फेसबूक ‘प्रतिबन्ध’ !
प्रयोगकर्ताको विवरण तेस्रो पक्षलाई बेचेको भनेर आलोचित फेसबूकमाथि नेपालमा भने कार्यक्षमतामा असर पारेको आरोप छ ।
- गणेश आचार्य
“अब फेसबूक चलाउन छोड्नुपर्ला जस्तो छ”, केहीअघि एकजना साथीले सुनाए । ‘किन ?’ मैले सोधें । उनले एउटा कथा सुनाए ।
साथी केही वर्षअघि भारतको गोवा घुम्न गएका रहेछन् । उनको भ्रमणबारे थाहा पाएका अर्का साथीले आफूलाई पनि गोवा जान मन लागेको भन्दै उनीसँग यात्राको विवरण मागेछन् ।
साथीले फेसबूक ‘च्याट’ मा भ्रमणको तालिकासमेत पठाइदिएछन् । त्यही दिनदेखि उनको इमेल र फेसबूक प्रोफाइलमा गोवा भ्रमणका विभिन्न अफर र सूचनाहरू आउन थालेछन् । “च्याट त गोप्य हुन्छ होला भन्ने सोचेको थिएँ तर नहुने रहेछ, त्यसैले पनि फेसबूक छाड्दैछु”, उनले भने ।
सामाजिक सञ्जाल र डाटा सुरक्षाको प्रश्न नयाँ भने पक्कै होइन । गत सातादेखि फेसबूकले प्रयोगकर्ताको सूचना चोरी गरेको विषय यतिवेला विश्वव्यापी बहस बनिरहेको छ ।
फेसबूकले ठूलो मात्रामा प्रयोगकर्ताका सूचना व्यापारिक सम्झौताका आधारमा क्याम्ब्रिज एनालिटिका नामक राजनीतिक परामर्शदाता कम्पनीसम्म पुर्याउन सहयोग गरेको कुरा बाहिर आएपछि फेसबूकले धेरै ठाउँमा आलोचना बेहोर्नुपरेको छ । कति ठाउँमा त मुद्दासमेत परेका छन् ।
‘ह्यासट्यागडिलिटफेसबूक’
क्याम्ब्रिज एनालिटिका कम्पनीले २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रचारमा सहयोग गरेको थियो ।
अहिलेसम्मको जानकारीमा, क्याम्ब्रिज विश्वविद्यालयमै कार्यरत अनुसन्धानकर्ता एलेक्साण्डर कोगनले फेसबूकमा ‘माइडिजिटललाइफ’ (मेरो डिजिटल जीवन) नामक एउटा ‘पर्सनालिटी क्विज’ अर्थात् व्यक्तित्व प्रश्नोत्तर शुरु गरे, जसमा करीब दुई लाख ७० हजार फेसबूक प्रयोगकर्ताले प्रत्यक्ष रुपमा सहभागिता जनाएको देखिन्छ ।
कोगनले त्यही क्विजमार्फत दुई लाख ७० हजार प्रयोगकर्तासँगै उनीहरूका सबै फेसबूक साथीहरूको व्यक्तिगत विवरण समेत थाहै नदिई संकलन गर्न भ्याए ।
यो मुद्दा अन्वेषण गरिरहेका वैज्ञानिकहरूका अनुसार क्विजले कुनै एकजना प्रयोगकर्ताको सामाजिक तथा राजनीतिक व्यक्तित्व परीक्षण गर्ने करीब पाँच हजार तरिका अवलम्बन गरेको थियो ।
विवरणबाट ती प्रयोगकर्ताहरू कुन राजनीतिक दललाई समर्थन गर्छन् भन्ने पनि थाहा हुन्थ्यो । पाँच करोड फेसबूक प्रयोगकर्ताको विवरण हात पारेका कोगनले आफ्नो व्यक्तिगत अनुसन्धानका लागि भने पनि सबै सूचना क्याम्ब्रिज एनालिटिकालाई बेचेको बताइन्छ ।
क्याम्ब्रिज एनालिटिकाले पाँच करोडमध्ये तत्कालीन चुनावमा राष्ट्रपतिकी प्रत्यासी हिलारी क्लिन्टनका समर्थकहरूको फेसबूक प्रोफाइलमा विभिन्न मनोवैज्ञानिक प्रचार सामग्री राखिदिन थाल्यो । केहीमा क्लिन्टनलाई ‘सुपर प्रिडेटर’ अर्थात् ‘ठूलो शिकारी’ भनिएको हुन्थ्यो भने केहीमा चाहिं २०१० को भुइँचालो पछि हाइटीमा क्लिन्टन फाउण्डेशनले गरेको भनिएको अनियमितताबारे सामग्री हुन्थ्यो ।
२०१५ तिरै ती सूचना तेस्रो पक्षलाई आदानप्रदान भइरहेको थाहा पाएको बताए पनि फेसबूकले त्यसलाई रोक्न कुनै कदम उठाएन । अहिले आएर फेसबूकका संस्थापक मार्क जुकरवर्गले प्रयोगकर्ताको गोप्य सूचना चोरी भएको घटनामा माफी समेत मागेका छन् ।
तैपनि विभिन्न ठाउँमा विरोध स्वरुप, आफ्नो फेसबूक खाता बन्द गरेर ‘ह्यासट्यागडिलिटफेसबूक’ नामक अभियान नै चलाइएको छ, जसलाई केही प्रतिष्ठित व्यक्तिहरूले समेत साथ दिएका छन् ।
अत्याधुनिक विद्युतीय कार निर्माता टेस्ला र अन्तरिक्ष यात्रालाई सस्तो बनाउन लागिपरेको स्पेश एक्स कम्पनीका प्रमुख कार्यकारी इलन मस्कले समेत आफ्ना दुवै कम्पनीको फेसबूक पेज हटाएका छन् । अहिले फेसबूकले किनेको ह्वाट्सएप का तत्कालीन सहसंस्थापक ब्रायन एक्टन पनि त्यही पंक्तिमा छन् ।
“सामाजिक सञ्जाल त्यसरी नै बनेको छ । हामीलाई उनीहरूले सित्तैंमा सेवा प्रयोग गर्न दिन्छन् अनि त्यसको सट्टा हाम्रा सूचनाहरू अरुलाई बेचेर त्यसबाट पैसा कमाउँछन्”, मार्केटिङ टेक्नोलोजिस्ट आकार अनिल भन्छन् । ग्रोसेप्ट नामक प्रविधि कम्पनीका कार्यकारी प्रमुख चन्दन गुप्ता पनि यो भनाइमा सहमति जनाउँदै भन्छन्, “ती साइट वा एपहरूमा साइन इन गर्दा, हामीमध्ये कति जनाले त्यसका ‘टम्र्स एण्ड कण्डिसन्स्’ अर्थात् शर्तहरू पढेका होउँला !”
