टिप्पणीशनिवार, चैत्र २४, २०७४

अहिंसावादीको मासु बहस

वसन्त महर्जन

आफूलाई बौद्ध धर्मावलम्बीका रूपमा चिनाउनेले पशुपक्षी काट्न र खान पाउनुपर्छ भनेर माग गर्नुको अर्थ आफ्नै धर्मको आधारभूत मूल्यमान्यताबाट विचलित हुनु हो।

एउटाको मूल्यमान्यता अरू सबैले स्वीकार्नुपर्छ भन्ने आग्रह एक खालको हठ हो । यस्तो हठले सहअस्तित्वको दर्शनलाई निषेध गर्छ । बहुलतापूर्ण समाज विकासमा यो तगारो नै बन्छ । यसलाई बौद्ध दृष्टिकोणले हेर्दा अर्कै बुझाइको विकास हुने देखिन्छ, जसले समाधान पनि निकाल्न सक्छ । 

प्रदेश–३ उपसभामुख राधिका तामाङले गाईको मासु खान मिल्ने कानून ल्याउने अभिव्यक्ति दिएको भन्ने समाचारको सम्बन्धित पक्षबाट खण्डनसमेत भइसकेको छ । उपसभामुखले ‘त्यस्तो नबोलेकै हो भने पनि बोल्नुपर्छ’ भन्नेहरू पनि छन् ।

उपसभामुखले ‘बोलेकै हो’ भनी भर्त्सना गर्नेहरूको भीड पनि कम छैन । स्वास्थ्य मन्त्री रहेको वेला पद्मरत्न तुलाधरले पनि यही विषयलाई छोएर बोल्दा समाज यसरी नै तरङ्गित भएको थियो ।

गाईलाई लक्ष्मीको प्रतीक मान्ने हिन्दू र गाईको मासु खानु आफ्नो परम्परा हो भन्ने दुवै समुदायको सभ्यताको विकास दुई बेग्लै भूगोलमा भएको पाइन्छ ।

यी दुई परम्परा वा मान्यताको थालनी भने दुवै सभ्यताको प्रारम्भबाटै भएको भने होइन ।

गाईगोरुको मासु खानु आफ्नो परम्परा हो भन्नेहरूको जुन सामुदायिक पृष्ठभूमि छ, त्यसको आदिथलो तिब्बतको त्यस्तो ठाउँ हो जहाँ गाईगोरु नै पाइँदैन ।

त्यस्तै, गाईलाई देवी मान्ने मत पनि पछिल्लो समयकै हिन्दू मान्यता हो । वैदिक कालमा त गोमांस महँगो र विशेष भोजनका रूपमा रहेको प्रसङ्गहरू पाइन्छन् ।

वैदिक सभ्यता उँचाइमा पुगेर ओरालो लाग्ने क्रममा आफ्नै मूल्यमान्यताका विरुद्ध वैदिकहरू नै आन्दोलित भइसकेको र अरूले पनि आ–आफ्नो मतको प्रचार गरिरहेको समयमा इसापूर्व छैटौं शताब्दीतिर महावीर वर्धमानले जैन र गौतम बुद्धले बौद्ध मतको विगुल फुकेका थिए ।

आफूलाई पुनर्स्थापित गर्दा वैदिकहरू पनि जैन र बौद्ध मतबाट धेरै मात्रामा प्रभावित भएका थिए । सबैखाले हिंसालाई त्याज्य मान्ने बौद्ध ग्रन्थहरूमा गाईको रक्षामा जोड दिएको पाइन्छ ।

तत्कालीन समाजमा गाई महँगो र बहुउपयोगी हुनु त्यसको खास कारण हो । पछि हिन्दूहरूले धनकी देवी लक्ष्मीको रूपमा गाईलाई पुज्न थाले ।

नेपालका जनजाति समुदाय ज्यादातर बौद्ध धर्मावलम्बी हुन् । यी समुदायलाई प्रतिनिधित्व गर्ने व्यक्तिहरूले गाई खानु आफ्नो परम्परा हो भन्नु बौद्ध मत प्रतिकूल छ ।

बौद्ध धर्ममा मासु पूर्ण निषेधित नभए पनि खानकै लागि पशु नमारेको, मार्न नलगाएको, आफूले काटेको नदेखेको, आफूलाई भनेर नकाटेको मासुलाई ‘त्रिकोटी परिशुद्ध मांस’ भनिन्छ ।

‘त्रिपिटक’ मा स्वयं गौतम बुद्ध र उनका भिक्षुहरू त्रिकोटी परिशुद्ध मासुको भोजन गर्थे भन्ने प्रसङ्ग छन् । ‘आर्यअष्टाङ्गिक मार्ग’ को ‘सम्यक् आजीविका’ मा कुनै प्राणीको किनबेच नगर्ने र बिक्रीका लागि नपाल्ने प्रावधान छ । बौद्ध समाजमा सबैले दैनिक पालना गर्नुपर्ने पंचशीलमा पहिलो नै प्राणी हिंसा नगर्नु हो ।

नेपालका तामाङ, शेर्पा जनजाति तिब्बतमा प्रचलित ‘निङमा’ परम्पराअन्तर्गतका बौद्ध धर्मावलम्बी हुन् । तिब्बतमा सातौं शताब्दी अघि नै बुद्ध धर्म पुगिसकेको थियो ।

आचार्य अतिसा दिपंकर श्रीज्ञान एघारौं सदीको मध्यमा तिब्बत पुगेका थिए । उनको आगमन अघि प्रचलित धर्म वा अभ्यासलाई पुरानोको अर्थमा ‘निङ्मा’ र त्यसपछि सुधारिएको वा नयाँ धर्मका रूपमा ‘सारमा’ भनी विकसित भयो । कदम, सक्य, काग्र्यू र गेलूग सम्प्रदाय ‘सारमा’ अन्तर्र्गतका हुन् ।

जुनसुकै नामको सम्प्रदाय भए पनि सबै बज्रयान बौद्ध दर्शनअन्तर्गतका हुन् । बौद्ध धर्म–दर्शनका सबै सम्प्रदायमा मैत्री, करुणा, मुदिता जस्ता कुरालाई प्राथमिकतामा राखिएको हुन्छ र प्राणी हिंसा, पशु बलिलाई स्वतः दुष्कर्मको रूपमा लिइन्छ । यस दृष्टिबाट हेर्दा गाईको मासु खानुलाई आफ्नो परम्परा भन्नेहरू बौद्ध धर्मबाट विचलित भएको देखिन्छ ।

त्यसो त काठमाडौं उपत्यकाका नेवार समुदायमा प्रचलित बज्रयानी बौद्ध अभ्यासमा पनि पशु बलि, मांस र मद्यसहितको पूजा गरेको देखिन्छ । यो पनि विकृतिकै नमूना हो ।

हिन्दू समाजमा गाईबाहेकका पशुपक्षी रक्षामा जोड दिएको पाइँदैन । जबकि, सारा चराचर जगत एउटै तत्वबाट सिर्जित हुन् । यस्तो अवस्थामा बौद्ध धर्मावलम्बीले पनि कथित परम्पराको नाममा प्राणी हिंसाको माग गर्दा समाजमा राम्रो सन्देश गइरहेको छैन ।

प्रतिकृया दिनुहोस