मेलम्चीको सुरुङ निर्माण सम्पन्न, दशैंअगाडि उपत्यकामा पानी
बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ ।
कूल २७.५ किलोमिटर लामो सुरुङ निर्माण कार्य आज सम्पन्न भएको हो ।
तर, सुरुङ निर्माण कार्य सकिएको औपचारिक जानकारी भने २९ चैतमा दिइने छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र खानेपानी मन्त्री विना मगर लगायतको उपस्थितिमा सुरुङ निर्माण सकिएको घोषणा गरिने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यो परियोजनाको सुरुङ निर्माण कार्य सन् २००८ देखि शुरु भएको थियो ।
खानेपानी मन्त्री विना मगरले आज पत्रकार सम्मेलनको आयोजना गरी दशैं अगाडि काठमाडौं उपत्यकामा पानी वितरण गरिने जानकारी दिइन् ।
पहिलो चरणमा काठमाडौं उपत्यकामा मेलम्चीको १७ करोड लिटर पानी आउनेछ । दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको समेत गरी ५१ करोड लिटर पानी ल्याइनेछ । उपत्यकावासीलाई दैनिक चार घण्टा पानी वितरण गरिने उनले बताइन् ।
लार्के र याङग्रीको पानी ल्याउनका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीको काम जारी रहेको छ ।
चालु आवको अन्त्यसम्म सबै प्राविधिक तयारी पूरा गरेर मेलम्चीको दोस्रो खण्ड शुरु गरिने आयोजनाले जनाएको छ ।
आयोजनाको कूल लागत रु २७ अर्ब ७६ करोड छ । कूल लागतमध्ये ८० प्रतिशत एशियाली विकास ब्यांंक र २० प्रतिशत नेपाल सरकारकोे छ ।
आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार कूल एक हजार किमी पाइप लाइनमध्ये हालसम्म ९०० किमी पाइप बिच्छ्याइएको छ ।