समाचारआइतवार, बैशाख २, २०७५

शिक्षा मन्त्रालयको भर्ना अभियान, प्रधानमन्त्री बने मुगुका ठिन्ले साँवु लामाको अभिभावक

हिमालखबर

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण राष्ट्रिय अभियान सञ्चालन गरिरहेको छ ।

अभियान अन्तर्गत शिक्षा मन्त्रालयले विपन्न, गरीब, सीमान्तकृत तथा पिछडिएका वर्ग क्षेत्रका विद्यालय बाहिर रहेका कम्तिमा एक जना बालबालिकाको अभिभावकत्व ग्रहण गर्न सबैमा आग्रह गरेको छ ।

जसअन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओली मुगुका ठिन्ले साँवु लामाको अभिभावक बनेका छन् । त्यस्तै शिक्षामन्त्री गिरिराजमणि पोखरेल कर्मा याङजिङ, रक्षामन्त्री ईश्वर पोखरेल सूर्यदेवी रोकाय, पर्यटनमन्त्री रवीन्द्र अधिकारी पुन्नबहादुर कुमाल र एमाले नेता सुवास नेम्बाङ विनिता नेपालीको अभिभावक बनेका छन् ।

अभिभावक बनेको व्यक्तिले बालबालिकाको स्टेशनरी, पोशाक र दिवा खाजाको व्यवस्था गर्नुपर्नेछ ।

संविधानले व्यवस्था गरेको आधारभुत शिक्षा निःशुल्क एवम् अनिवार्यको विषयलाई कार्यान्वयन गर्न र दिगो विकास लक्ष्य हाँसिल गर्न ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व’ कार्यक्रम शुरु गरिएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए ।

त्यसैगरी शिक्षा मन्त्रालयले तीन महिने ‘शिक्षा मार्गचित्र कार्यान्वयन योजना’ पनि ल्याएको छ । ३० बुँदे उक्त मार्गचित्रअन्तर्गत वैशाख महिनाभर देशभर विद्यार्थी भर्ना र पाठ्यपुस्तक वितरण अभियान सञ्चालन हुनेछ । मार्गचित्रमा प्रदेश र स्थानीय तहको लागि नमूना कानूनको मस्यौदा तयार पार्नेदेखि विश्वविद्यालयको वर्गिकरण र लगानीको ढाँचा समेत समेटिएको छ ।

 

प्रतिकृया दिनुहोस