलीस्थित बिहानी तरकारी फार्ममा युवराज श्रेष्ठसँगै अरू तीन जना बारीमा हतारहतार काउली र गोलभेंडा टिपिरहेका थिए । उनलाई यी सागसब्जी नजिकैको भँगेरी विद्यालय र सैनिक ब्यारेकमा पुर्‍याउन हतारो थियो । परसम्म फैलिएको हरियो–परियो बारीमा बन्दा, आलु, लसुन, फर्सी, साग, चम्सुरलगायतका थुप्रै तरकारी फलिरहेको देखिन्थ्यो । 

दुई वर्षअघिको अवस्था भने फरक थियो । १५ रोपनी जग्गा भाडामा लिएर व्यावसायिक खेती शुरू गरेका श्रेष्ठलाई सिंचाइकै समस्या थियो । मुश्किलले वर्षमा ५/६ लाख कमाइ हुन्थ्यो । तर, अहिले उनले ५५ रोपनीमा तरकारी लगाएका छन् । वार्षिक ३० लाखसम्म आम्दानी गरिरहेका छन् । आकाशे बजारमा तीन रोपनी जग्गा पनि किनिसकेका छन् । दुई वर्षभित्र के त्यस्तो ‘क्रान्ति’ भयो र श्रेष्ठले यत्रोविधि ‘छलाङ’ मारे ?

“वर्षा पम्प”, श्रेष्ठ भन्छन् । उनले दुई वर्षअघि जिल्ला कृषि विकास कार्यालयबाट शतप्रतिशत अनुदानमा यो पम्प पाएका थिए । तर, सित्तैंमा पाएको यो पम्पले ‘चमत्कार’ नै गर्‍यो । झण्डै नौ मिटर तल बगिरहेको तामाकोशी नदीबाट सोझै बारीमा पानी ल्याइदियो । “त्यसपछि त हो, यो प्रगति भएको”, पम्पका कारण ऊर्जा र उब्जनी दुवै थपिएको बताउँदै श्रेष्ठ भन्छन् ।

बगिरहेको नदीबाट पानी तान्न कुनै विद्युतीय ऊर्जा र मेशीनसमेत नचाहिने भएपछि खर्च पनि घटेको उनी बताउँछन् । चौबीसै घण्टा पानी तानिरहने पम्पबाट दैनिक १२ हजार लीटर पानी आइरहेको छ ।

करीब १५ मिटर तलबाट बगिरहेको तामाकोशी नदी नै मन्थलीवासीको सिंचाइको मुख्य स्रोत हो । हिउँदमा पानी नपुग्नाले वर्षामा मात्रै कुलोमा पानी बग्ने गर्दथ्यो । कुलोको पानीबाट मौसमी खेती मात्र भइरहेको थियो । तर, पछिल्लो समय वर्षा पम्प नदीमा राखिएसँगै कृषकको दैनिकी बदलिएको छ । “पहिले तरकारी मात्रै फल्ने खेतमा अहिले भने धान, मकै, गहुँ र घाँस पनि लगाउन थालिएको छ” कृषक सुन्दर घिमिरे भन्छन्, “बलौटे माटोका कारण अधिकांश समय सुक्खा र बाँझे रहने गह्रा अहिले ओसिलो हुन थालेका छन् । बाली सुक्न छाडेको छ ।” 

वर्षा पम्पको प्रयोगले यो गाउँमा कुखुरापालन पनि शुरू भएको छ । माछापालनका लागि पनि पोखरीहरू निर्माण भइरहेका छन् । पौरखी युवा सहकारीमार्फत सिद्धेश्वर खाद्यान्न कृषक समूहका सदस्यहरूले ९० प्रतिशत अनुदानमा वर्षा पम्प लिएका छन् ।

वर्षा पम्पकै प्रयोगले आठ महीनायता तामाकोशी, लामाटारवासीको जीवन बेग्लै हुन थालेको छ । “आकाशे पानीको भरमा गरिने खेतीले तीन महीना मात्रै गुजारा चल्थ्यो । मकै र कोदो मात्रै फल्थ्यो” लामाटारनिवासी केशव थापा भन्छन्, “अहिले त खेत वर्षभरि हराभरा हुन थालेको छ ।” लामाटारकी लक्ष्मी लामा थाहा पाएदेखि सुक्खा देखेको खेत सिंचाइले हराभरा भएकोमा चकित छिन् ।

