अल्जेरियामा विमान दुर्घटना, कम्तीमा २५० को मृत्यु
अल्जेरियामा सैनिक विमान दुर्घटना हुँदा कम्तीमा २५० जनाको मृत्यु भएको छ ।
राजधानी अल्जियर्स नजिकैको बुफारिक सैन्य विमानस्थलबाट उडेलगत्तै उक्त विमान दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
विमानमा रहेका यात्रुमध्ये २५७ जनाको मृत्यु भएको र त्यसमध्ये अधिकांश सैनिक रहेको अल्जिरियाको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । विमानमा मोरक्कोसँग लडिरहेका अल्जेरिया समर्थित पोलिसारियो फ्रन्टका सदस्यहरु समेत रहेको बीबीसीले उल्लेख गरेको छ ।
उडे लगत्तै केही बेरमै विमानमा आगो देखिएको र विमानले दिशा बदलेर खेतमा खसेको प्रत्यक्षदर्शीले बताएको स्थानीय इनहार टेलिभिजनले उल्लेख गरेको छ ।
विमानमा रहेका यात्रुमध्ये केहीलाई जीवितै उद्धार गरी अस्पताल पुर्याइएको छ ।
दुर्घटनाको कारण खुल्न सकेको छैन । चार वर्षअघि पनि अल्जेरियामा सैनिक र सैनिक परिवारका सदस्यलाई बोकेको विमान दुर्घटना हुँदा ७७ जनाको ज्यान गएको थियो ।