सिंहदरबारभित्र एक मेगावाटको सौर्य ऊर्जा
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आजदेखि सौर्य ऊर्जा (सोलार) प्रणालीबाट बत्ती बालिएको छ ।
चीन सरकारको सहयोगमा बनेको एक मेगावाट क्षमताको उक्त प्रणालीको सिंहदरबारमा आज आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत यू होङले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।
सौर्य ऊर्जा उत्पादनका निम्ति प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय, ऊर्जा मन्त्रालयसहित २१ वटा भवनका छतमा सौर्य प्यानल जडान गरिएको छ । दुई वर्षअघिदेखि ती प्यानल राख्न थालिएको थियो ।
करीब रु ६० करोड लागत रहेको ‘चाइना एड फोटोभोल्टिक परियोजना’लाई नेपाल विद्युत् प्राधिकरणको ग्रिडमा जोडिनेछ ।
सौर्य प्रणालीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सौर्य प्रणाली मुलुकको आर्थिक विकाससँग जोडिएको महत्वपूर्ण परियोजना भएको बताए ।
उनले नेपालजस्तो भौगोलिक विविधतायुक्त मुलुकमा सौर्य ऊर्जा प्रणाली अति उपयोगी र सान्दर्भिक हुने भन्दै यसलाई समृद्धिको आधारका रुपमा अघि बढाइनुपर्नेमा जोड दिए ।
चिनियाँ राजदूत यू होङले विकास र समृद्धिका लागि दुई देशबीच लामो समयदेखि समन्वयात्मक सहकार्य रहँदै आएको र त्यसको पछिल्लो उदाहरण सौर्य ऊर्जा महत्वपूर्ण परियोजना भएको उल्लेख गरिन ।