ब्लगसोमवार, बैशाख ३, २०७५

वीरताको गाथा, पीडाको व्यथा

कनकमणि दीक्षित

चुमिक सेन्को र जलियाँवाला बाग घटनाबारे नेपाली इतिहास बेखबर हुनुहुँदैन ।

नेपाली नागरिक विदेशी फौजको लागि औपचारिक सन्धिद्वारा लड्न गएको ठ्याक्कै दुई शताब्दी भएको छ । नेपाल राज्यको हालसम्मको असफलताको निरन्तरता मान्नुपर्छ, प्राकृतिक स्रोतसम्पन्न मुलुकका नागरिक यसरी अर्काको लागि लड्नु परेको अवस्था ।

आफ्नै देशमा सम्मानजनक रोजगारी सिर्जना गर्नु वर्तमान ‘पोलिटी’ कै चुनौती हो, राज्यको मात्र कुरा होइन ।

उतिबेला ब्रिटिश इष्ट इण्डिया कम्पनीका हाकिमहरूले गोर्खाली सिपाहीका रणकौशल देखे, विशेषगरी अमरसिंह थापा र बलभद्र कुँवर नेतृत्वको पश्चिमको संग्राममा । मलाउ कोट ढलेपछि त्यहाँका लडाकूलाई जम्मा गरेर बेलायतीले ‘नसिरी पल्टन’ नाम दिएर पहिलो ‘गुर्खा’ फौज खडा गरे, सुगौली सन्धिको हाराहारीमै । त्यो

‘गुर्खा’ फौजलाई सन् १८१७ मा पिन्डारी युद्धमा होमाइयो, तत्पश्चात् भरतपुर संग्राममा, अनि शिख राज्य विरुद्धको लडाइँमा ।

त्यो बेलादेखि अहिलेसम्म पनि नेपालका नागरिक कम्पनी सरकारपछि बेलायत र भारत सरकारको लागि लडिरहेकै छन् । लडाइँको मैदान झनै विश्वव्यापी हुनपुग्यो, वजिरिस्तानदेखि मेसोपोटेमिया, एल्जिरिया, चीन, तिब्बत, मलाया, माल्टा र पश्चिम यूरोपसम्म ।

नेपाली नागरिकको संसारै छोप्ने युद्धकाल अनुभवबारे सिपाही स्वयंको मुख र कलमबाट हामीले धेरै सुन्न पाएनौं । दस्तावेजीकरणको अभावमा तिनले देखाएको साहस, खपेको दुःख, सहेको पीडा, मस्तिष्कको कौतूहल सबै अड्कल लगाउनुपर्‍यो ।

‘गुर्खा’ का मुख्यतः दुई किसिमको गाथा–व्यथा हामी पाउँछौं– एक, साहसी सिपाही, जो नूनको सोझो गर्दै, ‘आयो गोर्खाली’ चिच्याउँदै, खुकुरी चम्काउँदै दुश्मनमाथि जाइलाग्छ ।

अर्को, वेदनाको व्यथा– घरआँगनबाट दूर, विरानो देशमा पुगेका सिपाही, उसले बेहोरेको युद्धको दर्दनाक अनुभव, गर्मी, जाडो, तिर्खा, थकाइ, रोग–व्याधी . . . । नेपाली सिपाहीको युद्ध मैदानको गाथा–व्यथा थोरबहुत गन्धर्वका प्रस्तुतिहरूमा उहिलेदेखि नै आएका हुन् ।

युद्धको त्रासदी सबभन्दा ज्वलन्त तरिकाले प्रस्तुत छ, नालापानी किल्ला ढलेपछि एक बेलायती अफिसरले आफ्नी प्रेयसीलाई लेखेको पत्रमा । त्यसमा वर्णित किल्लाभित्रको मरण, रोदन, सिपाही र परिवारको बिचल्लीले युद्धको हिंस्रक पक्ष जसरी उजागर गरेको छ, त्यो थाहा पाउन पनि सबै नेपालीले पढ्ने सूचीमा पर्नुपर्छ, उक्त दस्तावेज ।

बेलायतमा सामरिक इतिहास अध्ययन अनुसन्धान गर्ने श्रावणी घोषले पहिलो विश्वयुद्धमा पठान, गढवाली र गोरखाली सिपाही फ्रान्सको ‘ट्रेन्च वार्फेर’ मा कसरी प्रयोग भए भन्ने चित्रण गरेकी छिन् ।

विशेषतः गढवाली र पठान सिपाहीले बमबारुदको बीचबाट लेखेका पत्रको आधारमा उनीहरूले खपेको बमको ब्लास्ट, सुरुङ युद्ध, चोट, पीडा, आलस्य, अस्पताल बसाइँ सबै प्रष्ट गरिएको छ । ती सिपाहीको अनुभव र चन्द्रशमशेरको पालामा समुद्रपार पुगेका गोर्खालीको अनुभव एउटै हुनुपर्छ भन्न गाह्रो छैन ।