नौलो प्रविधि
नदी वा खोलाको पानीमा हुने प्राकृतिक बहावले खोलामा जडान गरिएको ‘वर्षा पम्प’ का पाताहरूलाई चलायमान बनाएपछि पम्प घुम्न थाल्दछ । पाताहरू घुम्न थालेपछि छेउका घुमाउरा प्लास्टिकको पाइपमा विस्तारै चाप बढ्छ र पानी माथि चढ्न थाल्छ । दुवै छेउबाट पानी भरिएपछि मात्रै पाइपको माध्यमबाट पानी खेत, बारीमा पुग्छ । पम्पले एक दिनमा ४३ हजार लीटरसम्म पानी तान्न सक्छ । पम्प जडान गर्न खोलामा पानीको गति प्रति सेकेण्ड एक मिटर हुनुपर्छ ।

६ वर्षअघि काभ्रेपलाञ्चोक जिल्लाको इन्द्रावती नदीमा पहिलोपटक परीक्षण गरिएको वर्षा पम्प प्रविधि हाल मुलुकका ३० जिल्लामा विस्तार भइसकेको छ । कृषि इञ्जिनियरिङ निर्देशनालय, जिल्ला कृषि विकास कार्यालय र विभिन्न गैरसरकारी संस्थाको अनुदानमार्फत अहिलेसम्म १३१ वटा पम्प जडान भइसकेका छन् । एउटा पम्पलाई रु.१ लाख ६० हजारदेखि रु.२ लाख ८० हजारसम्म पर्छ ।

“६ हजारभन्दा बढी नदीनाला भएको नेपालमा अहिले पनि दुईतिहाइ खेत सिंचाइको अभावमा बाँझ्ै छ, त्यसैले पनि वर्षा पम्प प्रविधिको प्रयोग आवश्यक छ” वर्षा पम्पका आविष्कारक प्रताप थापा भन्छन्, “तामाकोशी, सुनकोशी, त्रिशूलीजस्ता ठूला, मझैला नदी, खोला र नहर समेत गरी वर्षा पम्पले १२८ हेक्टर जमीन सिञ्चित गरिसकेको छ ।” 

चार वर्षअघि नै दोलखाको साविकको मालु गाविसका गाउँलेबाटै रकम संकलन गरी बसेरीका किसानलाई विद्युत् पम्प उपलब्ध गराइएको थियो । विडम्बना, गाउँमा बिजुली नै पुगेको थिएन । पम्प छत्रमाया श्रेष्ठको घरमा थन्किएको छ । अहिले बसेरीका ‘नमूना कृषक समूह’ ले जिल्ला कृषि विकास कार्यालयको ९० प्रतिशत अनुदानमा वर्षा पम्प जडान गरेका छन् ।

एक वर्षदेखि वर्षा पम्पको प्रयोग गरिरहेका सिन्धुली, सुनकोशी गाउँपालिका–२, दुम्जाका सुरेन्द्र कोइराला बलौटे माटो भएकाले केही उब्जनी नै नहुने बारीमा अहिले तरकारी खेती गरिरहेको बताउँछन् । “विना बिजुली पम्पबाट पानी आउँछ भन्ने विश्वास नै थिएन, अहिले सब ठाउँमा पानी पुगिराखेको छ”, वर्षा पम्पबाटै सिंचाइ गरिरहेका सिन्धुली रातमाटेका अर्जुनकुमार खत्री भन्छन् । करीब १४ मिटर तलको सुनकोशी नदीमा वर्षा पम्प जडानमार्फत सिंचाइ गरेका उनले पानी संकलनका लागि पोखरी पनि बनाएका छन् ।

आफ्नै आविष्कार
ललितपुर, लेले गाउँका प्रताप थापाले सानै उमेरदेखि बुवाआमाले गरेको सकसपूर्ण खेतीपाती देखेका थिए । आकाशे पानीलाई संकलन गरेर खेतीमा कसरी लगाउने भन्ने ठूलो तनाव हुन्थ्यो । “तलतिर बगिरहेको लेले खोलाको पानी माथि खेतमा तान्न पाए कति सजिलो हुन्थ्यो”, त्योबेला उनलाई लागिरहन्थ्यो । 

