माथिल्लो तामाकोशी निर्धारित समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् ।
आज ऊर्जा मन्त्री वर्षमान पुन र चिनियाँ राजदूत यू होङका साथ आयोजनाको स्थलगत अनुगमनमा पुगेका प्रधानमन्त्री ओलीले कुनै पनि बहानामा काम ढिला नगर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले आयोजना निर्माणको क्रममा कुनै समस्या भए ऊर्जा सचिव, उर्जामन्त्री या सिधै आफूसँग कुरा गर्न आग्रहसमेत गरेका छन् ।
निर्माणमा कुनै समस्या देखिए सरकारले तत्काल समाधान गर्ने पनि ओलीले बताए । उनले भने– “योे आयोजना निर्माणमा एकदिन ढिला हुँदा चार करोड नोक्सान हुन्छ । त्यसैले आयोजना जसरी पनि समयमै सम्पन्न हुनुपर्छ ।”
स्थलगत अनुगमनमा प्रधानमन्त्रीको साथमा ऊर्जा सचिव अनुपकुमार उपाध्याय र विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङ पनि पुगेका थिए ।
नेपाल विद्युत् प्राधिकरणले ४ जेठ २०६८ मा आयोजनाको शिलान्यास गरी काम अगाडि बढाएको थियो ।
दोलखाको विगु गाँउपालिका वडा नम्बर १ लामाबगरमा रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट ऊर्जा उत्पादन हुने जनाइएको छ ।
सर्मिला बुढाथोकी, दोलखा