जेठदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालन गर्ने पर्यटनमन्त्रीको घोषणा
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले जेठको पहिलो हप्तादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याउने घोषणा गरेका छन् ।
आज काठमाडौंमा पर्यटनविद्हरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा सञ्चालन गर्ने लक्ष्य रहे पनि तत्काल सम्भव नभएको बताएका हुन् ।
उनले भने– “मुलुकको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान २५ प्रतिशत पुग्ने गरी काम गर्छु ।” कार्यक्रममा उनले ‘एयर स्पेस’ को उचित व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय विज्ञहरूको समूह बनाउने तयारी गरिएको पनि जानकारी दिए ।
बनाइएका योजना कार्यान्वयन नहुँदा नेपालको पर्यटन क्षेत्रले प्रगति गर्न नसकेको पनि मन्त्री अधिकारीले स्वीकार गरे ।