निजी विद्यालयलाई नियन्त्रण गर्नुपर्छः दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सामुदायिक विद्यालयको गुणस्तरको सुधार गर्दै निजी विद्यालयलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् ।
आज पश्चिम चितवनको सुन्दरबस्तीस्थित आधारभूत विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै दाहालले सामुदायिक विद्यालयको भौतिक पूर्वाधारको विकास र शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा सम्बोधन गर्दै दाहालले भने– “निजी विद्यालयलाई विस्तारै नियन्त्रण गर्दै जानुपर्छ, सामुदायिक विद्यालयतर्फ आकर्षण बढाउन सरकारले विशेष पहल गर्नुपर्छ ।”
शिक्षा नीतिमा आमूल सुधार गर्नुपर्नेमा जोड दिँदै उनले बेरोजगार उत्पादन गर्ने शिक्षा नीति परिवर्तन गर्नुपर्ने धारणा राखे । शिक्षा नीति ७० प्रतिशत प्राविधिक र ३० प्रतिशत साधारण हुनुपर्ने सुझाव दिँदै दाहालले भने– “रोजगारी सिर्जना गरेर विकास गर्ने शिक्षा नीति बनाउनुपर्ने आवश्यकता छ ।”
कक्षा ८ सम्म पठनपाठन हुने उक्त विद्यालय विसं २०२४ सालमा स्थापना भएको हो । रासस