चुनाव चिन्हको विषय टुंगिएको छैनः अध्यक्ष दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई पार्टी मिलेपछि चुनाव चिन्ह के हुने भन्ने विषयमा टुंगो लागिनसकेको बताएका छन्।
प्रेस सेन्टर चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै दाहालले चुनाव चिन्हका विषयमा छलफल जारी नै रहेको बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र आफू आज कार्यक्रममा व्यस्त हुने भन्दै उनले भोलि दुई अध्यक्षका बीचमा बैठकपछि पार्टी एकता घोषणाको मिति तय हुने बताए ।
“वैशाख ९ गते अली भ्याइँदैन कि, कोसिस गर्दैछौं ।” यकिन मिति दुई अध्यक्षले टुंग्याउने भए पनि वैशाख महिनाभित्रै एकीकरण भइसक्ने उनले बताए ।
दुईवटा कार्यदलले प्रस्तुत गरेका प्रतिवेदनमाथि हिजोबाट गम्भीर ढंगले छलफल शुरु भएको भन्दै दाहालले कतिपय विषयमा टुंगो लगाउने जिम्मा कार्यदलले दुई अध्यक्षलाई दिएको बताए ।
दाहालले भने, “कतिपय भाषा परिमार्जन गर्नुपर्ने, कतिपय विषयमा अध्यक्षको तहमा टुंग्याउने भनेर ल्याएका छन्।”
कार्यदलले बुझाएको प्रतिवेदनमा विधानमा जनयुद्धलाई कसरी प्रस्तुत गर्ने, जनआन्दोलनलाई के भन्ने, निर्वाचन चिन्हलाई कसरी मिलाउने, एकताको मोडालिटीमा केन्द्रीय समिति, प्रादेशिक समिति, जिल्ला समिति कसरी के आधारमा मिलाउने कुरामाथि नै छलफल होस् भनेर लिखित दिएको उनले बताए । यी विषयमा छलफल भइरहेको दाहालको भनाइ थियो ।
अर्को एक प्रश्नमा दाहालले भने, “शक्ति बाँडफाँडका विषयमा कुरा नमिलेको होइन । तपाईहरु भ्रममा नपर्नुहोस् ।” दुई पार्टीको बराबरी सिद्धान्तमा प्रतिनिधित्व गराउने भन्दै उनले थपे, “दुई अध्यक्षले नाम लिएर जाने, राम्रा मान्छेको राम्रो समिति बनाउने । त्यसो गर्दा सकेसम्म सम्मानजनक र बराबरीको सिद्धान्तमा गर्ने भन्ने कुरामा कुनै विमति छैन ।”
सञ्चार माध्यममा अनावश्यक हल्ला मात्रै आएको उनले बताए ।
प्रधानमन्त्रीका कार्यशैलीका विषयमा छलफल भएको स्वीकार्दै उनले अधिकार प्रधानमन्त्रीलाई भए पनि सचिव सरुवालगायतका विषयमा विधि प्रक्रियामा समन्वय नभएको हो कि भनेर आफूले छलफल गरेको बताए ।