समाचारमंगलवार, बैशाख ४, २०७५

विराटनगरः भारतीय दूतावासको सम्पर्क कार्यालय नजिकै विष्फोट

हिमालखबर

विराटनगरमा रहेको भारतीय दूतावासको सम्पर्क कार्यालय नजिकै विष्फोट भएको छ ।

कार्यालयको पश्चिमतर्फ रहेको खाली चौरमा हिजो, ३ चैत राति विष्फोट भएको हो । विष्फोटबाट पर्खालमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

विराटनगरमा आज नेत्रविक्रम चन्द नेतृत्वको समूहले बन्दको आह्वान गरेको छ । बम विष्फोट गराउंने समूहको पहिचान नखुले पनि चन्द समूहको संलग्नता हुन सक्ने मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले बताए ।

मोरङका सुरक्षा प्रमुखहरुले आज बिहान विष्फोट भएको स्थलको निरीक्षण गरेका छन् ।

कोसी नदीको तटबन्ध भत्किएका बेला मर्मतसम्भारको व्यवस्था मिलाउन भन्दै २०६५ सालमा स्थापित सम्पर्क कार्यालय अहिलेसम्म पनि यथावतै छ ।

बम फेला
यस्तै मोरङको सुन्दर हरैचा नगरपालिका–४ पूर्वपश्चिम राजमार्गको गछिया खोलाको पुलमा आज बिहान ३ः२० मा बम फेला परेको छ ।

पुलको बीच भागमा बम देखेपछि सवारी चालकले प्रहरीलाई खबर गरेका थिए ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बम अन्यत्र लगेर निस्कृय पारेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले बताए ।

पुल माथि बम राखेर अर्को तर्फ आगो बालि सुरक्षाकर्मीलाई झुक्याउने प्रयास भए पनि समयमै बम फेला परेकाले क्षति हुन नपाएको प्रहरीले जनाएकोे छ ।

प्रतिकृया दिनुहोस