टिप्पणीआइतवार, बैशाख २, २०७५

२०७५ सँग आशा

शेखर खरेल

 झण्डै सातदशकपछि पहिलोपटक संक्रमण–विहीन स्वराजको अनुभूति गर्न पाएको नेपालीका लागि निराश हुने छूट छैन ।

आशाको त्यान्द्रो मात्रले पनि जीवनलाई चुँडिनबाट कसरी जोगाएको हुन्छ भन्ने कुराको विम्बात्मक वर्णन अमेरिकी कथाकार ओ हेनरीको ‘द लास्ट लिफ’ कथामा पाइन्छ । कथाअनुसार, निमोनियाले गलाउँदै लगेपछि उदीयमान चित्रकार जाञ्जी ओछ्यान पर्छिन् ।

प्रतिदिन रोगले च्याप्दै लैजान्छ । आफ्नो बिग्रिंदो स्वास्थ्य अवस्थालाई जाञ्जी ओछ्यानबाटै देखिने अंगुरको लहरासँग दाँज्न पुग्छिन्, जसका पातहरू पनि दिन प्रतिदिन झर्दै गइरहेका हुन्छन् । उनलाई यस्तो आभास हुन थाल्छ कि जुन दिन लहराको अन्तिम पात झर्नेछ, त्यसै दिन उनको प्राणपखेरु पनि उड्नेछ । जाञ्जी आफ्नो मनोदशा अपार्टमेन्टकी साथी सूलाई बताउँछिन् ।

लहराबाट पातहरू लगभग निख्रिनै थालेका हुन्छन्, एक रात बेस्सरी आँधीहुरी चल्छ । जाञ्जीलाई लाग्छ, भोली बिहान लहरा नाङ्गो भइसक्नेछ र जीवन पनि पातसँगै झरेर जानेछ । तर आश्चर्य, बिहानको सूर्यको पारिलो किरणमा अन्तिम पात चम्किरहेको देख्छिन् । जसले उनमा जीवनप्रतिको आशा जगाउँछ । उनी तंग्रिन थाल्दछिन् ।

तर, उनलाई पछि मात्रै थाहा हुन्छ कि त्यो अन्तिम पात, पात नभई बेर्मन नामक वृद्ध र रोगी चित्रकारको चित्रकारिता हुन्छ । जाञ्जीलाई जीवन दिने उद्देश्यले बेर्मनले त्यसै आँधीहुरीको रात पानीमा भिजेर लहरा टाँसिएको भित्तोमा अन्तिम पातको चित्र कोरेको हुन्छ । रातभर पानीमा निथ्रुक्क भिजेको बेर्मन निमोनियाकै कारण मृत्युवरण गर्छ ।

जाञ्जीको मनोदशालाई अहिलेको आम नेपालीको आकांक्षासँग तुलना गरियो भने त्यो अतिशयोक्ति नहुन सक्छ । अनेकौं आँधीहुरीका बाबजूद आफ्ना सपनाका पातहरू नखसून्, बरू ती पातहरूले सजिएका हाँगामा फूल फुलिदिऊन् भन्ने चमत्कारको आशमा हामी नेपाली बाँचेका छौं । प्रजातन्त्रको प्रादुर्भावका कारण २००७ साललाई एउटा प्रस्थानविन्दु मान्ने हो भने त्यसपछिका करीब सात दशकमा हाम्रो मनोदशा जाञ्जीको जस्तै छ । दुर्भाग्य, बेर्मन भने छैनन् ।

करीब सात दशकको यो समयलाई संक्रमण, अधिनायक, द्वन्द्व र स्वराज खण्डमा विभाजित गर्न सकिन्छ । २००७ को प्रजातन्त्रको प्राप्ति र २०४७ को प्रजातन्त्रको पुनःप्राप्तिको उल्लेख्य समय संक्रमणका बीच नै बिते । २०१७ देखि २०४७ बीचको तीन दशक अधिनायकवादी कालखण्ड रह्यो ।

