डिपिएलको फाइनलमा धनगढी र काठमाडौंले खेल्ने
धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको फाइनल खेल चौराह धनगढी र काठमाडौं गोल्डेन्सबीच हुने भएको छ ।
आजको खेलमा महेन्द्रनगर युनाइटेडलाई काठमाडौं गोल्डेन्सले पाँच विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
प्रदेश–७ को संघीय इकाई प्रहरी कार्यालयको खेल मैदानमा आज सम्पन्न प्रतियोगिताको दोस्रो क्वालिफायरमा काठमाडौंले टस जितेपछि महेन्द्रनगरले ब्याटिङ गरेको थियो ।
महेन्द्रनगरले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १४२ रन बनायो ।
काठमाडौंले १४३ रनको विजय लक्ष्य १८.२ ओभरमा पाँच विकेट गुमाएर पुरा गर्यो ।
काठमाडौंका लागि सुबोथ भाटीले १८ बलमा ५२ रन बनाए । उनले १८ बलमा पाँच छक्का र चार चौका प्रहार गरे । अमित श्रेष्ठले १९ बलमा पाँच चौकासहित २६, कप्तान ज्ञानेन्द्र मल्लले २५ तथा भूपेन्द्र थापाले २१ बलमा १५ रन बनाए ।
बलिङतर्फ महेन्द्रनगरका लागि पुनित मेहराले दुई तथा भुवन कार्की, पुनित विष्ट र रवीन क्षत्रीले एक/एक विकेट लिए ।
यसअघि ब्याटिङ गर्ने क्रममा महेन्द्रनगरले पाँच ओभरमा १० रन बनाउँदै ६ विकेट गुमाएको थियो । ती सबै विकेट सन्नी पटेल एक्लैले लिएका थिए ।
आरिफ शेख र पुनित मेहराले महेन्द्रनगरलाई सम्मानजनक स्कोरसम्म पुर्याए ।
मेहराले ५८ तथा शेखले ४३ रन बनाए । मेहराले ४२ बलमा चार छक्का र चार चौका प्रहार गरे भने शेखले ३९ बल खेल्दै एक छक्का र चार चौका हाने ।
करण केसीले १२ बलमा दुई छक्कासहित २१ रन बनाए ।
बलिङतर्फ प्लेयर अफ द म्याच भएका कठमाडौंका सन्नी पटेलले चार ओभरमा एक मेडन राख्दै १० रन खर्चेर ६ विकेट लिए ।
उनी डिपिएल क्रिकेटको एउटै खेलमा ६ विकेट लिने पहिलो खेलाडी बनेका छन् । यस्तै सुबोथ भाटी र पुष्प थापाले एक/एक विकेट लिए । रासस