शिक्षा क्षेत्रको सुधारका लागि पाँचवर्षे मार्गचित्र प्रस्तुत
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा क्षेत्रको सुधारका लागि पाँचवर्षे मार्गचित्र प्रस्तुत गरेको छ ।
आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले समग्र शिक्षा क्षेत्र सुधारका लागि मार्गचित्र प्रस्तुत गरेका हुन् ।
मन्त्री पोखरेलले शिक्षालाई जीवन उपयोगी बनाउन पाँच वर्षमा गर्नसक्ने कामको मार्गचित्र प्रस्तुत गरेको जानकारी दिए ।
मार्गचित्रमा नीतिगत र कानूनी आधार, संरचनागत तथा सांगठनिक सुधार, प्रारम्भिक बालशिक्षा, सार्वजनिक शिक्षाको गुणस्तरियता, निजी शिक्षाको नियमन, विज्ञान, प्रविधि र सुशासनलगायतका विभिन्न विषय समेटिएको छ ।
त्यस्तै विद्यालयलाई हरित क्षेत्र बनाउनका लागि ‘एक विद्यालय एक बगैँचा कार्यक्रम’ ल्याउने, नेपाली कला, संस्कृति साहित्यलगायत पहिचानमूलक विषय अनिवार्य रुपमा राष्ट्रभाषामा अध्ययन अध्यापन गर्ने व्यवस्था गरिने पनि समेटिएको छ ।
मन्त्री पोखरेलले मार्गचित्र कार्यान्वयनका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरिने जानकारी गराए ।