भोलि, नयाँ वर्षको दिन मुग्लिन–नारायणघाट सडक बन्द नहुने
निर्माणाधीन मुग्लिन–नारायणघाट सडकखण्ड भोलि, नयाँ बर्षको दिन खुल्ला रहने भएको छ ।
नयाँ वर्षको दिन चितवन पुग्ने पर्यटकलाई ध्यानमा राखि सडक खुल्ला राख्ने निर्णय गरिएको आयोजनाले जनाएको छ ।
मुग्लिन–नारायणघाट खण्ड प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म ६ घण्टा बन्द गरेर निर्माण भइरहेको छ ।
२ वैशाख अर्थात् आइतबारबाट भने पुनः सडक बन्द गरी काम गरिने भएको छ ।
सडकको हालसम्म ८८ प्रतिशत काम सकिएको छ । चितवनको आँपटारीदेखि मुग्लिनसम्म ३३.२ किलोमिटर मध्ये हालसम्म २८.५ किलोमिटर खण्डमा पहिलो तह कालोपत्रे भएको छ ।
त्यस्तै, दोस्रो तहको कालोपत्रे २५ किलोमिटर र ५.५ किलोमिटरमा तेस्रो तहको कालोपत्रे भएको छ ।
तीन वर्षअघि शुरु भएको काम आगामी जेठ अन्तिममा सक्ने लक्ष्य राखिएको आयोजनाले जनाएको छ ।