डिपिएल फाइनलः धनगढीद्वारा काठमाडौंलाई १८२ रनको लक्ष्य
धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल खेलमा टिम चौराह धनगढीले काठमाडौं गोल्डेन्सलाई १८२ रनको लक्ष्य दिएको छ ।
आज प्रदेश–७ को संघीय एकाइ प्रहरी कार्यालयको खेल मैदानमा भइरहेको फाइनलमा धनगढीले टस जितेर ब्याटिङ रोजेको थियो ।
निर्धारित २० ओभरको खेलमा धनगढीले चार विकेट गुमाउँदै १८१ रन बनाएको छ ।
धनगढीका लागि सुनिल धमलाले ७८ तथा रोहन मुस्तफाले ६० रनको योगदान दिए ।
धमलाले ६३ बलमा तीन छक्का र आठ चौका प्रहार गरे । मुस्तफाले ४२ बल खेल्दै चार छक्का र चार चौका हाने । सोमपाल कामीले अविजित रहँदै आठ रन बनाए ।
बलिङतर्फ काठमाडौंका लागि सुबोथ भाटीले दुई तथा सन्नी पटेलले एक विकेट लिए ।
अहिले काठमाडौं गोल्डेन्स १८२ रनको विजय लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको छ ।