भारतमा औद्योगिक इञ्जिनियरिङतर्फ स्नातक सिध्याएर फर्किएका थापा स्नातकोत्तरका लागि ललितपुरस्थित इञ्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा भर्ना भए । कलेजमा भर्खरै ‘टेक्नोलोजी अफ इनोभेसन म्यानेजमेन्ट कोर्स’ शुरु भएको थियो । कोर्समा प्रत्येक विद्यार्थीले केही न केही आविष्कारजन्य विचार र परियोजना प्रस्तुत गर्नुपर्दथ्यो, जसमा थापाले तल खोलामा पानी बगिरहने र माथि खेत बाँझै रहने समस्या सम्बोधन हुने परियोजना तयार गरे ।

२०६८ सालमा स्नातकोत्तरको छात्रवृत्ति पाएर थापा बीचैमा नेदरल्याण्ड्सको डेल्फ्ट युनिभर्सिटी अफ टेक्नोलोजीमा भर्ना भए । संयोग, त्यहाँ पनि उनले कुनै आविष्कारको अवधारणा प्रस्तुत गर्नुपर्ने भयो ।

डच सहपाठी फ्रेद हेन्नीसँगको सहकार्यमा थापाले तल बगिरहेको पानीबाट माथिको जमीन सिंचाइ गर्ने उही पुरानै ‘प्रोजेक्ट’ बनाए । नेपालको परिवेशमा तयार पारिएकाले यसको नाम ‘वर्षा पम्प’ राखे ।

नेपाली मनको यही प्रोजेक्टलाई विश्वविद्यालयले ‘बेस्ट फाइनान्सियल प्लान’ भन्दै एक हजार यूरोद्वारा पुरस्कृत गर्‍यो । लगत्तै यो परियोजनाले फिलिप्स् इनोभेसन अवार्ड र बियरिङ प्वाइन्ट नामका पुरस्कार पनि हात पार्‍यो ।

आफ्नो कामले नाम र दाम दुवै कमाउन थालेपछि पुलकित थापा र हेन्नीले नेदरल्याण्ड्समै सन् २०१३ मा वातावरण मैत्री पम्प उत्पादन गर्न ‘एक्वेष्टा कम्पनी’ दर्ता गरे । तर, यूरोपमा चर्चा कमाए पनि ‘वर्षा पम्प’को लक्ष्य र केन्द्र नेपाल थियो । “त्यसैले ६ वर्षअघि ‘वर्षा पम्प’ लिएर हामी गाउँ पस्यौं”, थापा सम्झन्छन् ।

शुरुमा राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा भित्रिएको वर्षा पम्पलाई विस्तारै सरकारले पनि पत्याउन थाल्यो । फरक भूगोल, नदीनालाको प्रकृति र कृषिकर्मको आ–आफ्नै अभ्यासका कारण किसानबाट पाएको प्रतिक्रियाका आधारमा पम्पको स्वरुपमा समेत परिमार्जन हुँदै आयो । सहकारी संस्था, कृषक समूहलगायतका संस्थाले पनि वर्षा पम्प प्रयोगमा अग्रसरता देखाए ।

नेपालबाटै व्यावहारिक प्रयोग शुरू गरिएको वर्षा पम्प प्रविधि अहिले अन्तर्राष्ट्रियस्तरमा समेत लोकप्रिय भइरहेको छ । “नेपालबाहिर १२ वटा देशमा वर्षा पम्प जडान भइसकेको छ”, थापा भन्छन् ।

यसरी गर्छ काम
पानीको बहावले पाताहरूलाई चलायमान बनाएपछि पम्प घुम्न थाल्छ। पाता छेवैका घुमाउरा प्लास्टिकको पाइपमा विस्तारै चाप बढ्छ र पानी माथि चढ्न थाल्छ। दुवै छेउबाट पानी भरिएपछि पाइपको माध्यमबाट पानी खेत, बारीमा पुग्छ।

विशेषता
पानीको बहावले चल्ने
वातावरण मैत्री
विद्युत् नचाहिने
मर्मत गरिरहनु नपर्ने
प्रति दिन ४३ हजार लीटरसम्म पानी तान्ने

प्रतिकृया दिनुहोस