‘नेपाल चीन सहकार्यका ५ क्षेत्र’
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको तीव्र आर्थिक विकासका लागि चीनसँग विभिन्न पाँच क्षेत्रमा सहकार्यको सम्भावना औंल्याएका छन्।
तुफान न्यौपाने, बेइजिङबाट
‘चाइना रिफर्म फोरम’ले ६ वैशाखमा बेइजिङमा आयोजना गरेको ‘२१ औं शताब्दीमा नेपाल चीन सम्बन्ध’ विषयक गोलमेच छलफलमा मन्त्री ज्ञवालीले लिखित प्रवचन दिंदै सहकार्यका सम्भावित क्षेत्रबारे चर्चा गरेका हुन् ।
४-८ वैशाख २०७५ मा चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री ज्ञवालीले ५ वैशाखमा चीनका उपराष्ट्रपति वाङ छिसान तथा परराष्ट्रमन्त्री वाङ यीसँग भेटवार्ता गरेका थिए।
उनी ६ वैशाखमा गोलमेच छलफलमा सहभागी भएपछि छन्दुका लागि प्रस्थान गर्नेछन्। त्यहाँ उनले प्रादेशिक सरकारका अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
मन्त्री ज्ञवालीले चर्चा गरेका आपसी सहकार्यका सम्भावित पाँच क्षेत्रहरूमा यातायात सञ्जालको विस्तार, कृषि उद्योग र प्रविधि हस्तान्तरण, मानव संशाधनको अधिकतम उपयोग, प्राकृतिक स्रोतको प्रयोग र व्यापार तथा लगानी छन्।
ज्ञवालीको मन्तव्यमा यातायात विस्तारलाई नेपाल चीन सम्भावित समन्वयको पहिलो क्षेत्रको रूपमा उल्लेख गरिएको छ।
उनले भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको सन् २०१६ को भ्रमणमा दुई देशको कनेक्टिभिटी पहिलो प्राथमकितामा थियो, किनभने यातायातका पूर्वाधारको अभावले दोस्रो ठूलो अर्थतन्त्र चीनसँग नेपालको व्यापार, वाणिज्य र जनस्तरको सम्बन्ध विकासमा अवरोध थियो, नेपालले चीनको आर्थिक विकासको लाभ लिन पाएको थिएन।’
चीनबाट पाइने पारवहन सुविधाले अन्तर्राष्ट्रिय व्यापार वृद्धि गरी नेपाललाई लाभ पुग्न सक्ने उनले बताए।
‘त्यसैकारण रेल, सडक, जलविद्युत, सूचनाप्रविधि, हवाईसञ्जाल आदिका माध्यमबाट चीनहुँदै बाँकी विश्व सँग सम्पर्क बढाउने विषय नेपलाको प्रमुख अजेण्डा रहिआएको छ,’ उनले भने।
यस्तो सञ्जाल विस्तारले नेपालको आर्थिक विकास र सामाजिक प्रगतिका लागि ठूलो प्रभाव पार्ने परराष्ट्रमन्त्री ज्ञवालीले बताए।
‘यस सम्बन्धमा चीनका परराष्ट्रमन्त्रीसँग ५ वैशाखमा ‘अन्तर-हिमालय बहुआयामिक यातायात सञ्जाल’ विकासको दीर्घकालीन परिकल्पनामा सहमति भएको छ’, उनले भने, ‘यस्तो सञ्जालको विकासले हिमालय र यसभन्दा बाहिरका क्षेत्रको पनि विकासमा सहयोग पुर्याउनेछ।’
त्यस्तै ज्ञवालीले नेपाल-चीन सहकार्यका लागि उपयुक्त ठहर्याएको अर्को क्षेत्र हो- कृषि, उद्योग र प्रविधि हस्तान्तरण।
कृषिमा करीब दुई तिहाई नेपाली निर्भर रहेको र अर्थतन्त्रको मेरूदण्ड मानिने भए पनि दुख को कुरा नेपाल खाद्यान्न आयात गर्ने मुलुकका रूपमा रहेको छ।
परराष्ट्रमन्त्री ज्ञवालीले चिनिया कृषि प्रविधिको वितरण र आधुनिक औजारको प्रयोगले उत्पादकत्व बढाउने भएकाले नेपालमा चिनिया कृषि उद्यमीका लागि अवसर रहेको बताए।
परराष्ट्रमन्त्री ज्ञवालीले सहकार्यका लागि उल्लेख गरेको तेस्रो क्षेत्र हो-मानव संशाधनको समुचित उपयोग। जनसंख्याका हिसाबले मध्यम आकारको देश नेपालसँग करीब तीन करोड जनसंख्याको करीब ६० प्रतिशत जनसंख्या काम गर्न सक्ने उमेरसमूह १५-६० वर्षको छ।
यो मानव संशाधनको उपयोग गरी आर्थिक विकास गर्न चीन र नेपालले मिलेर काम गर्न सक्ने ज्ञवालीको विश्लेषण छ।
त्यसैगरी प्राकृतिक स्रोतको उपयोग गर्ने विषय नेपाल- चीन सहकार्यका लागि अर्को आकर्षक क्षेत्र हुनसक्ने परराष्ट्रमन्तरी ज्ञवालीको धारणा छ।
नेपालमा उच्च सम्भावना रहेको जलविद्युतको क्षेत्रमा चिनिया प्रविधि, पूँजी र अनुभवबाट दुवै देशले फाइदा लिने गरी काम गर्न सकिने धारणा उनले राखेका छन्।
त्यस्तै उच्च मूल्यवान जडिवुटी तथा वनष्पती, वनपैदावार जस्ता स्रोतको उपयोग देखि पर्यटन क्षेत्रमा समेत सहकार्य हुनसक्ने उनले बताएका छन्।
गोलमेच छलफलमा मन्त्री ज्ञवालीले सहकार्यका क्षेत्र भनी धारणा राखेको अन्तिम विषय थियो- व्यापार र लगानी।
बेल्ट एण्ड रोड इनिसिएटिभको फ्रेमवर्कभित्रबाट व्यापार, वाणिज्य र लगानी विस्तारमा सहकार्य गर्नसक्ने क्षेत्र धेरै छन्।
सन् १९९० पछि नेपालले अवलम्बन गरेको आर्थिक उदारिकरणको नीतिले अहिले नेपालमा लगानी गर्नसक्ने पर्याप्त अवसरहरू सिर्जना भएका छन्।
‘चिनियाँ लगानीकर्ताका लागि नेपालमा भैतिक पूर्वाधार विकास, हाइड्रो-पावर, कृषि, खनिज तथा पर्यटन जस्ता क्षेत्रमा लगानको राम्रो अवसर छ,जसमा नेपाल सरकारले प्रोत्साहन गर्छ,’ मन्त्री ज्ञवालीले भने।
बेल्ट एण्ड रोड इनिसिएटिभका माध्यमबाट प्रशस्त अवसर पाउनसक्नेबारे नेपालमा धेरै अपेक्षा गरिएको बताउँदै उनले सन् २०३० सम्म मध्यम आय भएको मुलुकमा स्तरवृद्धिका लागि पनि जलविद्युत, उद्योग, पर्यटन, कृषि जस्ता क्षेत्रमा प्रशस्त लगानी गरी युवा जनशक्तिलाई रोजगारी उपलब्ध गराउनुपर्ने बताए।
दुईदेशका बीचमा व्यापकरूपमा हुने आर्थिक साझेदारी मार्फत छिटै र दीगो रूपमा यी उपलब्धि हासिल गर्न सकिने उनको धारणा छ।