भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको शिष्टाचार भेट
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग आज शिष्टाचार भेट गरेका छन् ।
नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भएको भेटवार्तामा द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको परराष्ट्र सचिव शंकरदास बैरागीले जानकारी दिए ।
सचिव बैरागीका अनुसार भारतका राष्ट्रपति कोविन्दले नेपालको प्रधानमन्त्री पदमा निर्वाचित भएकोमा प्रम ओलीलाई बधाई दिएका थिए । उनले प्रधानमन्त्री ओली मार्फत नेपालका राष्ट्रपतिलाई भारतको भ्रमणको निम्तो समेत दिएका छन् ।
यसअघि भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारत सरकारको तर्फबाट प्रधानमन्त्री ओलीलाई सम्मान गारत (गार्ड अफ अनर) प्रदान गरिएको थियो ।
राष्ट्रपतिसँगको भेटवार्तापछि प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता हुने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले आजै बिहान ११ बजे महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुगेर माल्यार्पण गर्ने र ११ः३० बजे हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय मुख्य भेटवार्ता हुने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच एक्लाएक्लै भेटवार्तापछि सामूहिक एवं प्रतिनिधिमण्डलस्तरीय छलफल र भेटवार्ता हुने कार्यक्रम छ ।
यस्तै नेपाल र भारतका उच्च अधिकारीको उपस्थितिमा संयुक्त पत्रकार सम्मेलन गरिनेछ । सो कार्यक्रमलगत्तै उपराष्ट्रपति बेनकैया नायडु र गृहमन्त्री राजनाथ सिंहसँग पनि प्रधानमन्त्री ओलीको शिष्टाचार भेटवार्ता हुने कार्यक्रम छ ।
आज साँझ १७ः३० इन्डिया फाउन्डेशनको कार्यक्रममा नागरिक अभिनन्दन ग्रहण गरी सम्बोधन गर्ने कार्यक्रम छ ।
भ्रमणको तेस्रो दिन अर्थात् आइतबार उत्तराखण्डमा अवस्थित पन्तनगरका लागि प्रस्थान गरी एकीकृत कृषि परियोजनाको निरीक्षण, कृषि विश्वविद्यालयकै सभाकक्षमा मानार्थ विद्यावारिधिको प्रमाणपत्र ग्रहण गर्ने र लगत्तै नयाँ दिल्ली हुँदै साँझ ६ः०० बजे नेपाल एअरलाइन्सको चार्टर उडानमा स्वदेश फिर्ता हुने कार्यक्रम छ ।