व्यक्तिको नैसर्गिक र राजनीतिक स्वतन्त्रतामा अंकुश लगाइएको यो कालखण्ड राजनीतिक रूपमा बिर्सनलायक भए तापनि पूर्वाधार निर्माणमा भने अब्बल ठहरिन सक्थ्यो । तर, यथार्थ बेग्लै रह्यो । निर्दलीय पंचायती व्यवस्थाका प्रवर्तक राजा महेन्द्रले पूर्वाधार विकासमा केही महत्वपूर्ण शुरूआत गरे तापनि उत्तराधिकारी राजा वीरेन्द्रले पिताका अभियानलाई गति दिन सकेनन् ।

अधिनायकवादी व्यवस्था राजनीतिक दृष्टिले कहरकै पर्याय रहेतापनि संसारका धेरै मुलुकले राजनीतिक स्वतन्त्रता बेगर पनि विकासे छलाङ मारेका अनेकौं उदाहरण पाइन्छन् । ब्रिटिश राजका वेला भारतमा विकसित पूर्वाधार नै स्वतन्त्रता यता उन्नतिका आधारशिला बने । छिमेकी चीन, सिङ्गापुर, मलेशिया जस्ता मुलुकहरूले राजनीतिक स्वतन्त्रता विना नै समृद्धि हासिल गरे ।

तर, नेपालमा भने न अधिनायक न स्वतन्त्रता वा स्वराजकालमै पूर्वाधार विकासको साइत जुर्यो‍ । बाँकी विश्वले तिलस्मी छलाङ मारिरहेको आजको युगमा औसत नेपालीको सपना भने विद्युत् (ऊर्जा), खानेपानी, सडक, सानोतिनो रोजगारी, पठनपाठन, स्वास्थ्योपचार जस्ता न्यूनतम र आधारभूत कुराहरूमै सीमित छन् । यी उपलब्धि हासिल गर्न मात्र भए पनि आशा जगाइराख्नु परेको छ ।

सपनाको बाटो
नेपालको इतिहासमा वैधानिक तवरमा सरकारप्रमुख बन्नेमध्येका सबैभन्दा शक्तिशाली हुन् प्रधानमन्त्री केपी शर्मा ओली । त्यसैले पनि हुनसक्छ, प्रचण्ड संसदीय समर्थन पाएर सरकारप्रमुख बनेका ओलीमाथिको अपेक्षा पनि सगरमाथा जत्तिकै अग्लो छ ।

त्यसो त ओली स्वयंले जनतालाई देखाएको सपनाको फेहरिस्त पनि कुनै दन्त्यकथा भन्दा कम छैन । प्रधानमन्त्रीको सत्तारोहणसँगै अब उनले ती वाचाहरू पूरा गर्नुपर्नेछ ।

सत्ताको बागडोर सम्हालेको दुई महीना मात्र भएकाले अहिले नै उनीमाथि टिप्पणी गरिहाल्नु अपरिपक्व हुनेछ । तर, भन्नैपर्छ, यी दुई महीनामा जनता प्रसन्न तुल्याउने एउटै काम पनि उनले गर्न सकेका छैनन् ।

नेपालीलाई सपना देखाउने ओली पहिलो नेता पक्कै होइनन् । तर, जब मानिस ब्यूँझिएर सपना सम्झेर फिस्स हाँस्दछ, उसका निम्ति ती स्वप्निल याद पानीफोका जस्तै बन्दछन् ।

चैत २३–२५ को भारतको राजकीय भ्रमणका दौरान ओलीले यस्तै स्वप्निल सम्झना सुनाए, “पञ्चेश्वर (महाकाली) सन्धि हुँदा म युवक नै थिएँ ।” दुई दशकअघि नेपाल–भारतबीच भएको महाकाली सन्धियता महाकालीमा प्रशस्तै पानी बगिसकेको छ । तर, आजसम्म परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार हुनसकेको छैन ।

सपनाको मूल्य ओलीलाई सम्झाइरहनु पर्दैन । हिजोसम्म नेपाल–चीन सीमाको केरुङबाट चिनियाँ रेल छिट्टै काठमाडौं आउने कुराले रोमाञ्चित बनेका नेपाली आज नेपाल–भारत सीमाको रक्सौलबाट काठमाडौंसम्म विद्युतीय रेल जोडिने कुराले तरङ्गित छन् ।

