साझा यातायातले रत्नपार्क–बनेपा बस चलाउने
साझा यातायातले रत्नपार्क–बनेपा बस चलाउने भएको छ ।
मयूर यातायातले काठमाडौं–बनेपा सेवा शुरुआत गरेको विरोधमा कोटेश्वर पूर्वका विभिन्न बस समितिहरुले सेवा ठप्प पारेका छन् ।
आफ्नो एकाधिकार तोडिएपछि कोटेश्वर पूर्वका ११ वटा बस समितिहरुले बस चलाएका छैनन् ।
यात्रुहरुको असुविधालाई मध्यनजर गर्दै तत्कालका लागि बनेपा–काठमाडौं बस चलाउन लागेको साझा यातायातले जनाएको छ ।
मयूर यातायातका ठुला बस काठमाडौंको चक्रपथ परिक्रमा गरी काभ्रेको बनेपासम्म पुग्छन् । वाईफाई, टेलिभिजन सहितको सुविधासम्पन्न मयूर यातायातले गम्भीर अपाङ्ग र ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा दिइरहेको छ ।
कोटेश्वर पूर्वका समितिले बस नचलाएपछि यातायात व्यवस्था विभागले उक्त रुटमा नयाँ गाडीलाई परमिट दिने निर्णय गरेको छ ।
ठुला बसका लागि अस्थाई र स्थायी दुवै रुट परमिट खुल्ला गरिएको विभागले जनाएको छ ।