सुरक्षाबाहेकका प्रयोजनमा खटाइएका सुरक्षाकर्मीलाई फिर्ता गर्न गृहको निर्देशन
गृह मन्त्रालयले सुरक्षाबाहेक अन्य प्रयोजनमा खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिएको छ ।
सुरक्षाका लागि भन्दै लिएका सुरक्षाकर्मीलाई घरमा कामदारका रुपमा राख्ने गरेको आरोप लागेपछि गृह मन्त्रालयले आज नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सात दिनभित्र फिर्ता बोलाउन परिपत्र गरेको हो ।
त्यस्तै नेपाल प्रहरीका पूर्व पदाधिकारीको सुरक्षार्थ खटिएका ३१५ जना प्रहरीलाई समेत फिर्ता ल्याउन गृहले परिपत्र गरेको छ ।
बहालवाला अति विशिष्ट एवं पूर्व पदाधिकारीहरुको सुरक्षार्थ निर्णय भएभन्दा बढी संख्यामा खटिएका ४५ जना नेपाल प्रहरीलाई समेत फिर्ता ल्याउन गृहले निर्देशन दिएको छ ।
गृहले यसअघि दिएको निर्देशनका आधारमा बहालवाला तथा पूर्व पदाधिकारीहरुको सुरक्षार्थ खटिएका ४२ जना प्रहरी फिर्ता भइसकेका छन् ।
नेपाल र सशस्त्र प्रहरीले गृह मन्त्रालयलाई पठाएको विवरणमा विभिन्न दलका नेता, केही पूर्व गृहसचिवलगायतका घरमा सहयोगीका रुपमा सुरक्षाकर्मीलाई खटाइएको उल्लेख छ ।