भलै, रेल प्रकरणको पटाक्षेप हुन भने बाँकी नै छ । थाती रहेका परियोजना सँगसँगै थपिएका अरुण तेस्रो र निकट भविष्यको बूढीगण्डकी महा–परियोजनाले ओलीको ‘डेलिभरी’ को ‘लिटमस टेस्ट’ गर्नेछ ।

सपना देखाउनेहरू सबै असफल भइरहेको बेला ओली यस्ता सहयात्रीका साथ रङ्गमञ्च प्रवेश गरेका छन्, जो आफ्नै सपना तुहिएर विलखबन्दमा थिए ।

सर्वहाराको अधिनायकवाद भन्दै सशस्त्र विद्रोहमा उत्रिएको माओवादी उपयोगिता र अवसरवादी राजनीतिक झुण्डमा रूपान्तरित भएको थियो । त्यसैले विद्युतीय रेल, फास्ट ट्र्याक, पानीजहाजको सपना देखाउने ओलीले यथार्थमा भने माओवादीसँग तुइन यात्रा गर्नुपर्नेछ ।

संसारभर अस्ताचलमा पुगिसकेको कम्युनिष्ट (सरकार) ले लालझण्डा फहराउँदै कस्तो समृद्धिको छलाङ हान्ने हो, यो बाँकी विश्वका निम्ति पनि कौतूहलको विषय बन्नेछ । किनभने, जनतासामु अनेकौं वाचा र मीठो सपना देखाउनेहरूले बाटो विराएका अनगिन्ती दृष्टान्त पाइन्छन् ।

अझ, सर्वहाराको नाममा राजनीति गर्नेहरूलाई सत्ता कब्जा गर्दै नव सामन्तमा परिणत भएको उदाहरण खोज्न अन्त आँखा दौडाइरहनु पर्दैन । आफ्नै वरपर हेरे पुग्छ । तर, नेपालका वर्तमान कम्युनिष्ट गठबन्धनका अधिपति केपी ओलीलाई यस्तो गर्ने छूट छैन ।

यसका दुई मुख्य कारण छन् । पहिलो, कम्युनिष्ट नै सही उनको सत्तारोहण बुलेटबाट नभएर ब्यालेटबाट भएको छ । दोस्रो, जस्तो स्वास्थ्यवस्थामा ओली छन्, भोगविलास उनका लागि प्रत्युत्पादक हुनेछ । निःसन्तान ओलीलाई धनले होइन सुकर्मले चिरस्मरणीय बनाउने हो ।

 ‘क्रसरोड’ को अन्योल
आजको मुलुकको अवस्थालाई समुन्नति र भड्खालो बीच ‘क्रसरोड’मा उभिएको पथिकसँग तुलना गर्न सकिन्छ । हामी यस्तो टर्निङ प्वाइन्टमा छौं; जहाँबाट, दक्षिण कोरिया, भियतनाम, कम्बोडिया आदि मात्र होइन, सुडान, अफगानिस्तान पनि पुग्न सकिन्छ ।

अपार प्राकृतिक वैभव, युवाबहुल जनसंख्या, पूर्वाधारका आधारशिला, उद्यमशीलता, शिक्षा र साक्षरता, आइटी र कनेक्टिभिटी आदिका बलमा हामी समृद्धिको बाटोमा लम्कन सक्नेछौं । यसैगरी, भूराजनीतिक अन्योल, जातीय र क्षेत्रीय संकीर्णता, भ्रष्टाचार, आपराधिक वृत्ति र कुशासन आदिका कारण भड्खालोमा जाकिन पनि सक्नेछौं ।

तर, इतिहासदेखि आन्तरिक तथा बाह्य विघ्नबाधा झेल्दै आएका नेपालीले पक्कै पनि भड्खालोको बाटो रोज्ने छैनन् । त्यसैले अबको समुन्नत यात्राका निम्ति पनि आशा जोगाइराख्न जरूरी छ । आशा गरौं नव वर्ष २०७५ यस दिशामा कोसेढुङ्गा सावित हुनेछ ।

प्रतिकृया दिनुहोस