समाचारशनिवार, बैशाख १, २०७५

अमेरिका, बेलायत र फ्रान्सद्वारा सिरियामा क्षेप्यास्त्र आक्रमण

हिमालखबर

क्षेप्यास्त्र आक्रमणपछि सिरियाको राजधानी दमास्कसको आकाशमा धुवाँ र धुलोले भरिएको देखिएको थियो । तस्वीर: एपी

अमेरिका, बेलायत र फ्रान्सले सिरियामाथि संयुक्त सैन्य कारवाही गर्दै विभिन्न स्थानमा क्षेप्यास्त्र आक्रमण गरेका छन् ।

एक साताअघि डूमामा भएको संदिग्ध रासायनिक हतियार आक्रमणको बदलामा यो कार्वाही गरिएको बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरियाले रासायनिक हतियार भण्डारण गरेका ठाउँहरुमा आक्रमण गरिएको बताएका छन् । आक्रमणका बेला सिरियाको दमास्कस र होम्स शहरमा ठूलठूला विष्फोटक आवाजहरु सुनिएका छन् । सिरियाली सरकारले आफूबाट रासायनिक हतियार आक्रमण नभएको दाबी गरेको छ ।

राष्ट्रपति बशर अल–असद नेतृत्वको सरकारले तीन देश मिलेर गरेको आक्रमण अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भएको जनाएको छ । सिरियाली सरकारको प्रमुख सहयोगी रुसले आक्रमणको परिणाम नराम्रो हुने चेतावनी दिएको छ ।

बेलायतकी प्रधानमन्त्री टेरिजा मेले आम नागरिकलाई कम भन्दा कम क्षति पुग्ने गरी योजना बनाएर आक्रमण गरेको बताएकी छन् । जर्मनीकी चान्सलर एंगेला मर्केलले सिरियमा भएको आक्रमणको समर्थन गर्दै यो अत्यावश्यक कदम भएको बताएकी छन् ।

यो आक्रमणको उद्देश्य सिरियामा बशर अल–असदको सत्तालाई कमजोर पार्ने र सम्भावित रासायनिक हतियार आक्रमणको जोखिमलाई कम गर्ने रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । तर यो आक्रमण सिरियामा जारी संघर्षको रुप परिवर्तन गर्ने सक्ने वा रुस बदलाको कार्वाहीमा उत्रन सक्ने गरीको ठूलो नभएको बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकी अधिकारीहरुका अनुसार सिरियामा एक वैज्ञानिक अनुसन्धान संस्था, रासायनिक हतियार भण्डारण गरिएको होम्स शहरस्थित अड्डामा आक्रमण भएको छ । त्यसैगरी रासायनिक हतियार बनाउन प्रयोग हुने सामाग्री भण्डारण गरिएका अन्य ठाउँमा पनि आक्रमण गरी ध्वस्त पारिएको पेन्टागनले जनाएको छ । रोयटर्ससँग कुरा गर्दै एक अमेरिकी अधिकारीले सिरियामा टमहक क्षेप्यास्त्रबाट आक्रमण गरिएको बताएका छन् ।

बेलायती रक्षामन्त्रालयले होम्स शहर नजिकका सैन्य अड्डाहरुमा चारवटा टोरनाडो जेटबाट आक्रमण गरिएको जनाएको छ । सिरियाले भने यसलाई बर्बर र क्रुर आक्रमण भन्दै निन्दा गरेको छ ।

सिरियाका सडकमा अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध नारबाजी गरिरहेका सिरियाली सैनिक । तस्वीर: एपी

कसरी शुरु भयो सिरियामा युद्ध
सिरियामा राष्ट्रपति बशर अल असदको नेतृत्वको सरकारले बेरोजागरी र भ्रष्टाचार बढाएको र राजनीतिक स्वतन्त्रता नदिएको भन्दै असन्तुष्टि बढिरहेका बेला छिमेकी देशहरुमा भएको ‘अरब क्रान्ति’ को प्रभाव त्यहाँ पनि पर्‍यो । मार्च २०११ बाट सिरियामा प्रजातन्त्रका लागि प्रदर्शनहरु हुन थाले ।

सरकारले विरोधीमाथि दमन शुरु गरेपछि राष्ट्रपतिको राजीनामा माग्दै देशब्यापी प्रदर्शन हुन थाले । सरकारी दमन बढदै जाँदा अस्थिरता थप बढ्यो र विपक्षीहरुले हतियार उठाए ।

असदले यसलाई प्रायोजित आतंकवाद भन्दै विपक्षीलाई निमिट्यान्न पार्ने दिशमा अघि बढे । हिंसा बढ्दै गयो र देश गृहयुद्धको चपेटमा प¥यो ।
सिरियाभित्रको लडाई राष्ट्रपति असदका समर्थक र विरोधीमाझ मात्र सीमित छैन ।

आ–आफ्ना उद्देश्य र स्वार्थ पूरा गर्न विभिन्न समूह र देशहरु पनि यसमा जोडिएका छन् । विभिन्न समूह र देश जोडिएपछि सिरियाको अवस्था जटिल भएको छ ।

त्यहाँ शिया र सुन्नी सम्प्रदायबीच पनि झगडा भइरहेको छ, इस्लामिक स्टेट र अलकाइदा जस्ता आतंकवादी संगठनहरुले पनि त्यहाँ जरा गाडेका छन् ।

विरोधिहरुलाई लक्षित गरी सिरियाली सरकारले गत साता डूमामा रासायनिक हतियारबाट आक्रमण गरेकाले त्यसको प्रत्युत्तरमा क्षेप्यास्त्र आक्रमण गरिएको अमेरिकाले जनाएको छ।

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार २०११ यता ३ लाख ५४ हजारले सिरियाली गृहयुद्धमा ज्यान गुमाइसकेका छन् । थप ५७ हजार वेपत्ता छन् ।

 

प्रतिकृया दिनुहोस