नेपालमा वीर गाथा बढी सुनाइयो, शासकहरूले पनि नागरिकलाई विदेशी पल्टनमा जान दिएकोमा बढाइँचढाइ गर्नुपर्‍यो । पीडा–व्यथाको पक्ष भने इतिहासविद् प्रत्यूष वन्त, प्रेमरमण उप्रेती र पुरुपोत्तम बास्कोटा जस्ता केही अन्वेषकले तीन दशकयता प्रस्तुत गर्न थालेका हुन् ।

 दुःखद प्रयोग/संलग्नता
गोरखाली वीरताको गाथा र पीडाको व्यथा बाहेक अर्को पनि एउटा पाटो छ– जुन नेपालीभित्रको ‘डिस्कोर्स’ मा परेको देखिंदैन । त्यो हो– लडाइँको क्रममा हुने ज्यादती वा अपराधमा संलग्नता । मैदानमा दुई फौजबीचको हानाहानमा कसैको मरण या कोही हताहत हुन्छ भने त्यो युद्धकै दौरानको घटना भयो ।

तर जब फौजलाई नागरिकमाथि प्रयोग गरिन्छ या कमाण्डरले युद्धका नियम विपरीत अह्रनखटन गर्छन्, सिपाहीहरू स्वतः ज्यादतीमा संलग्न हुन पुग्दछन् ।

हामीले कुनै खालको ‘गाथा’ अन्तर्गत राखे पनि नराखे पनि गोरखाली सिपाही ज्यादतीमा प्रयोग भएनन् भन्न सक्ने स्थिति छैन । चीनको ‘बक्सर रेबेलियन’ र सन् १८५७ पछिका भारतीय स्वराज आन्दोलन दबाउन कम्पनी सरकारले ‘ब्रिगेड अफ गुर्खाज्’ को प्रयोग गर्‍यो ।

पछि उसको उत्तराधिकारी बेलायत सरकारले पनि बर्मा, मलाया र इण्डोनेसियामा विद्रोहीको खिलाफ ‘गुर्खाज्’ नै प्रयोग गर्‍यो ।

दुई वटा घटनामा शिख, गढवाली र अन्यसहित गोरखाली सिपाहीको प्रयोगलाई अति दुःखद् मान्नुपर्छ । पहिलो हो– ३१ मार्च १९०४ मा भएको तिब्बतको ‘चुमिक सेन्को’ घटना ।

रुसले तिब्बतमाथि आँखा लगाएको छ भन्ने चिन्तामा रहेका कलकत्तास्थित कम्पनी सरकारका भाइसराय लर्ड कर्जनले तिब्बत कब्जामा लिने निर्णय लिए, धेरैको सुझाव विपरीत । उनले तिब्बत पठाएको फौजको नाम थियो– ‘योङ्गहस्ब्याण्ड मिशन’ ।

एकापट्टि मेसिनगनलगायत आधुनिक हतियारले सुसज्जित कम्पनी सरकारको सेना अर्कोतर्फ तरबार र केही भरुवा बन्दूक बोकेका तिब्बती फौज चुमिक सेन्को भन्ने ठाउँमा आमनेसामने परे । भिडन्तमा गोर्खाली र अन्य सिपाहीहरुका गोलीको पर्राले तिब्बतीहरूको संहार गर्‍यो । चुमिक सेन्को घटनाबारे नेपाली इतिहास बेखबर हुनुहुँदैन ।

दोस्रो घटना हो– ‘जलियाँवाला बाग नरसंहार’, जो निकै चर्चित त छ, तर त्यसमा गोरखाली सिपाहीको प्रयोगबारे नेपालमा धेरै टिप्पणी भएको हामी पाउँदैनौं ।

१३ अप्रिल १९१९ को दिन शिख र अन्य पञ्जाबीहरु वैशाखपूर्णिमा मनाउन अमृतसर शहरको जलियाँवाला नाम गरेको बगैंचामा भेला भएका थिए । कर्नेल रेजिनल्ड डाएरले फौजलाई बगैंचाको ढोका बन्द गरेर गोली चलाउन आदेश दिए ।

ठीक एक शताब्दी अगाडिको त्यो घटनामा १००० सम्म निहत्था नागरिकको हत्या भएको अनुमान छ । त्यस कत्लेआममा नेपाली नागरिकको संलग्नतालाई आजसम्म हामीले स्वीकार गर्न नसकेको मात्र होइन, हाम्रो सोच त्यतातिर गएकै छैन । राम्रा नराम्रा जे जस्ता घटनामा नेपाली संलग्न भए, त्यो सबै इतिहास हो ।

प्रतिकृया दिनुहोस