प्रविधिको बढ्दो उपयोगले रोगी बनाउँदै
अहिले देश विदेशका घटना र सूचना थाहा पाउन पहिले जस्तो पत्रिका, पुस्तक, रेडियो, टेलिभिजनमा भर पर्नुपर्दैन । इन्टरनेटको विस्तारसँगै बढेका ग्याजेटले बिहान ओछ्यानबाट नउठ्दै दुनियाँको खबर थाहा पाउने अवसर दिएको छ । रेडियो, टीभी र पत्रपत्रिका सबै मोबाइल, ट्याब, ल्यापटप र कम्प्युटरमै अटाएका छन् ।
प्रविधिको प्रयोगले सूचनाको पहुँच सहज बनाएसँगै मानिसको जीवनशैलीमा बदलाव आएको छ । बाहिरी वातावरणमा खेल्न छाडेर बालबालिका घरभित्रै स्मार्टफोन र कम्प्युटरमा रमाउन थालेका छन् । तर, यसको नकारात्मक असरले चिन्ता पनि थपेको छ ।
चौतर्फी असर
विभिन्न अध्ययनले ९५ प्रतिशत ढाड दुख्ने समस्यामा गलत आसन, मोटोपन र असहज तरिकाले काम गर्नुलाई कारक मानेको छ । खासगरी प्रविधिजन्य सामग्री चलाउने क्रममा आसन नमिल्दा हड्डी तथा ढाड, आँखा र मस्तिष्कमा असर पार्छ ।
न्यूयोर्क युनिभर्सिटीका अनुसन्धानकर्ता लियानिद मियाकोत्को अध्ययनले स्मार्टफोनबाट उत्पन्न हुने इलेक्ट्रोम्याग्नेटिभ वेभले मस्तिष्क, ढाड र घाँटीमा असर पुग्ने देखाएको छ ।
ब्रिटिश कायरो प्राक्टिस एसोसिएसनले पनि लगातार आसन नमिलाई स्मार्टफोन तथा कम्प्युटर चलाएकै कारण ढाड र घाँटी सम्बन्धी समस्याबाट पीडित हुने युवाको संख्या बढेको जनाएको छ ।
एसोसिएसनले सिरानी नजिकै मोबाइल फोन राखेर सुत्दा आँखामा समस्या आउनुका साथै एन्जाइटी समेत हुनसक्नेप्रति सचेत हुन आग्रह गरेको छ ।
चिकित्सकहरु सुत्ने वेला कम्प्युटर वा स्मार्टफोन चलाउँदा चम्किलो स्क्रिनका कारण निद्रामा समेत गडबडी आउने बताउँछन् । बेलायतको कलेज अफ अप्टोमेट्रिस्टसले गरेको अनुसन्धान अनुसार, मानिस सातामा औसत ५० घण्टा कम्प्युटर र स्मार्टफोनको स्क्रिनमा बिताउँछन्, जसले सोझै आँखाको क्षमतामा असर गर्छ ।
कसरी चलाउने ?
नेपाल अर्थोपेडिक एसोसिएसनका अध्यक्ष प्रा. बुलन्द थापा लामो समयसम्म एउटै आसनमा बसेर मोबाइल वा ल्यापटप चलाउँदा मांसपेशी खुम्चिने समस्या हुने बताउँछन् । यस्ता समस्याबाट बच्न आधा घण्टा नियमित योग र व्यायाम गर्नुपर्ने उनको सुझाव छ ।
“कम्प्युटरमा काम गर्ने कोठा छुट्टै भयो भने बिस्तरामा बसेर काम गर्ने बानी हट्छ र स्वास्थ्य समस्याबाट बच्न सकिन्छ” थापा भन्छन्, “ढाडको समस्याबाट बच्न कम्प्युटरमा एक घण्टाभन्दा बढी लगातार काम गर्नुहुन्न ।”
चिकित्सकहरु स्मार्टफोन चलाउँदा हात, टाउको र शरीरको समान पोजिसन मिल्नुपर्ने बताउँछन् । घरमा कम्प्युटर चलाउँदा आँखा कम्प्युटरको स्क्रिनको माथिल्लो भागसँग मिलेको हुनुपर्छ । शरीर सीधा राख्न उपयुक्त कुर्सी छनोट गर्नुपर्छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. दीपक महरा लामो समय बसेर काम गर्दा ढाडमा बढी दबाब पर्ने भएकाले उठेर काम गर्न सुझाव दिन्छन् ।
सुरक्षाका उपायः
बीचबीचमा आराम गर्ने ।
छाती र हात तन्काउने अभ्यास गर्ने ।
ढाड सीधा राख्ने ।
गर्दन झुकाएर मोबाइल फोन नचलाउने ।
स्रोत: उड्रफ हेल्थ साइन्स सेन्टर, एमोरी युनिभर्सिटी, अमेरिका ।
-रामु सापकोटा