प्रधानमन्त्रीले भारतीय लगानीकर्तालाई भने, 'नेपालमा बलियो सरकार बनेको छ, लगानीका थुप्रै अवसर छन् '
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी गर्न भारतीय उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले नयाँ दिल्लीमा इन्डिया नेपाल विजनेश फोरमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय लगानीकर्ता संसारभर नै लगानीका लागि गएको भन्दै नेपालमा पनि खुला हृदयका साथ आउन आग्रह गरेका हुन् ।
अहिले नेपालमा प्रतिनिधिसभाको तीन चौथाई मत प्राप्त सरकार गठन भएको, कानूनको परिपालना गराउन कुनै बाधा व्यवधान नभएको, इतिहासकै बलियो सरकार निर्माण भएकाले पनि लगानीको थप अवसर सिर्जना भएको प्रधानमन्त्रीको भनाइ थियो ।
उनले नेपाल सरकारले नयाँ उद्योग स्थापना लागि विशेष आर्थिक क्षेत्र स्थापना गरेको, उद्योग, व्यवसायमैत्री औद्योगिक नीति ल्याएको, श्रम समस्या नरहेको, भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता कायम गरेको जानकारी दिए ।
सरकारले स्वदेशी तथा विदेशी लगानीकर्तालाई कुनै पनि विभेद नगरेको, समान सुविधा दिएको, वीरगञ्जमा एकीकृत जाँचचौकी स्थापना गरी सहज भन्सार सुविधा दिन थालिएको र त्यस्तो चौकी अन्य तीन स्थानमा पनि स्थापना हुने क्रममा रहेको उनले स्पष्ट पारे ।
नेपाल र भारतबीच विद्युत् व्यापार सम्झौता गरिएको, ढल्केबर मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइन सञ्चालनमा रहेको, अर्को प्रसारण लाइन निर्माणको प्रारम्भ भएको, माथिल्लो कर्णाली, अरुण तेस्रो आयोजना निर्माण हुन लागेकाले ऊर्जा क्षेत्रमा लगानीको महत्वपूर्ण अवसर रहेको भन्दै भारतीय उद्योगी व्यवसायीलाई आग्रह गरे ।
कृषि, पर्यटन तथा जडीबुटी उद्योगमा समेत लगानीको महत्वपूर्ण अवसर रहेकोमा प्रधानमन्त्रीको जोड थियो ।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले नेपाल सरकारले लगानीमैत्री वातावरण बनाउन नीतिगत सुधार गरेको, राजनीतिक रुपमा समेत सहज वातावरण बनेको भन्दै वैदेशिक लगानीका लागि उपयुक्त अवसर रहेको जानकारी गराएकी थिइन् ।
उनले नेपाल र भारतका निजी क्षेत्र मिलेर पनि काम गर्न सकिने उल्लेख गर्दै उद्योगी तथा व्यवसायीको छाता संगठन भएकाले पनि महासंघले पनि थप सहजीकरण गर्ने स्पष्ट पारिन् ।
कार्यक्रममा हिन्दुस्तान पावर लिमिटेडका रतुल पुरीले नेपाल र भारतका उद्योगी तथा व्यवसायी मिलेर ऊर्जाको क्षेत्रमा धेरै काम गर्न सकिने बताएका थिए ।
कार्यक्रममा सिमेन्ट, पूर्वाधार तथा अन्य विभिन्न औद्योगिक क्षेत्रमा काम गर्दै आएका औद्योगिक घराना तथा व्यवसायीले नेपालमा लगानीका लागि आफूहरु तयार रहेको धारणा राखेका थिए ।
रासस