ती शर्तहरूको अध्ययनले पनि हाम्रो सूचना कुन कुन अवस्थामा कसरी प्रयोग हुनसक्छन् भन्ने बारेमा थाहा हुने उनको ठहर छ ।
नेपाली हल्ला
नेपालमा भने फेसबूकमार्फत गोप्य सूचना चोरी होइन, कार्यदक्षतामा कमी ल्याएको तर्क गर्दै यसमा प्रतिबन्धको कुरा उठेको छ । यदाकदा, फेसबूकले नराम्रो कुरा सिकाएको वा अपराध गर्न प्रेरित गरेको आरोप पनि लाग्दै आएको छ ।
हालै मात्र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले फेसबूकले काम गर्ने बानी छुटाएको भन्दै प्रदेशका सरकारी कार्यालयमा फेसबूक बन्देज गरिने बताएको समाचार सार्वजनिक भयो ।
त्यसो त चैत २०७२ मा देशको प्रशासनिक केन्द्र सिंहदरबारभित्र पनि यही तर्कका आधारमा कार्यालय समयमा फेसबूक चलाउन प्रतिबन्ध लगाइएको थियो । कुनै कार्यालयले प्राविधिक रुपमै राउटर वा स्विचमा ‘प्रोग्रामिङ्ग’ गरेर फेसबूक खुल्दै नखुल्ने बनाएका छन् भने केहीले फेसबूक चलाउन नपाइने आचारसंहिता बनाएका छन् ।
फेसबूकले महत्वपूर्ण समयमा समेत मान्छेको ध्यान कामतिर नभई अन्तै मोड्ने गरेको एकथरीको तर्क छ भने, अर्कोथरी फेसबूकले तनाव कम गराएको बताउँछन् । यो विश्वव्यापी तर्क–वितर्क हो ।
व्यक्तिगत विवरणको असुरक्षा वा कार्यदक्षतामा कमी आएको भन्ने दुवै कारण देखाएर फेसबूकमा बन्देज लगाइहाल्नुपर्ने देखिंदैन । किनकि यी दुवै अवस्था विचार गरेर फेसबूक चलाउने हो भने, फेसबूकबाट लाभ पनि लिन सकिन्छ ।
“नचाहिने कुरा सेयर नगर्ने, गरेको भए पनि हटाउनेतिर लाग्नुपर्छ, आफ्नो सूचनाको सुरक्षामा सजग हुनैपर्छ”, आकार अनिल भन्छन्, “२० वर्षपछि कस्तो देखिनुहुन्छ, ‘तपाईं अघिल्लो जन्ममा के हुनुहुन्थ्यो ?’ जस्ता फेसबूक एप वालभरी हुन्छन् ।
रमाइलोका लागि भन्दै ती एप चलाउँदा त्यसले हाम्रो फेसबूकको के के सूचना प्रयोग गर्छु भनेको छ त्यसमा ध्यान दिनुपर्छ । कुनै साइट वा एपले ईमेल, नाम, फोटो बाहेक अरु पनि सूचना माग्यो भने शंका गर्न सकिन्छ ।”
त्यसो त कर्णालीका मुख्यमन्त्रीले भने जस्तै कर्मचारीको कार्यदक्षता राम्रो भएका कुनै पनि राष्ट्रहरूले फेसबूकमा बन्देज लगाएका छैनन् । “फेसबूक वा अन्य कुनै पनि इन्टरनेट आधारित सुविधालाई निषेध गर्ने सोच भनेको यसको उपयोगितालाई उपेक्षा गर्नु हो”, सेन्टर फर मिडिया रिसर्चका कार्यकारी निर्देशक उज्ज्वल आचार्य भन्छन् ।
सामाजिक सञ्जालको प्रयोग गरेर जनतालाई दिइने सेवा अझै सहज बनाउन सकिने दाबी गर्दै आचार्य अगाडि थप्छन्, “काम गर्ने समयमा अनावश्यक समय बिताउने कर्मचारीलाई कारबाही पो गर्नुपर्छ ।” चन्दन गुप्ता पनि आत्मानुशासित भई कामका वेला फेसबूक नचलाउने हो भने फेसबूक बन्द गर्नुपर्ने अवस्था नै नआउने बताउँछन् ।